भर्खरै :

समाजवादको प्रचार नगर्ने पनि कम्युनिस्ट !

आफ्नो राजनीतिक दलको सिद्धान्त, विचार र दर्शनअनुसार राजनीति नगर्नु या व्यवहारमा ल्याउनेतर्फ नलाग्नु बेइमानी नै हो, त्यो जनतालाई धोका दिनु हो । कम्युनिस्टहरू माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक ठान्छन्† त्यसलाई आफ्नो देशको माटो सुहाउँदो प्रयोग गर्छन् । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् तर अन्धानुकरण गर्दैनन् । कम्युनिस्ट पार्टीले मात्र होइन कुनै पनि राजनीतिक दलले सिद्धान्त एउटा र व्यवहार अर्काे गर्नु हुँदैन । तर, सत्तामा पुगेका कम्युनिस्ट भनिने दलहरूले माक्र्सवाद र लेनिनवादलाई आत्मसात गरेका छैनन् । त्यस वादलाई ती दलहरूले व्यवहारमा ल्याउने प्रयास गरेका छैनन् । कुनै पनि दलको सिद्धान्त र विचार सरकारमा बस्दा एउटा र सत्ता बाहिर रहँदा अर्काे हुँदैन । सरकारमा रहे पनि नरहे पनि दलको सिद्धान्त र विचारलाई लागु गर्न प्रयास गरिरहेका हुन्छन् । सिद्धान्त र विचारअनुसार अघि नबढ्ने दल नक्कली दल हो भन्ने कुरा आम जनताले बुझ्नुपर्छ ।
सत्ताप्रेमी कम्युनिस्ट भनिने दलका शासकहरूले माक्र्सवाद–लेनिनवादलाई पथप्रदर्शक मानेर त्यसअनुसार काम गरिरहेका छैनन् । उनीहरूको ध्यान कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–ठाउँमा पु¥याउने र आमूल परिवर्तन गर्नेतर्फ गएकै छैन । सरकारमा गएर या कम्युनिस्ट भएर किसान र मजदुरको हितमा उनीहरूले के गरे ? सरकारको काम उद्योग खोलेर देश र जनताको सेवा गर्ने होइन भनी आम जनताको भन्दा निजी पक्षको पृष्ठपोषण गर्ने दल कसरी कम्युनिस्ट हुन्छ ? कम्युनिस्ट भनिने सत्तासीन पार्टीले न समाजवादी देशको प्रचारप्रसार गरे न त विश्वको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण देन पु¥याएका नेताहरूको योगदानको गुणगान गरे या उनीहरूको बारे जनता समक्ष पु¥याए । ती दलका शासकहरूले समाजवादी देशको संविधानबारे पनि जनतामाझ पु¥याउने काम गरेनन् । कम्युनिस्टको मूल्य र मान्यताअनुसार कुनै काम नगर्ने दललाई जनताले बुझेर या नबुझेर निर्वाचनमा मत दिए । कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार उल्लङ्घन गर्ने, कम्युनिस्टको बदनाम गर्ने दलहरू कसरी कम्युनिस्ट !
कुनै पनि दलको सिद्धान्त र विचार देखाउने दाँत होइन व्यापक जनताको सेवा गर्ने माध्यम हो, त्यो जीवनपद्धतिसित सम्बन्धित हुन्छ । आफूलाई कम्युनिस्ट भनिने सबै दलका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति गरेका भए व्यापक जनता सचेत र सङ्गठित हुन्थे । व्यापक जनता सिद्धान्तनिष्ठ हुन्थे । यसले आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार हुन्छ । कम्युनिस्ट पार्टीहरू सङ्घीय गणतन्त्र होइन समाजवादी गणतन्त्रको निम्ति लाग्नुपर्छ । कामदार वर्गको प्रजातन्त्र नै समाजवादी गणतन्त्र हो । नेमकिपाले समाजवादी गणतन्त्र स्थापनाको निम्ति सिद्धान्त र विचारको राजनीति गरिरहेको छ । नेमकिपा समाजवादी प्रचार अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *