शासकहरूमा दास मानसिकता भएसम्म देशको मुहार नफेर्ने
- कार्तिक १९, २०८३
सभामुख सरकारी प्रवक्ता होइन, प्रतिनिधिसभाका नायक हुन्, सदनका नेता हुन् । सभामुख नियममा बस्नुपर्छ, आचारसंहिता पालना गर्नुपर्छ । मनपरी बोले, नियम पालना नगरे र जिम्मेवारी पूरा नगरे सभामुख विवादमा पर्छ । पदीय हैसियत र मर्यादाविपरीत खोक्दा सभामुखको विरोध हुन्छ, गर्नुपर्ने काम समयमा नगर्दा आलोचना हुन्छ । नेपाल पत्रकार महासङ्घका प्रमण्डल प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुग्दा पत्रकारहरूले पीत पत्रकारिता नछोडेको र बिक्रीमा रहेको उनले बताए । सभामुख घिमिरेले व्यक्त गरेको यो विचार आपत्तिजनक छ । यो श्रमजीवी पत्रकारहरूको विरोधमा छ । सबै पत्रकारहरूलाई एउटै दृष्टिले हेर्नु मनासिब हुँदैन । पीत पत्रकारिता गर्ने र पैसामा बिकेर समाचार र लेख लेख्ने पत्रकारहरू चिन्नुपर्छ ।
सभामुख घिमिरे विपक्षी दल घोषणामा आलटाल गरेर बसेको विवाद सेलाउन नपाउँदै फेरि विवादको घेरामा परे । प्रेस स्वतन्त्रताको पक्षमा उभेका, सरकारको कमीकमजोरी औँल्याएर सुशासन र विधिको शासनको निम्ति आवाज उठाइरहेका, भ्रष्टाचार, कमिसन, घूसखोरको विरोध गरिरहेका, विदेशी हस्तक्षेप, सीमा अतिक्रमण नगर्न र नगराउन आवाज बुलन्द गरी देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन कलम चलाइरहेका श्रमजीवी र देशभक्त पत्रकारहरूमाथि दोषारोपण गर्ने काम सभामुखजस्तो गरिमामय पदको लागि सुहाउँदैन । सभामुख घिमिरेको सो अभिव्यक्तिकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । आफ्नो भनाइ फिर्ता लिन आग्रह गर्दै प्रकाशित विज्ञप्तिमा भनिएको छ, “नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लाञ्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।”
पहिले एमालेको नेतृत्वमा बनेको सरकारको सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सञ्चार क्षेत्रलाई हतोत्साही बनाउने विधेयक ल्याएर सञ्चार जगतलाई आतङ्कित पारेका थिए । त्यसको आम सञ्चारकर्मीहरूले विरोध गरेका थिए । एमाले दलबाट सभामुख बनेका सभामुख घिमिरेले सरकारको समर्थन नगर्ने दलमध्ये ठूलो दल नेमकिपालाई विपक्षी दलको घोषणा नगरी कानुनको बेवास्ता गरे । विपक्षी दलबारे संसद्मा विवाद होला भनेरै उनले लामो समयसम्म संसद्को बैठक स्थगित गरे । यो सभामुखको कायरता हो कि कमजोरी ¤ के शासक दलहरूको दबाब र प्रभावमा सभामुख घिमिरेले सदनमा विपक्षी दल घोषणा नगरेका हुन् ? नेमकिपा विपक्षी दल हुन्छ भनेर सभामुखले ऐन कानुनको पालना नगरेका हुन् ? विपक्षी दल घोषणा नगर्नु सभामुखको कमजोरी हो या जानाजानै ऐन कानुनको पालना नगरी खेलबाड गरेको हो ?
Leave a Reply