भर्खरै :

आफ्नो एजेन्डा स्थापित गर्न अमेरिकी अधिकारीहरूको आगमन !

एक समय नेपालका माओवादीहरू अमेरिकी सरकारको नजरमा आतङ्कवादी थियो । संयुक्त राज्य अमेरिकाले माओवादीलाई आतङ्ककारीको सूचीमा राखेको थियो । माओवादी हतियार बुझाएर शान्तिको बाटोमा आए पनि अमेरिकाले माओवादीलाई हेर्ने दृष्टिकोणमा बदलेको थिएन । अहिले त्यही माओवादी अमेरिकाको निम्ति प्यारो बनिरहेको छ । देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने एमसीसी सम्झौता पारित गरेदेखि अमेरिकाले माओवादीलाई हेर्ने नजरमा अलि नरम देखाएको हो । एमसीसी सम्झौता पारित भएदेखि अमेरिकी उच्चस्तरीय अधिकारीहरू हप्ता दिन बित्न नपाउँदै नेपाल छिरिरहेका छन् । त्यसै क्रममा सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर नेपाल आइन् । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएस आइडी प्रमुख समान्था पावरले भ्रमण गरे । समाचार स्रोतअनुसार अब केही दिनपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन नेपाल आउनेछिन् ।
शान्ति प्रक्रियामा आएको ६ वर्षपछि २०७९ भदौ २१ गते माओवादीलाई अमेरिकाले आतङ्ककारी सूचीबाट हटायो । अमेरिकी उच्च अधिकारीहरूको एकपछि अर्काे भ्रमणले नेपाल भूरणनीतिक चलखेलको मैदान बनिरहेको थाहा हुन्छ । नेपालमा अमेरिकी उच्च अधिकारीहरूको बाक्लो भ्रमण गर्नुको पछाडि चीनको प्रभाव कम गर्नुभन्दा पनि अमेरिकी एजेन्डालाई स्थापित गर्न र फेरि एसपीपी समझदारी कार्यक्रम लागु गर्ने ध्येयले हुनुपर्छ भन्ने विचार राजनीतिक विश्लेषकहरूको रहेको छ । पछिल्लो पटक माओवादीले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको अमेरिकी दाबी थियो । पार्टीलाई लोकतान्त्रीकरण गरेको भनी अमेरिकी प्रशासनले प्रचण्डलाई डेमोक्रेसी समिटमा निम्तो गरेको खबर पनि प्रकाशमा आयो । अमेरिकी उच्च अधिकारीहरूको माओवादी अध्यक्ष दाहालसँगको भेटघाट र सहयोगभित्र अमेरिकाको नेपालमा भूराजनीतिक स्वार्थ रहेको देखिन्छ ।
अमेरिकी उच्च अधिकारीहरूको पटक–पटकको भ्रमणबाट अमेरिकाले नेपालको आन्तरिक राजनीति, दलहरूको विचार र सैन्य सुरक्षा मामिलाबारे जानकारी थाहा पाउनेछ । समग्रमा अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्षरूपमा नेपालको राजनीतिक स्थितिबारे थाहा पाउनेछ । त्यसको आधारमा अमेरिकाले नेपालमा थप गोटी चाल्न, नेपालका राजनीतिक दलका नेताहरूमाझ आन्तरिक विवाद बढाउन, आर्थिक सहयोग, विकास र अनुदान रकम जोडेर पाइलापाइला गरेर नेपाललाई पनि आफ्नो मातहत या उठबसमा राख्ने र अमेरिकी दबाब र प्रभावमा फेरि देशघाती सन्धि सम्झौताहरू गराउने चलखेल गरिरहनेमा शङ्का छैन । सराअले कुनै पनि देशको विकास गरेको छैन । बरु विकास, शान्ति र सहयोगको नाउँमा आन्तरिक विवाद बढाउने, अर्थतन्त्र ध्वस्त पार्ने र देश देशमाझ लडाएर हतियार बेच्ने काम अमेरिकाले गरिरहेको छ । अरू देशको प्रगति र विकासमा बाधा हाल्ने अमेरिका जहिल्यै पहिलो शक्तिको रूपमा रहिरहने मन्त्र बुन्दै छ । नेपाल सरकार पनि अमेरिकाको त्यही गोटीमा फस्दै छ । यो देशको निम्ति दुर्भाग्य हो । स्वाधीन र सार्वभौम देश कुनै पनि शक्ति राष्ट्रको अगाडि झुक्नु हुँदैन । यसरी झुके देश स्वाधीन र सार्वभौम हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *