भर्खरै :

चार भाइको कथा

एउटै परिवारका चार भाइ उमेर बढ्दै गएपछि फरक–फरक स्वभाव र प्रवृत्तिका देखिए । एउटै आमा–बुबा, एउटै घर, टोल, धारापानी र एउटै नगर भए पनि उनीहरूको फरक–फरक सङ्गत थियो ।
जेठो सानैदेखि सोझो, आमा–बुबाका आज्ञापालक र शिक्षकका अनुशासित विद्यार्थी थिए । प्रवेशिका उत्तीर्ण भएपछि उनी गाउँको एक प्राथमिक विद्यालयमा शिक्षक बने । घरको आर्थिक अवस्था कमजोर भएको हुँदा उनले कम उमेरमै एउटा पेसा रोजे । उनी सबैसँग मेलजोल गर्ने र सहयोगी भावनाका थिए ।
माहिलो व्यापारी थिए । उनी अरू व्यापारीजस्तै सस्तो किन्थे र महँगोमा बेच्थे । उनी मुखले सबैसँग ठिक्क व्यवहार गर्थे । उनको कुनै शत्रु र मित्र थिएन । उनका सबै ग्राहक मित्र थिए । उनलाई नाफा दिने वा प्रतिशत मिलाइदिने थोक व्यापारी उनको मालिक हुन्थे । उनको सम्बन्ध समाजसँग ग्राहक र थोक व्यापारीहरूसँग राम्रो थियो ।
साहिँलो भाइ अलि फरासिला विश्वविद्यालयमा स्नातक र राजनीतिमा चाख राख्ने लेक्चरर थिए । विद्यार्थीकालमा कहिलेकाहीँ नारा, जुलुस, हडतालमा भाग लिँदा पक्राउ पनि परेका थिए । टोल र नगरमा उनी सबैसँग परिचित पनि थिए ।
स्नातक गरिसकेका कान्छोमा सीमित व्यक्तित्व थियो । सानैदेखि उनका साथीहरू कोही ठेक्कापट्टामा काम गर्ने, कोही घर जग्गा र अन्य विविध व्यापारमा थिए । मनमनै आफूलाई ठूलै ठान्ने, साथीहरूको लहलहैमा लागेर घरमा भिन्न बस्न जोड दिँदै आमाबाबु जिउँदै हुँदा उनले चार भाग गरेरै छोडे ।
आमाबाबु पुरानै घरमा जेठो छोरोसँगै बसे । अन्य तीन भाइ फरकफरक ठाउँमा घर बनाएर बसे । माहिलो र साहिँलोको विवाह आमाबाबुकै रेखदेखमा भएको थियो । जेठोको २–४ वर्ष पहिले नै विवाह भइसकेको थियो । सबैका छोराछोरी जन्मे । कहिलेकाहीँ चाड पर्व र भाइपूजामा सबै जेठोको घरमा जम्मा हुन्थे । सामान्य कुराकानी गर्दै खानपानपछि आ–आफ्ना घरमा फर्कन्थे ।
बाबुआमा बितेपछि दाजुभाइको हाइहलोबाहेक केही रहेन । कान्छो भाइले आफूखुसी केटी रोजेर विवाह गरेका थिए । छोराछोरी कलेजमा भएकै सालमा कालगतिले कान्छी बुहारीले यस संसारसँग बिदा लिइन् । छोरा र छोरी दुवै फरासिला र वाक्पटु थिए ।
कान्छो भाइले जसोतसो एउटा निजी कलेजमा शिक्षकको पेसा पाए । दुई–तीन वर्षपछि स्टाफहरूसँग भिज्न नसक्दा उनले राजीनामा दिए । व्यापार र ठेक्कापट्टामा पनि उनी भाग लिन्थे । आफ्ना हिस्सेदारहरू (पार्टनरहरू) चलाख र व्यापारी भएको हुँदा उनी एक्लै परे र आफ्नो पुँजी पनि घट्दै गयो ।
कान्छो भाइ आफूलाई खुब सुन्दर, जान्ने बुझेको र समाजका एक गन्यमान्य व्यक्ति सम्झन्थे । उनको ध्यान सधैँ आफ्नो टोपी, कमिजको कलर र कोट मिल्यो मिलेन भन्नेमा जान्थ्यो । जुत्तामा पालिस र तुनाको कसाइमा उनी होसियारी राख्थे । जातपात, ठूला र साना जातमा उनी बढी सतर्कता राख्थे ।
ती सबै कुरा उनका छोराछोरीलाई मन पर्दैनथ्यो । बुबाको एकोहोरोपन सुकुलगुण्डे र घमण्डी व्यवहारबाट तिनीहरू भित्रभित्रै विदेश जाने बाटो खोज्दै गए । पालैपालो भात पकाउने र घरको काम गर्ने छोराछोरी स्नातक उत्तीर्ण गरेपछि एक जना अमेरिका र अर्काे अस्ट्रेलिया गए ।
कान्छो भाइ एक्लो परे । उनी कसैलाई मन नपराउने हुनाले कसैले उनलाई गन्ने कुरै थिएन । भात पकाउन, भाँडा माझ्न र घरको सफाइ आदि गर्न उनलाई अल्छी लाग्थ्यो । दाजुभाइसँग उनी एक कल फोन पनि गर्दैनथे । समाज र परिवारबाट उनी एक्लिँदै गए ।
ह्ह्ह्
अस्पतालमा चिकित्सकको जाँचपछि थाहा भयो, २–३ दिन उनले खाना खाएकै थिएन र कमजोरी भएर थला परेका थिए । एकजना छिमेकीले बोलाएर पनि झ्याल ढोका नखोल्दा शङ्का लागेर वडा समिति र प्रहरीलाई फोन गरेपछि बल्ल उनलाई अस्पताल पु¥याइएको थियो । सबैले सम्झाइबुझाइ गरेपछि उनले रुँदै दाइ र साथीभाइलाई फोन गरे । आँखाभरि आँसु छचल्कियो र आँसु पुछ्दै भने, “मलाई माफ गर्नुहोला, म सा¥है घमण्डी र स्वार्थी भएँ । अब म सबैसँग मिलेर बस्नेछु र समाजको सेवा गर्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *