भर्खरै :

राष्ट्रपति निर्वाचनको सन्दर्भमा शासक दलका नेताहरूद्वारा भारतसामु आत्मसमर्पण

राष्ट्रपति निर्वाचनको सन्दर्भमा शासक दलका नेताहरूद्वारा भारतसामु आत्मसमर्पण

सुर्खेत, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राष्ट्रपति निर्वाचनको मुखमा भारतको विदेश सचिवसँग नेपालका सबै शासक पार्टीका नेताहरूले भेटघाट गर्नु आत्मसमर्पण नै भएको बताउनुभएको छ ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा बोल्दै सचिव सुवालले नेपालका शासक दलहरू देशभक्त नहुँदा राष्ट्रपतिको निर्वाचनमा भारतको हस्तक्षेप बढेको उल्लेख गर्र्नुभयो ।
भारतले तालिम र हतियार दिएर नेपालमा माओवादीलाई सशस्त्र गतिविधि सञ्चालन गराएको बारे धेरै खुलिसकेको भन्दै सचिव सुवालले सरकारले दिएको जनयुद्ध दिवसको औचित्य नभएको भनाइ राख्नुभयो । नेमकिपाले माओवादीलाई कम्युनिस्ट नभएर अराजकतावादी भएको उतिबेलै उल्लेख गरेको भन्दै पुँजीवादी गणतन्त्रले कामदार जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी नदिने भनाइ राख्नुभयो । संविधानमा देश र जनताका विषयवस्तु समावेश नभएको उहाँको विचार थियो ।
सम्पत्ति शुद्धीकरणको नाममा स्वयंकर घोषणा गरेर छुट दिनु गलत भएको भन्दै उहाँले स्रोत नखुलेको सम्पत्ति राष्ट्रिकरण गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको नीतिले सरकार पुँजीपतिवर्गले सञ्चालन गरेको पुष्टि हुन्छ । विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोबस्त राख्नु आवश्यक छ ।”
संसद्मा नेमकिपा नै प्रतिपक्ष पार्टी भएको भन्दै सचिव सुवालले प्रमलाई विश्वासको मत दिने दल विपक्षी दल हुनसक्दैन भन्नुभयो । नागरिकको हैसियतले पूर्वराजा ज्ञानेन्द्रले दल खोल्न सक्ने तर अब राजतन्त्र फिर्ता हुने सम्भव नभएको उहाँको भनाइ थियो ।
नेका, एमाले, माओवादीजस्ता शासक पार्टीहरू एकै ड्याङ्का मुला हुन् भन्दै उहाँले सबै शासक दलहरूले देशघाती एमसीसी पारित गरेको तर्क गर्नुभयो । उहाँले एमसीसीमा वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भएको भन्दै तत्कालीन प्रम देउवाले सित्तैमा आएको लिने तर्क राखेको बताउनुभयो ।
नेमकिपाले एमसीसीविरुद्ध ४० जिल्लामा १५० स्थानमा जुलुुस प्रदर्शनको आयोजना गरेको उल्लेख गर्दै सचिव सुवालले एमसीसीको कारण देशको सार्वभौमिकता सङ्कटमा रहेको धारणा राख्नुभयो ।
सचिव सुवालले आर्थिक सङ्कटमा परेको भन्दै नेपाल श्रीलङ्का बन्ने खतरा भएको भनाइ राख्नुभयो । उहाँले नेपाल कृषिप्रधान मुलुक भएर पनि खाद्यान्नसमेत आयात गर्नु परेको बताउँदै ३५ उद्योग सञ्चालन गर्न गहुँ उपलब्ध नभएको तथ्य राख्नुभयो ।
मधेश प्रदेश भारतको इच्छाअनुसार बनेको भन्दै सचिव सुवालले पाकिस्तानबाट बङ्गलादेश टुक्राएजस्तै नेपाललाई टुक्राउने जालसाजी गरिएको तर्क गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पार्टीको सङ्गठन र अनुशासनबारे प्रशिक्षण दिनुभएको थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले मानव समाजको विकासबारे प्रशिक्षण दिनुभएको थियो ।
नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव धनेन्द्र विक र सदस्य विजुकला रानाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *