भर्खरै :

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा ज्येष्ठ सदस्यहरूलाई सम्मान

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा ज्येष्ठ सदस्यहरूलाई सम्मान

भक्तपुर, १३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोमबार एक सय १५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुभएको छ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको आयोजनामा भएको ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा अध्यक्ष बिजुक्छेँले संस्थामा आबद्ध ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
संस्थाले प्रत्येक वर्ष संस्थामा आबद्ध ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले ज्येष्ठ सदस्यहरूको उचित स्याहारसुसारका लागि आदर निकेतनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरू सबै जना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ सदस्यहरूलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहाँले बताउनुभयो । ज्येष्ठ सदस्यहरूको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ज्येष्ठ सदस्यहरूलाई आफनो स्वास्थ्यप्रति गम्भीर हुन सचेत गराउँदै उहाँले चिकित्सकको निगरानीमा रहेर चिकित्सककै सल्लाहअनुसार अगाडि बढ्न सल्लाह दिनुभयो । उहाँले आ–आफ्नो स्वास्थ्यप्रति संवेदनशील भई औषधि उपचार गर्न पछि नपर्न सुझाव दिनुभयो । रोग लागिसकेपछि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु हुन पनि उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरूलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरूबारे जानकारी गराउनुभयो । उहाँले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ ज्येष्ठ सदस्यहरूलाई सचेत रहन आग्रह गर्नुभयो । निरोगी बन्नका लागि उचित खानपानसँगै शारीरिक व्यायाम र खुसी हुन पनि त्यति नै जरुरी रहेको उहाँले जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो । कार्यक्रममा ८० जना ज्येष्ठ सदस्यहरूले सामान्य स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।
संस्थाले २०७० सालदेखि ज्येष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । संस्थाले यसअघि ६ सय ७१ ज्येष्ठ सदस्यलाई सम्मान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *