भर्खरै :

वडा नं. १ मा स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर

वडा नं. १ मा स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर

भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा मङ्गलबार वडा कार्यालय परिसरमा सुगर, प्रेसर, स्तन तथा पाठेघरको क्यान्सर परीक्षणबारे स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा २३७ जना वडावासीहरूले स्वास्थ्य परीक्षण गरेकोमा १९७ जनाले स्तन तथा पाठेघरको क्यान्सर परीक्षण गराएका थिए ।
शिविरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधुनिक जीवनशैली र खानपानले अहिले नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै क्यान्सर, सुगर, प्रेसरको जोखिम दिनानुदिन बढ्दै गइरहेकोले भक्तपुर नपाले जनतालाई सचेत पार्न यस्ता शिविरहरू १० वटै वडामा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
उहाँले शरीरमा बाहिर लागेको रोग तत्काल देख्ने बित्तिकै उपचार गर्न सकिने तर शरीरको भित्रभित्रै लागेको रोगबारे थाहा नहुने हुँदा यसले थप जोखिम बढाउने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने धारणा राख्नुभयो ।
स्तन र पाठेघरको क्यान्सरबाट धेरै महिलाहरू पीडित बनिरहेको र अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न भक्तपुर नपाले यस्ता रोगहरूको विषयमा अभिमुखीकरण गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले घरदैलो नर्स सेवा सञ्चालन गरी स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको बताउँदै नपाका हरेक गतिविधिमा वडावासीहरूको सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र गंगालक्ष्मी बमनूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *