भर्खरै :

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, ११ फागुन । वागीश्वरी माध्यमिक विद्यालयको ६४ औँ, वागीश्वरी कलेजको १५ औँ र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहुँचबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेको तर्फ सचेत हुनुपर्नेमा जोड दिँदै सरकारको नीतिगत खोटको विरोध र आलोचना देशभक्त जनताले निरन्तर गरिरहनुपर्ने बताउनुभयो ।
विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने विचार व्यक्त गर्दै उहाँले व्यक्तिगत स्वार्थबाट टाढा रही सिङ्गो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताउनुभयो ।
शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताका विद्यार्थीहरूलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरीअन्तर्गत ३ वटा कलेजहरू संयुक्तरूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै देशकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने उद्देश्यअनुरूप यी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरण वागीश्वरी रहेको बताउँदै वागीश्वरीले हरेक चुनौतीलाई अवसरको रूपमा परिणत गरी आजको सफलता हासिल गरेको हो भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रस्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको र पाठ्यक्रमको व्यावहारिक र वैज्ञानिक ढङ्गले अगाडि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
घोकन्ते विद्याको औचित्यता नरहेको प्रस्ट पार्दै उहाँले विद्यार्थीहरूलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरू तुलनात्मकरूपमा अगाडि बढ्नेछन् भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा वागीश्वरीले शिक्षामा नमुना काम गरी नवीन आयाम थपिरहेको बताउँदै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सङ्घर्ष जारी रहने बताउनुभयो ।
उहाँले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउँदै वागीश्वरीले बीबीएको कक्षा सञ्चालनसँगै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरूको रूपमा सञ्चालनमा रहेको बताउँदै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रूपमा अगाडि बढाउन टेवा पुगेको चर्चा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्रप्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको स्पष्ट गर्दै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रूपमा विकास हुन सफल भएको बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वागीश्वरी कलेजका प्रअ धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त समारोहमा सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवादज्ञापन गर्नुभएको थियो । सोही क्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक राजन लाखाले स्वागत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि विद्यालय चाँदनी रानी वैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एसईई टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो ।
छात्रवृत्तिको निम्ति अक्षयकोष राख्नुभएका दाताहरूले कोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गर्न सम्बन्धित वर्ग शिक्षकहरूलाई हस्तान्तरण गर्नुभएको थियो । कोषका दाताहरूमा मोहनप्रसाद प्रजापति, नारायणी मानन्धर, पूर्वविद्यार्थी समाजतर्फ बाट अध्यक्ष रत्नप्रसाद प्रजापति, कृष्णराम–कृष्णलक्ष्मी प्रजापति, सिद्धिवीर कर्माचार्य, गोविन्द–बुद्धमाया लवजु रहनुभएको छ । कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले आफ्ना मातापिता रुक्मणी र रत्नवीर कर्माचार्यको नाममा थप रु. १ लाख ४४४४ रुपैयाँको अर्काे अक्षय कोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *