नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
कैलाली, २५ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले बुधबार एक समारोहबिच सम्मेलनको उद्घाटन गर्दै नेक्रामसङ्घ सम्पूर्ण शोषित पीडित महिलाको साझा सङ्गठन भएको बताउनुभयो ।
पुँजीवादी राज्य व्यवस्थाले कामदार वर्गका महिला र पुरुष दुवैलाई शोषण गर्ने चर्चा गर्दै अध्यक्ष थापामगरले कामदार वर्गका महिलाको अवस्थामा परिवर्तन ल्याउन समाजवादी व्यवस्था आवश्यक भएको बताउनुभयो ।
उहाँले पुँजीवादी पार्टीका महिला सङ्गठनहरूले गरिब महिलाको हक अधिकारको मुद्दा नउठाउने स्पष्ट पार्दै भन्नुभयो, “भेडा भेडासँग, बाख्रा बाख्रासँग भनेजस्तै शासक पार्टीका महिला सङ्गठनहरूले धनी महिलाकै पक्ष लिन्छन्, पुँजीवादलाई टिकाउन मद्दत गर्छन्, सत्तामा हुने भ्रष्टाचारको भाग खान्छन् । तिनीहरू हाम्रा वर्ग शत्रु हुन् ।”
उहाँले सुदूर पश्चिमका कतिपय जिल्लामा अन्धविश्वास कायम नै रहेकोले महिला हिंसा बढिरहेको बताउँदै बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने तथा जघन्य महिला हिंसाका अपराधीलाई संविधान संशोधन गरी मृत्युदण्डसमेतको सजायको बन्दोबस्त गर्न नेक्रामसङ्घले आवाज उठाइरहेको बताउनुभयो ।
महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित भएमा अत्याचारी शासन र शासक दलहरूलाई परास्त गरी सुन्दर भविष्य निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाज परिवर्तनको लागि सबैले राजनीति गर्नुपर्ने बताउनुभयो । देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै उहाँले साम्राज्यवादी अमेरिकाको अरू देश खाने रणनीतिअन्तर्गत एमसीसीमार्फत नेपालमा लगानी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफूजस्तो बलियो देशलाई कमजोर बनाउने र युद्धमा हराउने ध्यानमा अमेरिका छ, एमसीसी सम्झौता अघि बढाउने र पारित गर्ने सरकार अनि शासक दलहरू अपराधी हुन् ।”
चीनको समाजवादी व्यवस्था ध्वस्त पार्ने दाउमा अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको स्पष्ट पार्दै केन्द्रीय सदस्य शाहीले एमसीसीका दफाहरू नेपाल र नेपालीको हितमा नभएको धारणा राख्नुभयो ।
नेमकिपा कैलालीका जिल्ला अध्यक्ष रमेशकुमार रावलले जनताको समस्या दिनानुदिन बढिरहेको बेला सरकारहरू कहाँ छन् भनी खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्दै उहाँले सिद्धान्त र विचारविनाको राजनीति बलिदानीमा टुङ्गिने स्पष्ट पार्नुभयो ।
नेपालको राष्ट्रपति निर्वाचनमा भारतीय दबाबको चर्चा गर्दै जिल्ला अध्यक्ष रावलले भारतले नेपाली भूमि मिच्दा नेमकिपाले मात्र सशक्त विरोध गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै समाजवादी आन्दोलनका योद्धाहरूको जीवनी अध्ययन गरी प्रचारमा लाग्न जोड दिनुभयो ।
उहाँले समाजवादी देश र पुँजीवादी देशबिचको भिन्नताबारे जनतालाई बताउनुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचनमा लोभीपापी ठेकेदारलाई जिताएर राम्रो भविष्यको कल्पना गर्नु बेकार हुने उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य सुवालले भक्तपुर नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिले निर्वाचन घोषणापत्र अक्षरसः पालना गर्ने गरेकोे चर्चा गर्नुभएको थियो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले शिक्षा र राज्य व्यवस्था नवउदारवादमा फस्दै गएको चर्चा गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा माफिया (अपराधी) हाबी हुँदा जनताका छोराछोरीले दुई किसिमको शिक्षा प्राप्त गरिरहेको बताउनुभयो ।
सम्मेलन तयारी समितिका अध्यक्ष लक्ष्मी पुनमगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तारा बिरुवा र जानकी शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा सांस्कृतिक र साहित्यिक प्रस्तुति पनि गरिएका थिए ।
उद्घाटन समारोहअघि भएको ¥यालीले लम्कीचुहा बजार परिक्रमा गरेको थियो ।
सम्मेलनको बन्द सत्रले लक्ष्मी पुनमगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
Leave a Reply