भर्खरै :

युक्रेन युद्ध र पछिल्ला सम्भावनाहरू

युक्रेन युद्ध र पछिल्ला सम्भावनाहरू

काठमाडौँ, १४, फागुन । दोस्रो विश्व युद्धपछि युरोपेली साम्राज्यवादी देशहरू (नाटो) र दोस्रो विश्व युद्धमा अणु बम खसालेर वा ठूलठूलो युद्ध गरेर त्राहिमाम भएका देशहरू (जापान, दक्षिण कोरिया आदि) संरा अमेरिकाकै नेतृत्वमा संसारलाई आफ्नो मुट्ठीमा पार्न चाहन्थे । संरा अमेरिका आफ्नै नेतृत्वमा संसारलाई आफ्नो मुट्ठीमा पार्न चाहन्थ्यो । संरा अमेरिका सुरूमा बेलायतलाई आफ्नो मालिकका साथै शत्रु सम्झेर स्वतन्त्र भएपछि अन्तर्राष्ट्रिय युद्धमा ‘गोर्खाली’ लाई जस्तै प्रयोग गर्दै आएको छ । उसले कोरिया युद्ध, भियतनाम युद्ध, इराक, लिविया, सिरिया आदि अफगानिस्तानका आदि सबै लडाइँमा माथि उल्लेख भएका उसका पिछलग्गू देशहरूलाई प्रयोग गर्दै आएकै छ । कोरिया र भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादको क्रुरता र कमजोरी उदाङ्गो भयो भने सोभियत सङ्घलाई संरा अमेरिकाले भियतनामको बदला दिन अफगानिस्तानमा फसाउन सफल भयो, तर पछि ऊ आफै पनि फस्यो र हा¥यो ।
स्तालिनको हत्यापछि संरा अमेरिका र नाटो साम्राज्यवादीहरूले संशोधनवादी सोभियत सङ्घलाई प्रेम र धम्की दिँदै ख्रुश्चेभदेखि गोर्भाचोभसम्म पुग्दा उसका सबै वैज्ञानिक उपलब्धि, सैनिक शक्ति, गुप्तता, औद्योगिक र विविध विषयको जानकारीसमेत प्राप्त गरे । उसको अथाह प्राकृतिक स्रोत र साधनबाट युरोपलाई सम्पन्न पार्न संरा अमेरिकाले पूर्व युरोपका समाजवादी देशहरू (पूर्वी जर्मनी, पोल्यान्ड, चेकोस्लाभाकिया, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युगोस्लाभिया, अल्बानिया) लाई पनि सोभियत सङ्घर्षको अन्तरविरोधबाट फाइदा उठाउँदै सोभियत सङ्घको विघटन र समाजवादको ठाउँमा पुनः पुँजीवादको स्थापनाको घोषणा गराउँदै दोस्रो विश्व युद्धको त्यत्रो जनधन संहार हुँदा पनि झुकाउन नसकेको रूसलाई ‘चास्नी पोटेको गोली’ ले एक एक गरी सिध्यायो ।
संरा अमेरिका र नाटोले संरा अमेरिका र सोभियत सङ्घको कमजोरीलाई पत्ता लगाए र त्यसलाई समाधान गर्ने नाममा ‘शान्तिपूर्ण प्रतिस्पर्धा’, ‘शान्तिपूर्ण सङ्क्रमण’ भन्दै पूर्वी युरोपेली समाजवादी देशहरूमा पनि पुँजीवादको पुनःस्थापना गरे । पछि सोभियत सङ्घको पश्चिमी इस्टोनियादेखि युक्रेन र अन्य चार गणराज्यहरूलाई स्वतन्त्र देश घोषणा गर्न लगाइयो । साथै, दक्षिणका जर्जियादेखि ताजिकिस्तान गणराज्यहरूसमेत ८ प्रान्त वा गणतन्त्रहरूलाई अलग्ग गराउँदै ती सबैमा पुँजीवादको पुनःस्थापना गराइयो । यसरी पूर्वसोभियत सङ्घ वा रूसी महासङ्घलाई एक्लो र कमजोर पारियो ।
निश्चय पनि जारको रूस पनि एक शक्तिशाली साम्राज्य थियो । ठूलो देश हुनाको कारण बरोबर देशभित्र पनि विद्रोह र सीमामा विदेशी आक्रमण पनि हुन्थ्यो । अन्य युरोपेली देशहरूले पनि एकले अर्को देशमा हमला गर्दा रूसले तिनीहरूलाई सैनिक सहयोग पनि दिन्थ्यो । यस अर्थमा रूस एक सैनिक देश थियो । नेपोलियनले लाखौँ सेना लिएर रूसमाथि हमला गरे । रूसी सेनाले पछि हट्दै जाडोमा नेपोलियनको सेनालाई मस्कोको बरफमा फसायो । नेपोलियनको सेना जाडो र भोकले लखतरान हुँदै गयो र चारैतिरबाट हमला गरेर नेपोलियन सेनालाई रूस छोड्न बाध्य पा¥यो । पेरिस पुग्दा नेपोलियनसँग केही हजारमात्र सेना बाँकी रह्यो ।
सन् १९१७ को क्रान्तिपछि व्यापक रूसी मजदुर र किसानहरूको नयाँ शक्ति तयार भयो र बारम्बारको साम्राज्यवादी देशहरूको आक्रमणलाई परास्त गरियो । दोस्रो विश्वयुद्धमा पनि स्तालिनको नेतृत्वमा सोभियत सङ्घको सैन्य शक्तिको प्रदर्शन गरी संसारको एक महाशक्ति बन्यो । अमेरिकी र युरोपेली नाटोका २७ वटा देश पनि आज पूर्वी युरोपका समाजवादी देशहरू र पूर्वसोभियत सङ्घबाट टुक्राएका १३ वटा गणराज्यहरू पनि रूसी महासङ्घको विरोधमा पु¥याउन युक्रेनलाई पहिलो प्रयोग थलो अमेरिकाले बनायो ।
युक्रेन समाजवादी क्रान्तिको बेलामा पनि हिटलरको नाजी अर्थात ‘राष्ट्रिय समाजवाद– नाजी’ को प्रभावमा थियो । दोस्रो विश्व युद्धमा पनि त्यहाँ ठूलो युद्ध भएको थियो । सोभियत सङ्घले रूसको चौध गणतन्त्रभन्दा युक्रेनलाई एक नमुनाको समाजवादी गणतन्त्र बनाएको थियो । कृषि, उद्योग, विद्युत् र विज्ञान, शिक्षा–संस्कृति र रूसी जीवनको हरेक क्षेत्रमा समाजवादले एक नमुना गणतन्त्र बनाएको थियो । स्तालिनपछिका विश्वासघाती पार्टीका नेताहरू अमेरिकी साम्राज्यवादसँग मिलेर १९९० भित्रमा सबै ध्वस्त बनाएका थिए । संरा अमेरिका र नाटो देशहरूको आँखा रुसको अथाह प्राकृतिक स्रोतहरू, विज्ञान र प्रविधिको विकाससँगै रूसलाई आपसमा बाँडेर लिन र उदीयमान समाजवादी चीनसँगै एसियामा आ–आफ्ना उपनिवेशहरू पुनः कायम गर्ने उद्देश्य लिएर बढ्दै छन् ।
युक्रेनको मकुन्डोमा साम्राज्यवादीहरू रूससँगेका प्रत्यक्ष लडाइँको एक वर्ष भयो । तर, साँचो लडाइँ सन् २०१४ मा सुरू भएको थियो । ८ वर्षको त्यो छद्मयुद्धमा किटाणु युद्धसमेत गर्न युक्रेनमा ३०–३२ वटा अमेरिकी प्रयोगशालालाई ध्वस्त बनाइयो । आज फेरि अमेरिका, बेलायत, नेदरल्यान्ड, स्पेन, जर्मनी, अष्ट्रेलियालगायत अन्य यूरोपेली आधुनिक हातहतियार दिएर युद्धलाई चर्काउँदै छन् । तर यो युद्ध अब रूसमाथि आक्रमण गर्न उद्देश्यले तयार गर्दै छ ।

हारजितको प्रमुख कारण हतियार हुनसक्दैन
केही पुँजीवादी पत्रपत्रिकाहरूले अमेरिकी र नाटो साम्राज्यवादी गुटले युक्रेनमा अहिले रक्षात्मकभन्दा प्रत्याक्रमणका लागि हातहतियार दिँदै गरेको प्रचार गर्दै छन् । काँधमा राखेर प्रहार गर्न सक्ने छरिता ‘एन्टी ट्याङ्क मिसाइल, आर्टिलरी तोपहरू, ७५० भन्दा आर्टिलरी र भेहिकल माउन्टेड रकेट लन्चर, एन्टी ट्याङ्क गाइडेड, दुई आर्टिलरी बिग्रेडबाट भारी गोलाबारी गर्ने १४ सत्न्दा बढी वाहन, अमेरिकी डिजाइनका एम–११२ एस आदि हतियार उल्लेख गरेका छन् । (नयाँ पत्रिका, १४ फागुन २०७९)
रूस–युक्रेन तथा युरेसियाका लागि अमेरिकी उपसहायक रक्षामन्त्री लौरा कुपरले गत महिना पत्रकारहरूसँग भनेकी थिइन्, “हामी त्यसैमा केन्द्रित छौँ ।” तिनले भनिन्, “युद्धभूमिको गतिशीलतालाई परिवर्तन गर्न सक्षम हुने अपेक्षा गरेका छौँ ।”
संयुक्त राष्ट्र सङ्घ आज पनि अमेरिकी साम्राज्यवादी र नाटो गुटको निर्देशनमा चल्न छोडेको छैन । अत्यन्त बहुमत राष्ट्रहरूले क्युवामाथि लगाइएको नाकाबन्दीको विरोध बारम्बार गरिसक्दा पनि साम्राज्यवादी पक्षले त्यो नाकाबन्दी छुटाएको छैन । त्यस्तै रूस अर्थात् सोभियत सङ्घ संरा अमेरिकाको मुख्य प्रतिद्वन्द्वी थियो । अमेरिकी साम्राज्यवाद र नाटो गुटले पूर्वी युरोपेली समाजवादी देशहरूमा सैद्धान्तिकरूपले पतित र आणविक युद्धको धम्की दिएर ती देशहरूमा पुँजीवादको पुनःस्थापना गर्न दिए तथा त्यसपछि सोभियत सङ्घको पश्चिमको इस्टोनिया, लाटभिया, लिथुआनिया, बेलारूस, मोल्डोभिया र युक्रेन गणतन्त्रलाई ‘स्वतन्त्र’ घोषणा गर्न बाध्य गरे र ती गणतन्त्रहरूलाई नाटोको सदस्य नबनाउने समझदारी वा बारम्बारको निर्णयलाई विश्वासघात गरे ।
अहिले साम्राज्यवादी गुटले युरेसियाली गणतन्त्रहरू अर्थात् सोभियत सङ्घको दक्षिणका स्वतन्त्र गणतन्त्रहरू जर्जिया, आर्मेनिया, अजरवैजान, तुर्कमिनिस्तान, उज्वेकिस्तान, कजाकिस्तान, किर्गिजस्तान र ताजिकिस्तान गरी आठ गणतन्त्रहरूमा पनि युक्रेनी शैलीको युद्ध सञ्चालन गर्दै छन् भन्नेबारे अमेरिकी उपसहायक रक्षामन्त्री लौला कुपरको ‘युद्धभूमिको गतिशीलता परिवर्तन गर्न सक्षम’ भएको बताइसकेका छन् ।
साम्राज्यवादी गुट युरेसियामा कथंकदाचित युद्ध विस्तार गर्न सक्षम भए त्यो युद्ध निश्चय पनि केही वर्षमा भ्लाडिभोस्टक पुग्नेछ । अनि तेस्रो विश्वयुद्ध एसियामा पुग्नेछ ।
तर, युद्ध हतियारले होइन जनता वा तेस्रो विश्वका जनताको न्यायोचित देशभक्तिपूर्ण युद्धले जित्नेछ । साम्राज्यवादी र पुँजीवादी शक्ति ¥हासोन्मुख शक्ति भइसकेको हुँदा तिनीहरूको अन्त युरेसियामा नै हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *