भर्खरै :

पुँजीपतिहरू सत्ता, पद र पैसामा केन्द्रित हुन्छन्

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी बन्दोबस्त हो । पुँजीवादी व्यवस्थामा पुँजीपति, सामन्त, जमिनदार, जालीफटाहाको सेवा हुन्छ । दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित हुने यो व्यवस्थामा बहुमत जनताको सेवा हुँदैन । पुस्तौँदेखि जोत्दै आएको जग्गामा कृषकहरूको मोही कायम नहुँदै भएको द्वैधस्वामित्वको अन्त्य र कमैया मुक्ति पुँजीपति र जमिनदारहरूको सेवामा गरिएको थियो । नेकाले श्रमजीवी जनताको सेवा नगर्ने कुरा नेकाका नेताहरूले भनेकै हुन् । पुँजीपति र जमिनदारहरू संसदीय व्यवस्थामा आफ्नो वर्गको हितको निम्ति काम गर्छन्, गरिरहेका छन् । यो व्यवस्थाले दलाल पुँजीपतिवर्गको सेवा गर्छ । पुँजीपतिहरू विस्तारवाद र साम्राज्यवादको पृष्ठपोषण गर्छन् । भारतले हजारौँ हेक्टर नेपाली भूमि मिचे पनि नेका भारत सरकारको किन विरोध गर्दैन ? नेपाल सरकार किन भारतीय पुँजीपतिहरूको हातमा उद्योग हस्तान्तरण गर्छ या उद्योग खोल्न किन स्वीकृति दिन्छ ?
पुँजीपतिहरू सत्ता स्वार्थमा केन्द्रित हुन्छन्† पद र पैसामा भुल्छन् । उनीहरू साम, दाम, दण्ड र भेदको नीति अँगाली जुनसुकै कर्म गर्न पछि पर्दैनन् । इज्जत, चरित्र, नैतिकता, आस्था, विश्वास, सिद्धान्त र विचारको ख्याल नगरी उनीहरू जसरी भए पनि सत्तामा पुग्ने यत्न गर्छन् । सत्तासीन राजनीतिक दलका नेताहरूको यस्तै प्रवृत्तिले गर्दा देशको अर्थतन्त्र सङ्कटमा परेको हो, अस्थिरता निम्तिएको हो† भ्रष्टाचार, तस्करी, कमिसन बढेको हो । एकले अर्काेलाई गर्ने विश्वासघात, अरुलाई पछारेर आफू अघि बढ्ने प्रवृत्ति सत्तासीन राजनीतिक दलका नेताहरूमा देखिएको छ । सबै ठूला दलले पटकपटक सरकारको नेतृत्व गरे पनि यहाँ किन परिवर्तनको अनुभूति भएन ? संसद् पनि सांसदहरूको विचार पोख्ने थलोमात्र बनेको छ । सांसदहरूको विचार कार्यान्वयन गर्नेतर्फ सरकार लागेको छैन । शासकहरूको दोहोरो या द्वैधचरित्रको कारण कहिले सत्ता पक्षका दल विपक्षमा र कहिले विपक्षी दल सत्ता पक्षको जस्ता देखिन्छन् । यसको गुढ कारण सत्तामुखी राजनीति हो ।
बहुमत जनताको भोट लिएर अल्पमतको सेवा गर्ने काम पुँजीवादी व्यवस्थामा हुन्छ । यसको लागि पुँजीवादी शासकहरू अनेक षड्यन्त्र र छलछाम गर्छन्† लोभलालच बाँड्छन्, पद र पैसाको निम्ति जे पनि गर्न तयार हुन्छन् । यो पुँजीवादी व्यवस्थाको वर्ग चरित्र नै हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले बहुदलीय व्यवस्था स्थापना भएलगत्तै भनेका थिए, प्रजातन्त्रको एक चम्चा पानीले बहुमत जनताको प्यास मेटाउन सक्दैन । संसदीय व्यवस्था लागु भएको तीन दशक बितिसके पनि देशमा जनताले राहतको अनुभूति गर्न पाएनन् । संसदीय मूल्य र मान्यतालाई पनि संस्थागत गर्न सकिएन । बरु संसदीय व्यवस्थाको बदनाम हुने काम गरेर पुँजीवादी शासकहरूले प्रतिक्रियावादीहरूलाई खेल्ने अवसर दिए । राजतन्त्रवादीहरूले राजा आऊ देश बचाऊ भन्न थाले । तर, राजा आएर देश बच्ने होइन, राजतन्त्रले पनि लामो शासन गरेकै थियो । राजतन्त्रमा सामन्त्ती शासन चल्यो, कामदार वर्गको कहिल्यै हित हेरिएन । पुँजीवादी व्यवस्थाको विकल्प समाजवाद हो । समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष आजको आवश्यकता हो । नेमकिपा त्यही बाटोमा छ । नेमकिपा समाजवादी अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *