भर्खरै :

शिकारी

शिकारी

एक उराठलाग्दो मध्याह्न । आकाशमा बादल छैन । मध्याह्नको तापले सुकेको घाँस आशाविहीन देखिन्छ । कुनै दिन जरुर पानी पर्नेछ तर ती घाँसमा कदापि हरियाली फर्कनेछैन । जङ्गल सुनसान र गतिविहिन उभिएको छ । मानौँ, प्रत्येक रुखले चियाइरहेका छन् — आकाशतर्फ वा छन् — कसैको प्रतिक्षामा ।
रातो कमिज, कुनै भलाद्मीले लगाउने जस्तोे सुरुवाल र ठूलो बुट लगाएको अन्दाजी चालिस बर्षजस्तो देखिने साँघुरो छाती र अग्लो कद भएको एक मानिस निकै अल्छिलाग्दो पाराले चरनक्षेत्रतर्फ लम्किरहेको छ । उसको दायाँमा छन् — हरिया रुखहरू, उसको बायाँमा छ — पाकेको राईको एउटा घना स्वर्णिम झाडी जो क्षितिजसम्म फैलिएको छ । उसको अनुहार गर्मीले रातोपिरो भएको छ । उसको आकर्षक मुहारमाथि सजिएको छ — कुनै दयालु जमिनदारले दिएको उपहारजस्तो देखिने शानदार सेतो टोपी । आफ्नो सुडौल काँधमाथि उसले शिकारीले बोक्ने झोला बोकेको छ र झोलाभित्र कोचेर राखेको छ — एउटा कालिज । उसले बन्दुक पनि भिरेको छ र चिहाइरहेको छ — एउटा बुढो, लिखुरे कुकुरमाथि जो घाँसमा केही सुँघ्दै अगाडि हिँडिरहेको छ ।
“येगर भ्लेसिच्,” उसले नजिकैबाट एउटा मधुर आवाज सुन्छ ।
उ रिसाउँदै त्यतातिर फर्कन्छ । उसले आफ्नो छेउमा अन्दाजी तीस वर्षकी र हातमा हँसिया समातेकी एउटी गहुँगोरो वर्णकी महिला उभिएकी देख्छ । उ येगरको अनुहारतर्फ हेरेजस्तो गर्छे, मुस्कुराउँछे र लजाउँछे ।
“ओहो, तिमी पो !! पेलागिया !” ऊ रोकिन्छ, बन्दुक बिसाउँछ र सोध्छ — “कताबाट आयौ ?”
“गाउँका धेरै केटीहरू यहाँ काम गर्छन् । म पनि तिनीहरूसँगै यहाँ आएकी हुँ, येगर भ्लेसिच ।”
“ ए ! ए !” येगर मुर्मुरिन्छ र अगाडी बढ्छ ।
पेलागिया उसलाई पछ्याउँछे । करिब बीस कदमसम्म तिनीहरू मौन रहन्छन् ।
“तिमीलाई नदेखेको धेरै भयो है, येगर भ्लेसिच” उसको सुडौल काँध नियाल्दै पेलागिया भन्छे, “ इस्टरको एक दिन हाम्रो छाप्रोमा पानी खान आएदेखि तिम्रो अनुहारसम्म देख्न पाएका छैनौँ । एकैछिनको लागि त आयौ तर भगवानलाई थाहा छ, त्यस दिन तिमीले कति धेरै जाँड धोकेका थियौ । त्यस दिन, तिमीले मलाई गाली ग¥यौ, पिट्यौ र एक्लै छाडेर गयौ । म तिमीलाई पर्खिरहेँ र पर्खिरहेकी छु — आजसम्म, यही आशामा कि एक दिनको लागि भए पनि तिमी घर फर्कनेछौ ।”
“तिम्रोमा आएर म के गर्नु ?”
“गर्ने कुरा त खासै केही छैन । खालि एउटा घरपरिवार भन्नु हो । तिमी घरको मालिक हौ । येगर भ्लेसिच, तिमी किन एक ठाउँमा बसेर आराम गर्दैनौ ?”
यसो भन्दै गर्दा पेलागिया बौलाही जसरी हाँस्छे र उत्सुकताका साथ येगरको अनुहारतर्फ हेर्छे । उसको आफ्नै मुहार पनि खुसीले पुलोकित हुन्छ ।
“बस्नु ? किन नबस्नु ?” पेलागियाको कुरालाई खासै मतलब नदिएजसरी येगर बोल्छ र दुइटा धुपीका बिरुवाको बिचमा थपक्क बस्छ । “अनि तिमी चाहिँ किन उभिराको त ? खुरुक्क बस न ।”
आफ्नो अस्वाभाविक उत्साह र उत्ताउलोपनबाट लज्जित भएर पेलागिया अलिक टाढा घाममा बस्छे र मुख छोपेर हाँस्छे । अर्को दुई मिनेट मौनतामा बित्छ ।
“एक दिनको लागि भए पनि तिमी फर्केर आउने भए,‘‘.” पेलागिया सुस्ताउँछे ।
“केका लागि” कमिजको बाहुलाले निधार पुछ्दै र शिरको टोपी फुकाल्दै येगर बोल्छ, “केही फाइदा छैन । मलाई गाउँमा बस्न फिटिक्कै मन छैन । तिमीलाई थाहा छ, मेरो बानी बिग्रिसकेको छ । मलाई आरामदायी बिस्तारा चाहिन्छ । मीठो चिया अनि सभ्य वार्तालाप । मलाई सभ्य चिजहरू मन पर्छ तर गाउँमा छ — केवल गरिबी । म गाउँमा त एक दिन पनि टिक्न सक्दिनँ । मानौँ कसैले मलाई तिमीसँगै बस्नुपर्छ भनेर उर्दी जारी ग¥यो भने म कि झुपडीमैँ आगो लगाइदिन्छु कि त आत्महत्या गर्छु । सानैदेखि म यस्तै हो । मेरो बानी सुधार्ने केही उपाय छैन ।”
“अनि कहाँ बस्छौ त तिमी अहिले ?”
“महाशय डिमेट्री त्ेनिचकोमा । एक सिकारी भएर । म उनको लागि सिकार तयार गरिदिन्छु । उनले मलाई सम्मानका साथ राखेका छन् किनकि उनी मबाट धेरै खुसी भएका छन् ।”
“यो कुनै पनि हालतमा स्वाभीमानी कार्य होइन, येगर । अरूको लागि मजाक वा रसरङ्ग होला । तर, तिम्रो लागि त यो साँच्चैको नोकरी हो ।”
“यस्तो कुरा तिमी कहिल्यै बुझ्ने छैनौ मुर्ख केटी । आकाशतिर नियाल्दै येगर भन्छ, “तिमीले जिन्दगीभर बुझ्नेछैनौ — म कस्तो प्रकारको मानिस हुँ ।”
“तिम्रो नजरमा म एक पागल मानिस हुँ । तर, जसले बुझेको छ, उसको लागि म यो जिल्लाभरिकै उत्कृष्ट सिकारी हुँ । महाशयले यो सबै कुरा बुझेका छन् र मैले सुनेको छु, उनले मेरो नाम पत्रिकामा समेत छपाएका छन् । शिकारको लाइनमा मलाई कसैले उछिन्न सक्दैन । मलाई तिम्रो गाउँले पेसाप्रति यत्तिकै घृणा जागेको होइन । सानैदेखि म यस्तै हुँ । मैले अरू कुनै पेसा नै जानेको छैन— कुकुर र बन्दुकसिवाय । कसैले मेरो हातबाट बन्दुक खोस्यो भने म एउटा माछा मार्ने जाली लिनेछु । कसैले जाली खोसेर लग्यो भने म खाली हात लड्नेछु । मैले घोडाको व्यापार पनि गरेँ । जात्राहरूमा पनि हिडेँ । तिमीलाई थाहै होला, कुनै गाउँलेले सिकारी वा घोडाव्यापारीसँग सङ्गत ग¥यो भने उ कदापि हलो जोत्न गाउँ फर्कँदैन । मान्छे स्वतन्त्रता चाहन्छ । जस्तो कि, कुनै एउटा भलाद्मी अभिनय वा त्यस्तै कलामा लाग्यो भने ऊ साना कुरामा सीमित हुन चाहँदैन । तिमी केटी हौ । यस्तो कुरा तिमी बुझ्दैनौ । यस्तो कुरा बुझ्नलाई मगज चाहिन्छ ।”
“मैले बुझेँ । येगर भ्लेसिच् ।”
“यसको मतलब, तिमीले बुझेनौ ‘ हेर हेर रुनै थालेकी !”
“अहँ‘‘म‘.. म रोएकी छैन ।” उता फर्कदै पेलागिया रुन्छे । “ तिमी पापी हौ, येगर भ्लेसिच् । एक रात भए पनि मसँग बिताउन सक्छौ ? तिमीसँग विवाह गरेको आज बाह्र बर्ष भइसकेको छ । हाम्रो आजसम्म एकपटक पनि प्रेम भएको छैन‘‘‘.. नाइँ म रोएकी छैन ।”
“प्रेम ???” हात कन्याउँदै येगर चिच्याउँछ । “हामीबिच अब प्रेम, स्रेम केही हुँदैन । खाली नाममा मात्र हामी लोग्नेस्वास्नी हौँ । तिम्रो नजरमा म जङ्गली मानिस हुँ । मेरो नजरमा तिमी एउटी अबुझ गाउँले केटी हौ, जसलाई बाहिरी दुनियाँबारे केही थाहा छैन । म बिग्रेको केटा हुँ र कहिल्यै गाउँ बस्दिनँ । तिमी गाउँले केटी हौ र कामको चापले कहिल्यै ढाड सोझ्याउन पाउँदिनौ । मलाई आफू शिकारको लाइनमा नम्बर एक भएजस्तो लाग्छ । तर, तिमी मलाई सधैँ हेयको दृष्टिले हेर्छौ । यो कस्तो जोडी हो हाम्रो ?”
“तर, चर्चलाई साक्षी राखेर हाम्रो विवाह भएको छ, येगर भ्लेसिच् ।” पेलागिया रुन्छे ।
“यत्तिकै होइन । तिमीले बिर्सियौ । तिमीले काउन्ट सर्जेई पाब्लोविचलाई धन्यवाद दिए हुन्छ । म जिल्लाभरीकै उत्कृष्ट सिकारी भएकोमा उसलाई ईष्र्या थियो । उसले मलाई महिनौँसम्म जाँड धोक्न लगायो । एउटा जाँडले फिट्टु मानिसको विवाह जोसँग पनि गराउन सकिन्छ । उसको त धर्मसमेत परिवर्तन गराउन सकिन्छ । बदलाको भावनाले उसले मलाई तिमीसँग विवाह गरिदियो — एक नामुद सिकारीलाई गाउँले अनपढ केटीसँग । तिमीलाई थाहा थियो, म जाँडले फिट्टु थिएँ । मसँग किन विवाह ग¥यौ ? तिमीले नाइँ भन्न सक्थ्यौ । तिमीजस्तालाई त मसँग विवाह गर्न पाउनु अहोभाग्य होला, तर हरेक कुरा सबैको नजरबाट तर्कसङ्गत हुनुपर्छ । अब त तिमी जिन्दगीभर रोएर बसे हुन्छ । काउन्टको लागि यो एउटा मजाक होला तर तिमी चाहिँ रोउ । मज्जाले रोऊ । ‘ भित्तामा टाउको ठोकेर बस ।”
केही बेर येगर र पेलागिया बोल्दैनन् । तीनवटा जङ्गली हाँसहरू आकाशमा उड्छन् । येगरले ती चराहरूतर्फ हेर्छ र आँखा त्यतैतर्फ बढाउँछ तबसम्म जबसम्म तिनीहरू दृष्टिभन्दा पर पुग्दैनन् ।
“तिमी आजकल के गरेर बस्छौ ?” चराहरूबाट नजर हटाएर येगर पेलागियाको अनुहार हेर्छ ।
“यो मौसममा त म काममा हिँड्छु अनि जाडो लागेपछि अनाथालयबाट एउटा बच्चा ल्याउँछु र उसलाई बोतलको दूध चुसाउँछु । तिनीहरूले मलाई महिनाको एक र आधी रुबल दिन्छन् ।”
फेरी केही बेर येगर र पेलागिया बोल्दैनन् । धान काटिरहेको ठाउँबाट एउटा मधुर गीत गुञ्जिन्छ । केही बेरपछि रोकिन्छ । गीत गाउनका लागि निकै गर्मी छ आज‘.।
“मान्छेहरू भन्छन्, तिमीले त अकुलिनाको लागि नयाँ छाप्रो बनाएका छौ रे” पेलागिया भन्छे ।
येगर चुप लाग्छ ।
“यसको मतलब ऊ तिम्रो दिलमा बसेकी छे ।”
“यसलाई आफ्नो भाग्य सम्झ पेलागिया,” उसले भन्छ — “ यसलाई तिमीले अब जसरी पनि स्वीकार गर्नुपर्छ । तर, जे होस् आजका लागि बाई बाई । हामीले धेरै बोलिसक्यौँ । साँझसम्म मलाई बोल्टोभो पुग्नु छ ।”
येगर उठ्छ, हात तन्काउँछ र बन्दुकलाई आफ्नो काँधमा राख्छ । पेलागिया पनि उठ्छे ।
“अनि कहिले आउँछौ त गाउँमा ?” मधुर आवाजमा उसले सोध्छे ।
“थाहा छैन । म होशमा कहिल्यै पनि आउँदिन । जब मैले जाँड धोकेको हुन्छु, त्यतिबेला म आउनुको केही फाइदा छैन । जाँड धोकेको बेला म निकै रिसाउँछु ‘ गुड बाई !!”
“गुड बाई ! येगर भ्लेसिच् !”
येगरले आफ्नो टोपी टाउकोको पछिल्लो भागमा राख्छ र कुकुरलाई साङ्लोले तान्दै अगाडी बढ्छ । पेलागिया जहाँ बसिरहेकी थिई त्यहीँ नै बस्छे । उसकोे सुडौल काँध, चम्किलो शिर तर अल्छी र अनाकर्षक हिँडाइ नियाल्छे र पेलागियाको अनुहार दुःख र विरहले भरिन्छ । ‘ र ऊ पनि येगरका पाइलाहरू पछ्याउँदै बिस्तारै हिँड्छे ।
येगर मौन छ, तर उसको उठेको काँधबाट पेलागियाले थाहा पाउँछे, ऊ केही भन्न चाहन्छ । पेलागिया सुटुक्क उसको नजिक पुग्छे र उसका आँखाहरूमा उत्सुकताका साथ हेर्दछे ।
“यो तिम्रो लागि”, पछाडि फर्कँदै उसले पेलागियालाई एक रुबलको सिक्का दिन्छ र एक्लै अगाडि बढ्छ ।
“गुड बाई, येगर भ्लेसिच् !!” यान्त्रिक पारामा रुबल स्वीकार्रै पेलागिया भन्छे ।
येगरले लामो बाटो समाउँछ । निरीह पेलागिया अचल उभिन्छे र आफ्नै आँखाअगाडि येगर एक्लै हिँडिरहेको देखिन्छ । अचानक येगरको कमिजको रातो रङ्ग सुरुवालको रङ्गसँग मिसिन्छ र उसका पाइलाहरू दृश्यमा देखिन छाड्दछन् । उसको लिखुरे कुकुर र उसको बुट छुट्याउनसमेत अप्ठ्यारो पर्दछ । उसको टोपीमात्र देखिन्छ । येगर दायाँतर्फ मोडिन्छ र उसको टोपी समेत जङ्गलको हरियालीमाझ कतै हराउँछ ।
“गुड बाई, येगर भ्लेसिच् !!” मधुर स्वरमा पेलागिया बोल्छे र तन्किएर पर क्षितिजसम्म हेर्छे ताकि अन्तिमपल्ट भए पनि देख्न पाइयोस् — येगरको शिरमाथि सजिएको सेतो टोपी ।
राई — युरोपेली र रुसी जङ्गलहरूमा पाइने एउटा कोदोजस्तो अनाज, जसबाट ह्स्किी तथा बियर तयार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *