भर्खरै :

बक्सिङ सङ्घको आयोजनामा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम

बक्सिङ सङ्घको आयोजनामा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम

भक्तपुर, ४ फागुन । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बुधबार बालाखुमा सम्पन्न भयो । भक्तपुरका अस्मिता दुवाल विश्व बक्सिङ च्यापियनशीप प्रतियोगितामा नेपालबाट छनोट र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भएको, विजय बाटा एसियन युथ अन्डर २२ मा तृतीय, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्वितीय र नीता गोसार्ई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्वितीय भएकोमा बधाई दिँदै अतिथि सुनिल प्रजापतिले सम्मान गर्नुभयो ।
कार्यक्रममा अतिथि प्रजापतिले फोहर नगर भक्तपुरलाई एसियाको सफा सहर बनाउनु पनि क्रान्ति हो भन्नुभयो । उहाँले शिक्षामा पछाडि परेको जिल्लामा एक घर एक स्नातक बनाउने लक्ष्यअनुसार गरिब र जनतालाई पढाउन ७ वटा कलेज सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले बेडमा कुकुर सुत्ने भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल भएको चर्चा गर्दै भक्तपुर ख्वप अस्पतालले रगत र अक्सिजन निःशुल्क वितरणका साथै घरदैलो नर्सिङ सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन देशमा राजनीति राम्रो हुन्छ त्यहाँका जनतालाई सुख हुन्छ । राजनीति परिवर्तनको निम्ति हो । युवाहरू विदेसिनाले खेत बाँझो भएकोले उत्पादन घटेको छ ।” उहाँले स्वास्थ्य उपचार महँगीका कारण वर्षमा पाँच लाख जनता गरिबीको रेखामुनि पुगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल जलस्रोतमा धनी देश हो । यहाँ प्रशस्त विद्युत् निकाल्न सकिन्छ । भारतले नदीनाला कब्जा गर्दा आर्थिकरूपमा देश स्वतन्त्र हुन नसकेको हो । देश अर्ध उपनिवेशबाट मुक्त नभएको हो ।”
उहाँले देशमा खेलकुद विश्वविद्यालय भए खेलाडीहरूलाई पदक विजेताअनुसार शैक्षिक योग्यता निर्धारण गरी स्वरोजगार बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले खेलाडीहरूलाई उत्साहित गर्न सम्मान कार्यक्रम गरेको उल्लेख गर्दै खेलकुदलाई जीवनको अभिन्न अङ्ग बनाए स्वस्थ भई देशको सार्वभौमिकता जोगाउनसक्ने बताउनुभयो ।
नेपाल बक्सिङ सङ्घका कोषाध्यक्ष गौतम सुजखुले मातृभूमि कहिल्यै बिर्सन नहुने बताउँदै खेलकुदको जग बसालेको स्थान र गुरुहरूलाई पनि मातृभूमि जत्तिकै माया गर्नुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *