भर्खरै :

वार्षिक उत्सवमा ख्वपमा खेलकुद प्रतियोगिता

वार्षिक उत्सवमा ख्वपमा खेलकुद प्रतियोगिता

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय/कलेजहरू क्रमशः ख्वप माध्यमिक विद्यालयको २३ औँ, ख्वप कलेजको २१ औँ र शारदा क्याम्पसको ३२ औँ वार्षिक उत्सव तथा ख्वप कलेज अफ ल सञ्चालनको अवसरमा भइरहेको खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शुक्रबार भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दौड प्रतियोगिताको शुभारम्भ गरी उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले नेपाल मजदुर किसान पार्टीले जनतासामु निर्वाचनमा गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्ने क्रममा ख्वप मा.वि.र कलेजहरू सञ्चालन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य लिई सञ्चालन गरिरहेको ख्वप सर्कलका शैक्षिक संस्थानहरू कम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रतिबद्ध छ । यहाँ कार्यरत शिक्षक/कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको मेहनत र परिश्रमले नै आज भक्तपुर शैक्षिक गन्तव्यस्थलको रूपमा अगाडि बढिरहेको छ ।”
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, स्थानीय पहिचान आदि कार्य गरिरहेको चर्चा गर्दै उपप्रमुख जोशीले निर्वाचन घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न भनपाका जनप्रतिनिधिहरू इमानदारीपूर्वक लागिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गरिरहेको चर्चा गर्दै उहाँले यस वर्ष भनपाले अन्तर नगर खो खो खेलको प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिनुभयो ।
समाज, देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यले विद्यार्थीले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो ।
उपप्रमुख जोशीले खेलकुद प्रतियोगिता हारजितभन्दा मित्रताको लागि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले खेलकुद स्वास्थ्यको लागि अपरिहार्य भएको धारणा राख्दै स्वस्थ जीवनको लागि विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि ध्यान दिनुपर्छ भन्नुभयो ।
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफू अध्ययनरत संस्थाको हितको लागि प्रत्येक विद्यार्थीले ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालयले खेलकुदतर्फ दौड, टेबलटेनिस, फुटसल, भलिबल, बास्केटबल, ब्याडमिन्टन प्रतियोगितालगायत कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।
ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीबिच शुक्रबार भएको छात्र ३ हजार मिटर दौड प्रतियोगितामा व्यवस्थापन कक्षा ११ का दिपेश तामाङ पहिलो, विज्ञान ११ का निरज शतांषकर दोस्रो र व्यवस्थापन १२ का सुजल लाखाजु तेस्रो भए ।
छात्रा १ हजार मिटर दौड प्रतियोगितामा विज्ञान १२ की ऊर्जा मधिकर्मी पहिलो, व्यवस्थापन ११ की वर्षा थुसा दोस्रो र विज्ञान ११ की समीक्षा खड्का तेस्रो भइन् ।
शुक्रबारै सम्पन्न वक्तृत्वकला प्रतियोगितामा विज्ञान १२ का प्रवेश तिमिल्सिना पहिलो, विज्ञान १२ कै नविन नेपाल दोस्रो, विज्ञान ११ का समित उप्रेती तेस्रो र व्यवस्थापन ११ का समित पौडेल र विज्ञान १२ का आयुष्मा राजवाहक सान्त्वना हुन सफल भए ।
ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीबिच शुक्रबार कविता र चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।
चित्रकलातर्फ विज्ञान १२ का रेजिना राई पहिलो, विज्ञान १२ कै आयुषा ढुङ्गाना दोस्रो, व्यवस्थापन ११ का कृति याकामी तेस्रो र व्यवस्थापन १२ का आर्यन फसिकवा र मानविकी ११ का करूण ढुकुछु संयुक्तरूपमा तेस्रो भए ।
चित्रकलातर्फ कक्षा ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरूबिच भएको प्रतियोगितामा जेन्युइन इङ्गलिस सेकेन्डरी स्कूलका जोहेन कायष्ठ पहिलो, बासु माध्यमिक विद्यालयका रोशनी दनुवार दोस्रो, जेन्युइन इङ्गलिस सेकेन्डरी स्कूलका आर्यस प्रजापति तेस्रो तथा मोर्डन इङ्गलिस सेकेन्डरी स्कूलका श्रीशान्त सिंह खड्का र राजश्री गुरूकुलका मेधा खड्का संयुक्तरूपमा सान्त्वना हुन सफल भए ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबिच भएको चित्रकला प्रतियोगितामा सैनिक आवासीय मा.वि.का देविन प्रजापति पहिलो, वागीश्वरी माविका विवेक नागाजु दोस्रो र वागीश्वरी माविकै श्रृष्टि प्रजापति तेस्रो भइन् ।
त्यस्तै ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीबिच भएको वक्तृत्वकला प्रतियोगितामा जेन्यूइन इङ्गलिस सेकेन्डरी स्कूलका आयुश्री अधिकारी पहिलो, वागीश्वरी माविका आस्था गुमाञ्जु दोस्रो र मोर्डन इङ्गलिस सेकेन्डरी स्कूलका सुधि त्रिपाठी तेस्रो भए ।
त्यस्तै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबिच भएको वक्तृत्वकला प्रतियोगितामा वागीश्वरी माविका विनिता तामाङ पहिलो, सैनिक आवासीय माविका मिमांसा आचार्य दोस्रो र आदर्श आजाद माविका उद्धव श्रेष्ठ तेस्रो भए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा फागुन ३ गते बिहान १० बजे विद्यालय प्राङ्गणमा हुने वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कार वितरण हुने आयोजक कलेज/विद्यालयले जानकारी दिएको छ ।
शनिबार टेबलटेनिस, चेस, ब्याडमिन्टन र बास्केटबल प्रतियोगिताका खेलहरू चालु रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *