भर्खरै :

चीन भ्रमणको दैनिकी –१

– नीरज लवजू
मितिः २०७४ भाद्र १४ गते, अगस्त ३०, २०१७
पेचिङको वानशाओ होटलको कोठा नं ८३७३ मा छु । हिजो राति नेपाली समयअनुसार १०ः५६ मा काठमाडौंको त्रिभुवन विमानस्थलबाट उडेको चाइना साउथन एयरलाइन्सको ३०६८ नं उडान सोचेभन्दा चाँडो क्वानचाओ पुग्यो । क्वानचाओको आकाशमा उड्दै गर्दा त्यो चिनियाँ शहर ब्युझेको पनि थिएन । चार घण्टा उडेर चाइना साउथनको विमानले हामीलाई क्वानचाओमा झारिदियो । आकाशमा उज्यालोको प्रकाशसमेत फैलिन थालेको थिएन । चीनमा भने त्यत्तिबेला ५ः३५ बजिसकेको विमानका कर्मचारीले माइकमा फुकिन् । क्वानचाओ चीनको गर्मी सहर हो । हावापानीको हिसाबमा त्यो सहर नेपालको वीरगञ्ज जस्तो भएको अनुभूति सन् २०१३ मा त्यहाँ केही दिन बस्दा गरेको थिएँ । बिहान ५ः३५ को तापक्रम नै २७ डिग्री भएको विमानकी परिचारिकाले जानकारी दिइन ।
वरपरका यात्रुहरू मुढाजस्तै सुते पनि विमानमा मेरो निद्रा भने कुकुरको जस्तो भयो । सुत्न नसक्दा टाउको दुख्न थालिसकेको थियो । तर आँखा चिम्म गरेर पनि भुसुक्क निदाउनै सकिनँ । विमानका परिचारिकाहरू घरी के घरी के भन्दै ओहोरदोहोर गरिरहेका थिए । विमान परिचारिकासँग पत्रिका ल्याइदिन भनें । उनले दुई वटा अङ्ग्रेजी पत्रिका मेरो हातमा थमाइदिइन्, हिमालयन टाइम्स र ग्लोबल टाइम्स । ग्लोबल टाइम्स देखेर म फुरूङ्ग भएँ । विशेषतः भारत र चीनको दोक्लाम क्ष्ँेत्रमा सैनिक तनावको मुद्दा सुरू भएदेखि ग्लोबल टाइम्सको अनलाइन संस्करण नियमित जसो हेर्दै आएको छु । तर पत्रिकाको रूपमा ग्लोबल टाइम्स देखेको थिइनँ । त्यसमाथि अघिल्लो दिनमात्र दोक्लामबाट भारतीय सेना फिर्ता गएको कुराकानी सुनेको र अरू पत्रपत्रिकामा पढेको थिएँ । यता आउनुको तारतम्यमा अरू सोधखोज गर्ने फुर्सद नै पाएको थिइनँ । त्यही बेला हातमा ग्लोबल टाइम्स, ढुङ्गो खोज्दा देवता पाएजस्तै भयो ।
ग्लोबल टाइम्सलाई चीनका जानकारहरूले अतिवादी पत्रिका भन्दा रहेछन् । त्यो चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विषयमा बोल्ने सञ्चारमाध्यम हो । समसामयिक अन्तर्राष्ट्रिय विषयमा चिनियाँ धारणा बुझ्न ग्लोबल टाइम्सलाई महत्वपूर्ण स्रोत मान्ने गरिएको छ । ग्लोबल टाइम्सको प्रमुख समाचारमा नै दोक्लामबाट भारतीय सेना फर्केको पुष्टि गर्दै त्यहाँ चीनको रेखदेख भइरहने उल्लेख थियो । साथै बलात्कारी प्रमाणित भएपश्चात् २० वर्षको जेल सजाय फैसला भएको भारतीय फटाहा बाबा राम रहिमको कुरालाई लिएर चीनका इन्टरनेट प्रयोगकर्ता चिनियाँहरूको भनाइलाई शीर्षक बनाएर त्यसमा लेखिएको थियो, ‘भारतले अरूको आङको जुम्रा देखाउनुभन्दा आफ्नो आङको भैंसी हेरोस् ।’ प्रजग कोरियालाई दबाब दिन संरा अमेरिकाले चीन र रूसमाथि लगाएको थप रोकका विषयमा सम्पादकीय र विश्लेषण पनि पत्रिकामा समावेश थियो । निद्रा नलागेपछि के गरूँ त आकाशमा, पत्रिका पढ्नु बाहेक ।
सुरूमा त भोकले निद्रा नलागेको हो कि जस्तो लागेको थियो । विमान परिचारिकाले दिएकी सिल्भर प्याकेटमा प्याक गरिएको भुटेको अण्डा भात, उसिनेको मकै र कुन्नि कुन सागको लेदोको तरकारी र दाल, एउटा सानो बन र एक पिट्को चीज, काँचो गोल्भेडा, काँचो बन्दाकोबी र अरू के–के राखिएको सलादसँगै एक गिलास स्याउको जुस खाएर सुत्न खोज्छु, निद्रा नै लागेन ! मेरो छेउमा बसेकी इटालीकी एकजना पर्यटक पनि निकै सकस मानिरहेकी थिइन् । आँखा उनले पनि चिम्लेकी छिन्, घरी यता कोल्टे फेर्ने अनि घरी उता, उनको चालाले मलाई उनको सकसको अनुमान गर्न गाह«ो भएन ।

इटालियाली मुलकी उनी अस्ट्रेलिया जान लागेकी रहिछिन् । क्वानचाओमा केही घण्टाको त्रान्जिट पछि उनी अस्ट्रेलिया उड्नेछिन् । नेपालमा झण्डै तीन महिना बसेकी रहिछिन् उनी । विपश्यना ध्यान गर्न सकेकोमा खुब गौरव गर्दै थिइन् । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा गएर ध्यान बस्ने सोचेकी रहेछिन् । तर गर्मीले त्यहाँ जान हिम्मत गरिनन् । त्यही बेला तराईमा बाढी आयो भन्ने खबर आयो । बुद्धको जन्मथलो पुग्ने उनको सपना अर्को पटकको लागि थाती रह्यो । अनुपयुक्त समयमा काठमाडौं घुम्न आएकोमा मनभित्र कतै आफैप्रति गुनासो बोकेर जाँदैथिइन्, अस्टे«लिया । चितवन जाने उनको रहर पनि रहरै मात्र बन्यो, जान सकिनन् । धन्न काठमाडौंमा बसेर केही ठाउँमा घुमिन् र मनलाई सान्त्वना दिन सकेकी रहिछिन् । तिब्बतका तीन महिला पुस्तासम्बन्धि अङ्ग्रेजी भाषामा लेखिएको एउटा पुस्तकमा उनी घोत्लिरहेकी थिइन् । निद्रा लागेर पनि सुत्न नसकेपछि कसको के लाग्छ र ! तिब्बत जाने रहर छ उनको । तर भारतमा भने आफू एक्लै घुम्न नजाने उनले सुनाइन् । ‘म एक जना केटी भएकी हुनाले भारतमा एक्लै घुम्न जान मलाई असुरक्षित लाग्छ’, उनको भनाई थियो । उनका कुरा सुनेर म चकित परें ।
आकाशबाट क्वानचाओको झिलिमिली देखिन केही मिनेट अघि म ब्युझें, अनि त सुत्ने मन म¥यो । अघि परिचारिकाले दिएको चिसो मुख पुछ््ने न्यापकिन कागजले सर्लक्क मुख पुछें । यसो प्यासेजमा हेर्दा कुनै नाइटबसमा नेपालगञ्ज गइरहेको भान भयो । नेपालगञ्ज जाँदा जस्तो उबडखाबड त हुने कुरा भएन, तर कतिबेला विमान कम उचाइमा झर्दा भने मन सिरिङ्ग हुन्थ्यो ।
क्वानचाओ जाने विमानमा धेरै नेपालीहरू नै देखेकोले पनि हुनसक्छ, मलाई नेपालगञ्जतिर गइरहेको छु कि भन्ने भान परेको ! कुन्नि किन हो, हामी उडेको विमानमा चुरा र धागो बाँधेका बुढी बज्यैहरू र बाजेहरू पनि हुनुहुन्थ्यो । उहाँहरू किन क्वाङचाओ जान लाग्नुभयो अथवा अन्यत्र कतै पो जान लाग्नुभयो, त्यो भने मलाई थाहा भएन । मैले कुरा गर्ने मौका पनि पाइनँ । (पछि थाहा भयो, उहाँहरू आफ्ना छोराछोरी भेट्न संरा अमेरिका जान लाग्नुभएको रहेछ ।) धेरै लामो समय बसिरहनु ढाडको लागि समस्या भएकोले होला, घरी–घरी उहाँहरू पनि परिचारिकाहरू जस्तै विमानको कोलियामा ओहोरदोहोर गरिरहनुहुन्थ्यो ।
नेपालको समकालीन समयको सबभन्दा कहालीलाग्दो चित्र हेर्न हरेक राति ८ बजेबाट ११ बजेसम्म त्रिभुवन विमानस्थल उभिए पुग्छ जस्तो लाग्छ । लगेज चेक गराएर अध्यागमनको लागि फारम भर्ने स्थानमा केही बेर उभिए मात्र पनि नेपालको डरलाग्दो भविष्य र कहालीलाग्दो वर्तमान देख्न सक्छौं । आफ्नो नाम पनि लेख्न नजान्ने नेपाली ग्रँमीण युवा र युवतीहरू त्यहाँ फारम बोकेर अरूलाई फारम भरिदिन अनुरोध गर्दै गरेको देख्दा, कठै मेरो देशजस्तो भान हुन्छ । अझ कतार, दुबई, साउदी आदि देशमा भ्रमण भिसामा जाने र पछि त्यही काम खोजेर गैरकानुनी रूपमा बस्ने युवा–युवतीहरूलाई अध्यागमनका कर्मचारीहरूले किन जाने भनी सोध्दा कोही अप्ठ्यारो मानी–मानी त कोही महिनौंदेखि संगालेर राखेको हिम्मतका साथ ‘घुम्न जाने’ भनी झुठ बोल्दा सरकारमा गएका दलहरूलाई सराप्न रिस मनमा जागेर आउँछ ।
स्याङ्जा घर भई हाल बुटवलमा परिवारको बसाई रहेका लुमाकान्त चापागाईसँगको भेट एउटा संयोग थियो । आफ्नो विमान कुर्दै गर्दा विमानस्थलभित्रको भीडमभीड प्रतीक्षालयमा उनीसँग भेट भयो । कुनै पूर्व चिनाजानी होइन । प्रतीक्षालयमा सँगैको सीटमा बस्दा भएको परिचयसँगै भएको कुराकानी स्मरणीय बन्यो । चापागाई दुबई जान नेपाल एयरलाइन्स(एनए)को विमानको प्रतीक्षामा र म क्वाङचाओ जान चाइना साउथनको विमानको प्रतीक्षामा । तर उनलाई एनएको विमान उड्छ नै भन्ने ग्यारेन्टी भने थिएन । कुनै पनि बेला आजको उडान स्थगित भयो भन्दै कुनै थर्डक्लास होटलमा कोच्न सक्ने उनी भन्दै थिए । विगतका अनुभवबाट उनले त्यसो भनेका हुन् । अरू देशका सरकारी विमानसेवा सधैं नाफामा अनि नेपालको एनए सधैं घाटामा किन ? उनले यस्ता धेरै प्रश्न छोटो भेटका क्रममा उठाए ।
विमानस्थल भनेको देशको इज्जत हो । त्यहाँ संसारका अनेक थरी सम्मानित मानिस आउने–जाने गर्दछन् । तर नेपालको विमानस्थल, ‘ल हेर्नोस् त’ भन्दै चापागाई भुई भरीको कागतका टुक्रा र धुलो देखाउँदै थिए ।
चापागाई विदेशमा गएर रोजगार गर्न थालेको १८ वर्ष भइसकेको छ । दुबईमा एउटा गार्मेन्ट कारखानामा क्लर्कको काम गरेको उनले धेरै भयो । बीचमा केही वर्ष जोर्डनमा पनि गएर काम गरे । अझ दुई वर्ष दुबईमा काम गर्ने उनको योजना छ । विदेशमा दुःख गरेर उनले आफ्नो एक छोरोलाई हरियाणाको फरिदाबादमा अटोमोबाइल इञ्जिनियरिङ पढाएका छन् । बुटवलमा एउटा घडेरी किनेका छन् । अर्को कान्छो छोरालाई पनि स्कूल पठाएका छन् । त्यसबाहेक उनले दुबईमा गएर कमाएको पैसा नुन तेल र घर खर्चलाई ठिक्क छ । ‘अरू त सबै जिरो छ’, चापागाईले भने ।
उनलाई थाहा छ, दुबई र खाडी मुलुकमा जाने युवाहरूको दुःख र बाध्यता ! सरकारप्रति उनको तीब्र असन्तोष छ । उनका अनुसार सरकारी उदासिनताका कारण नै नेपालीहरू विदेशमा जान बाध्य भएका हुन् । खोई प्रोत्साहन युवाहरूलाई ? ‘यही केही गर, हामी सघाउछौं तिमीलाई’ भनी सरकारले भने त विदेश जाने नेपाली युवाहरूको सङ्ख्या घट्ने चापागाईको भनाई सुनें ।
खाडी मुलुकमा सर्वसाधारण नेपालीले सोचेजस्तो रोजगारीको अवसर नभएको र विशेषतः सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटसँगै त्यहाँ रोजगारीको अवसरमा कमी आएको तर नेपाल सरकारले आफ्नै देशमा रोजगारी दिने योजना ल्याउनुको साटो विदेशमा जबरजस्ती हुल्ने काम भइरहेको उनले असन्तुष्टि भावमा भने ।
दुबईमा मात्र चार लाख नेपाली छन् । तीमध्ये कोही त आफ्नै व्यापार र लगानी गरेर बसेका छन् भने कोही नेपालीहरू पार्कमा मागेर खाइरहेका पनि छन् । नेपाल सरकारले न त त्यहाँ लगानी भएकालाई ‘त्यत्ता होइन, ल नेपालमै लगानी गर’ भनी प्रोत्साहन दियो न त पार्कमा भौंतारिनुपर्ने नेपाली युवाहरूको आफ्नै देशमा नियति बद्ल्न केही काम ग¥यो । आफ्नो काखे नानी र श्रीमान छोडेर महिलाहरू आज एयरपोर्टमा लाइन लाग्नुपर्ने अवस्था किन बन्दैछ ? चापागाईको भनाई थियो । आफू कहिलेकाहीं पत्रिकामा लेख्छु भनी मैले बताएपछि चापागाईले हौसिंदै आफ्ना सुख–दुःखका कुरा लेखिदिन आग्रह गरे ।
चापागाईको भन्दा हाम्रो विमानको बोलावट चाँडो आयो । बिदावारी भएर हामी चाइन साउथन एयरलाइन्सको गेट नं ५ मा हिंड्यौं । सायद अर्को दिउँसोसम्म लुमाकान्त पनि दुबई पुगिसकेका होलान् ।
क्वाङचाओमा केही घण्टाको ट्रान्जिट थियो । पेइचिङ जाने विमानको लागि हामीले कागजात मिलाएर केही घण्टा कुर्नुपर्ने भयोे । विदेशीहरूका लागि अध्यागमन परीक्षण गर्न बन्दोबस्त गरिएका सुरक्षा जाँचमा भीड थियो । मेरो हातेझोला (ह्याण्डक्यारी) पनि झण्डै बाह« किलो थियो । हात फटक्क गलेको थियो । तर नबोकी सुख थिएन । आगमन फारम भर्दै गर्दा नेपालका विभिन्न पार्टीबाट हामी गएकै कार्यक्रममा जान आएका नेता–कार्यकर्ताहरूसँग भेट भयो । हाम्रो सङ्ख्या बढ्यो । आगमन प्रमाणिकरणपश्चात सुरक्षा जाँचको लागि माथिल्लो तल्लामा उक्लियौं । विमानस्थल पनि कति ठूलो हो कति ! कता जाने हो कता ! जताततै मानिसहरू हतार–हतार दौडिरहेका छन् । कोही आफ्नो पालो कुरिरहेका छन् ।
सुरक्षा जाँचको क्रममा मेरो झोलाबाट पर्फ्युम निकालेर सुरक्षाकर्मीले त्यो लान नमिल्ने बताएपछि मेरो मनमा कुन्नि के हो, चिसो पस्यो । प्रहरीले पर्फयुमको खोलमा रहेका अग्नीबद्र्धकको चिह्न देखाएर लान नपाउने भनेपछि मसँग भन्ने केही शब्द थिएन । फेरि उसले साङ्केतिक रूपमा भनेको कुरालाई मैले जवाफ दिए पनि उसले बुझ्लान् कसरी ? अङ्ग्रेजी बोल्ने चिनियाँ त हिरा भेटाएजस्तै मात्र भेटिने रहेछ । अङ्ग्रेजी कनिकुथी बोल्न जानेको छु भन्नु त चीनका लागि अर्थ न बर्थ गोविन्द गाई रहेछ । पर्फयुम निकालेर प्रहरीले अलग टोकरीमा राख्यो, मेरो मनमा भने चसक्क बिझ्यो । पर्फयुम पर्फयुममात्र भएको भए त किन मन चसक्क हुन्थ्यो र ! भाइले निकै प्रेमले दिएको पर्फयुम थियो । ‘सक्कली पर्फयुम हो दाई’ भन्दै मलाई दिएको थियो । प्रहरीले टोकरीमा फाल्दा झसक्क भाइको याद आयो । तर अब त्यहाँबाट अघि बढ्नुको अर्को विकल्प थिएन । लगेजको तौल घटाउने क्रममा विमानस्थल आउने बेलामा भएको अलमलले कुन सामान केमा छ, ख्यालै नगरेको रहेछु । पर्फयुम, टुथपेष्ट र क्रिम हातले बोक्ने झोलामा राख्नु हुन्न भन्ने त थाहा थियो । तर के गर्नु अलमलमा भाईको पर्फयुमको सुगन्ध कुनै चिनियाँ सुरक्षाकर्मीको शरीरमा हरक्क वास्ना आउने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *