भर्खरै :

छोरीहरूलाई के पढाउने ?

छोरीहरूलाई के पढाउने ?

बालिकाहरूलाई आत्मविश्वासी, सक्षम र सबल बनाएर व्यवहारमै लैङ्गिक समानता कायम गराउन पठन सामग्रीको उचित छनोट र पहुँच धेरै महत्वपूर्ण हुन्छ ।
२०५० को दशकतिर नेपाली समाजमा पाठ्यक्रम बाहिरका पुस्तक पढ्नु कुनै गलत काम गर्नु सरह थियो । साहित्यका पुस्तकले मान्छे बिगार्छ भन्ने सोच थियो । पुस्तक पनि लुकीलुकी पढ्नुपथ्र्याे भन्ने अहिले सम्झँदा उदेक लाग्छ । तर, त्यसबेला पढेका आधा दर्जन पुस्तकले नै मलाई सपना देख्न सिकाए, संसार चिनाए, बोल्न सक्ने बनाए भन्ने कुराको गहिरो अनुभूति छ ।
पाठ्यक्रम बाहिरका पुस्तक पढ्दा छोराछोरी बिग्रन्छन् भन्ने मान्यताबाट आज समाज एक कदम अगाडि बढेको देखिन्छ । छोराछोरीलाई पुस्तक पढ्न प्रेरित गर्ने जमात बढ्दो छ । बालबालिकामा ‘डिजिटल लत’ गहिरिँदै जाँदा उनीहरूमा पुस्तक पढ्ने बानी बसाउनु झनै जरुरी भएको छ । त्यसमा पनि बाह्य पठन सामग्रीमा बालिकाहरूको पहुँच हुनु धेरै आवश्यक छ । किनकि, हामीले समानताका कुरा जतिसुकै गरे पनि सचेत बालिकाहरूको निर्माणमा पर्याप्त लगानी नगरी त्यसलाई व्यवहारमा उतार्न सकिँदैन । पुस्तकमा पहुँच पनि लगानी हो ।
आजका हाम्रा छोरीहरूले कस्तो पुस्तक पढ्नुपर्ला त ? बालबालिकाको सर्वोच्च हित हेर्ने कानुनी र नैतिक अधिकार अभिभावक र शिक्षकसँगै हुन्छ । त्यसैले बालिकाका साथै उनीहरूका अभिभावक र शिक्षकलाई पनि सहज होस् भनी आफ्नो अनुभवसहित पुस्तकबारे केही सुझाव प्रस्तुत गरेकी छु ।
सपना देख्न सिकाउने
अलि अगाडि मैले काम गरेको बीबीसी मिडिया एक्सन, नेपालकी पूर्वराष्ट्रिय निर्देशक मोना लाक्जोले भनेको एउटा कुराले ममा गहिरो असर पा¥यो । माथिल्लो पदका लागि आवेदन हाल्न म उदासीन भएको बेला उनले मलाई भनेकी थिइन्, “महिलाले महत्वाकाङ्क्षी हुन सिक्नुपर्छ, त्यसमा पनि नेपालजस्तो अति कम विकसित देशका महिलाले । महिलाहरू आफ्नो कमाइ, सपना, हैसियतबारे महत्वाकाङ्क्षी नहुँदासम्म समानता टाढाको कुरा हुन्छ ।”
भलै मेरो महत्वाकाङ्क्षा कुनै विकासे संस्थाको म्यानेजर हुनु थिएन, उनका कुराले मलाई नेपाली महिला महत्वाकाङ्क्षी छन् कि छैनन् भनेर हेर्न बाध्य बनायो । २०४० को दशकमा जन्मेको मैले आफ्नो पुस्ता, त्यसअघि मेरी आमाको पुस्ता अनि मपछिको पुस्ता नियाल्दा अझै पनि हामीले आफ्नो सपना, चाहना, अधिकार र हैसियतलाई राज्यले झैं दोस्रो प्राथमिकतामा राखेका छौँ । यस्तो किन भयो होला त ?
यो प्रश्नको उत्तर खोज्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फ्रेडरिक एवर्ट स्टिफटुङ, नेपालसँग मिलेर समानताका सपनाहरू पुस्तकमा विभिन्न जात, वर्ग, क्षेत्र, धर्मलगायतको प्रतिनिधित्व गर्ने १० महिलाको सपनाको यात्रा लेखनमा म सरिक भएँ । लगभग सबै महिला परिवार र समाजले भविष्यमा यो पनि केही बन्छे भनेर हुर्काएका होइनन् । उनीहरूले आफ्नै बुत्तामा सपना देख्न सके र आज एउटा स्थान हासिल गरेका छन् । अबको १० वर्षमा तीमध्ये केहीले विविध क्षेत्रमा नेतृत्व गरिरहेका हुनेछन् ।
परिवारदेखि समाजसम्म महिलाहरू आफूलाई दोस्रो दर्जामा पाउँछन् । यसको जड यति गहिरो छ कि परिवार, समाज र राज्यले मात्र होइन उनीहरू आफैँलाई दोस्रो दर्जामा सहजै राख्छन् । यो दुश्चक्र नतोडुञ्जेल समतामूलक समाज सम्भव छैन । यसलाई तोड्न आवश्यक अनेकन् प्रयासमध्ये एक हो– शिक्षामा बालिकाको पहुँच ।
पाठ्यपुस्तकसँगै साहित्य र विविध विषयका, त्यसमा पनि सपना देख्न प्रेरित गर्ने पुस्तकमा उनीहरूको पहुँच । बालिकाहरू नायक भएको, तिनले समस्या समाधान गरेका पुस्तक तथा सफल र सङ्घर्षशील महिलाका जीवनी पढाइनुपर्छ ।
सपना देख्न प्रेरित गर्ने पुस्तकले सपना पूरा गर्ने यात्रामा पनि डो¥याउँछ ।
प्रश्न गर्न सिकाउने
हाम्रो पुस्ता आफूभन्दा ठूलालाई जवाफ लगाउनु हुँदैन भनेर हुर्कियो । त्यो भन्नुको खास अर्थ ठूलाले जे भन्छन् सुन, प्रश्न नगर । तर, वर्षौं प्रश्न नगरी आफूलाई खुरुखुरु सामाजिक, सांस्कृतिक ढाँचामा ढालेका नेपाली महिलाले त्यतिबेलादेखि अधिकार पाउन थाले, जब उनीहरूले प्रश्न गर्न थाले । मलाई लाग्छ, संसारमै सारा दमित समुदायको मुक्तिको प्रस्थानबिन्दु नै प्रश्न हुनुपर्छ । उनीहरूले सोधेको हुनुपर्छ, तिमी र हामीमा विभेद किन ? हामी सबै उस्तै मान्छे हौँ भने बराबरी हुनुपर्ने होइन ?
२००७ सालको क्रान्तिदेखि हरेक आन्दोलनमा नेपाली महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर, शिक्षादेखि सम्पत्तिसम्म, मतदातादेखि उम्मेदवार हुन नेपाली महिलाले प्रश्न गरेपछि मात्रै पहुँच पाएका हुन् । प्रश्न गर्न जान्ने एक कदम अगाडि हुन्छ भन्ने बुझ्न मुलुकको सामाजिक, आर्थिक र राजनीतिक संरचनाको उपल्लो तहमा रहेकाहरूको लैङ्गिक, जातीय, वर्गीय तथा भौगोलिक समीकरण सरसरती हेर्दा मात्र पनि थाहा हुन्छ । सबैभन्दा कम प्रश्न गर्नेहरू, अझ प्रश्न गर्न नदिइएका वा नजानेकाहरूको अवस्था कस्तो हुन्छ भनेर बुझ्न नेपाली समाजमा मधेसी दलित गरीब महिलाको स्थान कहाँनेर छ भनेर हे¥यो भने काफी हुन्छ ।
प्रश्न गर्न प्रेरित गर्ने पुस्तकले जवाफ खोज्न पनि प्रेरित गर्छ ।
वैज्ञानिक चेत विकास गर्ने
नेपाली समाज अहिले पनि मूलतः भाग्यवादी नै छ । हजुरआमा, आमाहरू हुँदै आजका छोरीहरूले पनि आफूमाथि विभेद हुनु तथा हिंसामा पर्नु जस्ता कुरालाई भाग्यवादी दृष्टिकोणले हेरिदिन्छन् । भाग्यमा नै दुःख लेखिएकोले चुपचाप सहनु महिलाको नियति मान्छन् ।
त्यसैले पनि विज्ञानले पुष्टि गर्न नसक्ने तथा जीवन र जगतका अनुभवबाट गलत सावित भएका कुरा हामीले छोरीहरूको मस्तिष्कमा भर्नु हुँदैन । जबसम्म उनीहरूले आफूमाथि भइरहेका विभेद र हिंसालाई नियति भनेर बुझिराख्छन्, तबसम्म उनीहरू हिंसा र दमनको जालोले बेरिरहन्छन् । अनि हामी हरेक यस्ता घटनाले आहत हुँदै पढेलेखेका छोरीहरू पनि किन हिंसा सहेर बस्छन् भनेर विलाप गरिरहन्छौँ ।
वैज्ञानिक चेतले हाम्रा छोरीहरूलाई उनीहरूको शरीरदेखि सामाजिक संरचनाबारे प्रस्टता दिन्छ । विषयबारे प्रस्ट हुँदै जाँदा सुझबुझपूर्ण निर्णय लिने क्षमता पनि बढ्छ । उदाहरणको लागि, महिनावारीबारे राम्रो साहित्य पढ्न पाए भने छोरीहरूले यो कुनै पाप र अपवित्रता नभई सामान्य प्राकृतिक प्रक्रिया भनेर बुझ्न पाउँछन् ।
इतिहासमार्फत भविष्यको यात्रा गर्ने
बालबालिकाले इतिहास पढ्न पाए सानैदेखि धेरै प्रश्नका जवाफ पाउँछन् । इतिहासको अध्ययनले नै हामी बाँचेको समाज, देश तथा संसारबारे हाम्रो दृष्टिकोण निर्माण हुन्छ । विगतको ज्ञान र बुझाइबाट वर्तमान र भविष्यको यात्रा तय हुन्छ । इतिहासको अध्ययनले विशेषतः छोरीहरूलाई आजको जटिल सामाजिक संरचनामा उनीहरूको स्थान कसरी तय भयो भनेर बुझ्न सघाउँछ ।
समानता र समताको समाज निर्माण गर्न अझै पनि मानव जाति किन असफल भइरहेको छ भनेर बुझ्न विगतमा भएका प्रयास र विगतले बेवास्ता गरेको कुरा बुझ्न जरुरी हुन्छ । यी कुरा आज छोरीहरूले बुझे भने भोलिको नयाँ समाज निर्माण गर्न सक्छन्, त्यसमा योगदान दिन सक्छन् । अनि इतिहासबाट गुमनाम महिला, दलित आदिवासी तथा सम्पूर्ण सीमान्तकृत समुदायको इतिहास पनि उनीहरूले नै लेख्नेछन् ।
अहिले हाम्रा विद्यालयमा पढाइने इतिहासका पाठले मिति र नाम मात्रै घोकाउँछन् । परीक्षा उत्तीर्ण गर्न त ती काम लाग्लान्, इतिहास बदल्न काम लाग्दैनन् । त्यसैले बालबालिकाकै लागि भनेर तयार पारिएका उमेर समूहअनुसारका पुस्तक पढ्न प्रेरित गर्नुपर्छ । नेपालको विषयमा त्यस्ता पुस्तक निकै थोरै भएकाले लेखिनुपर्ने देखिन्छ । विश्व इतिहास बुझ्ने भाषाको सहजता भए अङ्ग्रेजीमा थुप्रै पुस्तक उपलब्ध छन् ।
विविधता बुझाउने
राष्ट्रिय गानको ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल’ कण्ठस्थ गरेका बालबालिकाले साँचो अर्थमा विविधता बुझेका छन् त ? हामी वर्ग, जाति, धर्म, क्षेत्र, लिङ्ग, समुदाय आदिमा बाँडिएका छौँ । तर, हाम्रो निजी जीवन धेरै विविधतायुक्त छैन । हामीले प्रायः एउटै भूगोल, जाति, धर्म, लिङ्गका मानिसलाई मात्र साथी बनाएका हुनसक्छौँ ।
प्रायः एकै ठाउँमा मःमः वा चाउमिन मात्रै खाइरहेका हुनसक्छौँ । अर्थात्, निजी जीवनमा फरक कुरा स्वीकार्ने हाम्रो चलन खासै छैन । हाम्रो यही बानीले हामीलाई सामाजिक स्तरका विविधता आत्मसात गर्न दिँदैन, आफ्नै कुरा उपल्लो तहका हुन् भन्ने लाग्छ । त्यसैले संविधानले सबैलाई बराबरी भने पनि त्यो सत्य स्वीकार्न सकस भइरहेको छ ।
हामीले छोराछोरीका लागि पुस्तक किन्दा यस्ता पाटोमा कति ध्यान दिएका छौँ ? विद्यालयले पुस्तकालयका लागि पुस्तकहरू छनोट गर्दा यस्ता कुरामा ध्यान दिएको छ कि छैन ? बालसाहित्य लेखिरहेका लेखकहरूको पुस्तकमा भूगोल, पात्र र संस्कृतिको विविधता कत्तिको छ ?
हामीले यसबारे गहिरिएर सोच्नुपर्ने भइसकेको छ किनकि विविधता स्वीकार्ने क्षमता अबका बालबालिकामा भएन भने उनीहरू एक्लिने सम्भावना बढ्न सक्छ । आफ्ना कुरालाई लिएर उसमा अहम् वा हीनताबोध हुनसक्छ । अझ छोरीहरूलाई विविधताबारे जति जानकारी बढी भयो, उति उनीहरू जुनसुकै वातावरण, परिवेश र समुदायसँग घुलमिल भएर काम गर्न सक्छन् ।
बालिकाहरूले आफू बाँचेको समाजसँगै फरक समाजसँग पनि परिचित हुन पाए भने उनीहरूको सोचाइ र बुझाइको दायरा फराकिलो हुन्छ । यस्तो दायरा जति फराकिलो हुन्छ उति हाम्रा छोरीहरू आत्मविश्वासी हुन्छन्, तर्कपूर्ण तरीकाले निर्णय लिन र चुनौतीसँग मुकाबिला गर्दै जीवनमा अघि बढ्न सक्छन् ।
(गिरी साहित्यकार हुन् ।)
–हिमाल, माघ अङ्कबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *