भर्खरै :

युद्ध अपराधको मुद्दा अमेरिकी राष्ट्रपतिलाई लाग्दैन ?

राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय कानुन सबैको लागि बराबर हुन्छ, सबैको लागि लागु हुन्छ । कानुन कसैलाई लागु हुने र कसैलाई लागु नहुने भन्ने कुरा उठ्दैन । रुस–युक्रेन युद्धको सन्दर्भलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको कारण देखाएर नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को कठघरामा उभिन बाध्य हुने त होइन भन्नेबारे अहिले अन्तर्राष्ट्रिय समुदायमा चर्चाको विषय बनिरहेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा अपराध गरेको आरोपमा राष्ट्रपति पुटिनलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त आशङ्का गरिएको हो ।
पुटिनविरुद्ध मुद्दा लाग्छ या लाग्दैन, युद्ध अपराध साबित होला या नहोला ? त्यो अर्काे पाटो हो । रुस–युक्रेनकै सन्दर्भलाई लिएर हेगमा रहेको अदालतले उनीमाथि युद्ध अपराधको निर्णय गर्छ भने युद्ध निम्त्याउने कारक संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाइडेनविरुद्ध हेगस्थित फौजदारी अदालत किन मौन ? संसारमा आतङ्क मच्चाउने, संसारका स–साना सार्वभौम मुलुकमा आक्रमण गरेर लाखौँ लाख नागरिकको नरसंहार गर्ने अमेरिकी राष्ट्रपतिहरूलाई के अपराध लाग्दैन ? लिविया, सिरिया, इराक, भियतनाम, अफगानिस्तानलगायतका दर्जनौँ देशका लाखौँ नागरिकहरू साम्राज्यवादी देश अमेरिकाकै कारण नरसंहार भएका हुन् । साम्राज्यवादी देश अमेरिकाले अहिले पनि क्युवा, प्रजग कोरियालगायतका देशहरूमा आर्थिक नाकाबन्दी गरेर त्यहाँको आर्थिक संरचना कमजोर बनाएर जीवन कष्टकर बनाउने काम गरिरहेको छ । के यो युद्ध अपराध होइन ? हेगस्थित अदालतले त सबभन्दा पहिले संसारमा युद्ध गरेर आतङ्क मच्चाउने संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूमाथि युद्ध अपराधको मुद्दा राख्नुपर्ने हो ।
अमेरिकी राष्ट्रपतिलाई युद्ध अपराधको मुद्दा नलाग्ने अनि रुसी राष्ट्रपति पुटिनलाई मात्र किन मुद्दा लाग्छ ? रुसी राष्ट्रपति पुटिनलाई मात्र किन पक्राउ पुर्जी ! अमेरिकाले जे गरे पनि छुट हुने कस्तो अन्तर्राष्ट्रिय फौजदारी अदालत ¤ कस्तो संयुक्त राष्ट्र सङ्घ ! संयुक्त राज्य अमेरिका र चीनजस्तै रुस पनि आइसीसीको सदस्य होइन । युक्रेनमा सेना तैनाथ गरेर आतङ्क मच्चाउने युद्धको बाटो खन्ने देश त अमेरिका हो नि ! युक्रेनलाई समृद्ध देश बनाउने काम अमेरिकाले होइन रुसले गरेको हो । अमेरिकाले युक्रेनलाई अगाडि सारेर संसारमा अर्काे गृहयुद्ध र विश्व युद्ध गराउने पूर्वाधार तयार गर्दै छ । अहिले नै अमेरिकाले युद्धको भूमिका तयार गरेर खर्बाैँ खर्बको हतियार बिक्री गरिसकेको छ । अरू देशलाई जुधाएर कमजोर बनाउने र हतियार बिक्री गर्ने काम अमेरिकाले गरिरहेको छ । के युद्ध अपराध भनेको संयुक्त राष्ट्र सङ्घ, हेग अदालत र अमेरिकाले मन नपराएका देशका राष्ट्र प्रमुखहरूलाई मात्र लाग्ने हो ?
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखा रोभाले आइसीसीको निर्णय रुसको लागि रद्दीको कागज भएको बताइन् । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पक्राउ पुर्जीलाई ट्वाइलेट पेपरसँग तुलना गरे । यस्ता युद्ध अपराधहरू किन अरू देशका राष्ट्रपति र पूर्वराष्ट्रपतिहरूलाई मात्र लागु हुन्छ ? संसारमा साम्राज्यवादी शासकहरू भएसम्म उनीहरूको चलखेल भइरहनेछ, उनीहरूको रजाइँ भइरहनेछ । यसकारण, संसारका स्वाधीन देशका सम्पूर्ण न्यायप्रेमी जनता र देश साम्राज्यवादविरुद्ध एकढिक्का भएर लड्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *