भर्खरै :

धुलिखेलमा नवदुर्गाको ङालाकेगु जात्रा

धुलिखेलमा नवदुर्गाको ङालाकेगु जात्रा

जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध जात्राको रूपमा रहेको छ । मानव समाजमा आधारित यस नवदुर्गा जात्रा नेपालकै लामो जात्राको रूपमा रहेको छ । हरेक वर्ष यो जात्रा भौतिक तथा आर्थिक चुनौतीका साथ सञ्चालन भइरहेको छ । हरेक वर्ष आठ महिना मकुन्डोसहित ङालाकेगु जात्रा र चार महिना मकुन्डोबिनाको पूजापाठ तथा जात्रा तिथि मितिअनुसार हुने गर्दछ ।
यस वर्ष काठमाडौँको पशुपति, जय वागेश्वरी, मध्यपुर थिमि, टोखा, गोकर्ण, साँखु, साँगा र भक्तपुर नगरभित्र १७ स्थानमा ङालाकेगु जात्रा सम्पन्न भइसकेको छ । फागुन १२ गते काभ्रेको नालामा ङालाकेगु जात्राको लागि प्रस्थान भएको छ । तीन दिन नालामा जात्रा सम्पन्न गरी फागुन १५ गते बिहान धुलिखेल प्रस्थान हुनेछ । फागुन १६ गते धुलिखेलमा ङालाकेगु जात्रा हुनेछ ।
नेपाल सरकारद्वारा धुलिखेल गाविसलाई धुलिखेल नगरपालिका घोषणा गरेको वर्षमा धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वय्केगु (ठूलो भोजन ग्रहण) गरिएको थियो । धुलिखेलवासीहरू नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुजिने गर्दछन् । धुलिखेलको मुख्य पर्व र जात्राको रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइन्छ । धुलिखेलवासीहरूबाट नयाँ घर वा निवास निर्माण गर्दा र नयाँ व्यापार व्यवसायी खोल्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहेको छ । युवा–विद्यार्थीहरू स्वास्थ्य लाभ र ज्ञान लाभको लागि नवदुर्गा देवगणहरूको आशीर्वाद लिन र सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् । धुलिखेल नपा तथा स्थानीय विद्यालयहरूबाट पनि ङालाकेगु जात्रा हुने दिन बिदा दिने गरेको पाइन्छ । धुलिखेलवासीहरू नवदुर्गा देवगणहरूबाट मुख्य प्रसाद गोका (पञ्चरङ्गी धागो), मोहनी (कालो टीका), पासुका (तीनरङ्गी धागो) ग्रहण गरी आफ्नो क्षमताअनुसार दक्षिणा चढाएर देवगणहरूको सेवा गर्ने परम्परा रहेको छ । धुलिखेल नगरपालिकामा ङालाकेगु जात्रा हुँदा भक्तजनहरूको भौतिक र आर्थिक सहयोगका कारण देवगणहरूको ऋण चुक्ता हुने गरेको देवगणहरूको भनाइ छ ।
नवदुर्गा देवगणको जात्रा परापूर्वकालदेखि आजसम्म कायम रहेको छ । परम्पराअनुसार नवदुर्गा देवगणको नाच नाङ्गो खुट्टामा प्रदर्शन तथा ङालाकेगु जात्रा भइरहेको छ । देवगणहरू भक्तपुर नगरबाहिर ङालाकेगु जात्रा गर्नको लागि नवदुर्गाको मकुन्डो, पोशाक, गरगहना तथा अन्य सामग्रीहरू सबै खर्पनमा राखेर बोकेरै जात्रा हुने स्थानसम्म जाने परम्परा छ ।
नवदुर्गा देवगण जात्रा लिच्छवीकालदेखि विकास भएको इतिहासविद्हरूको भनाइ रहेको पाइन्छ । नवदुर्गाको ङालाकेगु जात्रामा मानव समाजमा हुने पारिवारिक महत्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङ्गको महत्व आदि विषयवस्तु पाइन्छ । बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाच तथा नाटकीय शैलीमा ङालाकेगु जात्रा हुने गर्दछ ।
वर्षैभरि यसै जात्रामा खटिनुपर्दा देवगणहरूले अन्य ज्याला मजदुरी तथा व्यापार व्यवसाय गर्न नसकेर आर्थिक अवस्था कमजोर हुने समस्या छ । साना बालकहरू विद्यालय जान नपाउँदा परीक्षामा उत्तीर्ण हुन नसक्ने र शिक्षाबाट टाढा हुने उनीहरूको अर्काे समस्या रहेको पाइन्छ ।
देवगणहरूको भौतिक, आर्थिक र शैक्षिक समस्याहरू समाधान गरी नवदुर्गा देवगणको ङालाकेगु जात्रा निरन्तर र दीर्घकालीनरूपमा सञ्चालन गर्न नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था २०७६ मा स्थापना भएको थियो । यस संस्थाको मुख्य उद्देश्य सांस्कृतिक महत्वको संरक्षण तथा प्रवद्र्धन गर्ने, देवगणहरूको समस्या समाधान गर्ने, स्वास्थ्य उपचारको व्यवस्था गर्ने, बालक देवगणको शिक्षाको व्यवस्था गर्ने, जात्रालाई सभ्य र सुरक्षित तरिकाबाट सम्पन्न गर्न सहयोग गर्ने, कुनै विवाद भए त्यसको हल निकाल्ने, जात्राबारे प्रचारप्रसार गर्ने, आर्थिक र भौतिक सहयोग जुटाउने र परम्परादेखिको चलनलाई निरन्तरता दिने रहेको छ ।
विभिन्न कारणवस पहिले नवदुर्गा देवगण जात्रा सञ्चालन हुन नसकेकोमा हाल यस वर्ष टोखा र गोकर्णमा पनि ङालाकेगु जात्रा सम्पन्न भइसकेको छ । त्यस्तै २०६९ सालदेखि पनौती र २०७५ सालदेखि थिमिमा पनि जात्रा सञ्चालन भइरहेको छ । उक्त स्थानमा आर्थिक, नैतिक र बासको राम्रो व्यवस्था, खानाको व्यवस्था, जलपानको व्यवस्था, जात्राको समय तालिका, जात्राको महत्वबारे जानकारी, जात्राको सुरक्षाको व्यवस्थापन मिलाइएको देवगणको भनाइ छ ।
धुलिखेलमा हुने ङालाकेगु जात्रामा नवदुर्गा देवगणहरूलाई नपाबाट हरेक वर्ष पञ्चबलि दिने, पोशाक चढाउने, भाले (कुखुरा) चढाउने, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ (सुँगुर) बलि दिनेमा निकै कमी आएको देवगणहरूको भनाइ छ ।
यस ऐतिहासिक नवदुर्गा देवगणको ङालाकेगु जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न, जात्रालाई सभ्य र सुरक्षित तरिकाले सञ्चालन गर्न देवगणहरूको समस्या समाधान गर्न, हाम्रो कला र संस्कृतिलाई संरक्षण गर्नको लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग गर्न नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था अनुरोध गर्दछ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *