भर्खरै :

“नेपाल सरकारको काम विदेशीको सेवा र दलाली गर्ने होइन”

“नेपाल सरकारको काम विदेशीको सेवा र दलाली गर्ने होइन”

भक्तपुर, १६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कुनै पनि नेपालीलाई विदेशी भाडाको टट्टु बनाउन नहुने विचार व्यक्त गर्नुभयो ।
एभरेष्ट नेपाल टीभीका हरि न्यौपानेसँग बुधबार कुराकानी गर्दै अध्यक्ष बिजुक्छेँले गोर्खा भर्ती केन्द्र नेपालको निम्ति कालो टीका हो, सरकारले विदेशीको दलाली गर्ने होइन, विदेशीको सेवा गर्ने विदेशी दलाल हुन्छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको पक्षमा ऐन कानुन बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो व्यवस्थामा संसद् र अदालत पनि प्रभावित हुने हुँदा बहुमत जनताको सेवा गर्ने पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ ।”
वर्तमान सरकारको स्थिति भद्रगोल र लथालिङ्ग भइरहेको चर्चा गर्दै अध्यक्ष रोहितले यो प्रचण्डको होइन नेकाको सिद्धान्तविपरीत र प्रजातन्त्रविरोधी सरकार हो भन्नुभयो ।
गठबन्धनमा सामेल हुने दलले चुनावमा जानुअघि र सरकार गठनअघि नै दलको आ–आफ्नो प्रतिबद्धता जनतासामु ल्याउनुपर्ने विचार व्यक्त गर्दै उहाँले सिद्धान्तहीन गठबन्धन र प्रजातन्त्रविरोधी गतिविधिबाट देशले राजनीतिक निकास नपाउने विश्वास दिलाउनुभयो ।
देशलाई अधोगतिमा पु¥याउने, विदेशमा युवा पठाएर दास बनाउने र देशको अर्थतन्त्र डुबाउने कार्यको नेमकिपाले सदन र सडकमा सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो ।
श्रीलङ्का र पाकिस्तानमा झैँ नेपालमा पनि आर्थिक सङ्कट आए सरकारमा बहुमत भएको दल दोषी हुने विचार अध्यक्ष रोहितले व्यक्त गर्नुभयो ।
मिटरब्याजीबाट पीडितहरूको आन्दोलनबारे सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “ऋणभन्दा ब्याज बढी भएपछि माफी दिनुपर्छ । जालीफटाहा र ठगलाई कानुन छैन भनेर छुट दिने होइन समातेर कारबाही गर्नुपर्छ ।”
उहाँले भन्नुभयो, “तराईमा खोलेका पार्टीहरू शोषित जनताको पक्षमा भएका भए कागजफट्टा आन्दोलन गरेर कागजात जलाउनुपर्छ, सावाँभन्दा ब्याज बढी भए स्वतः मिनाहा गर्नुपर्छ । शोषण र दमनविरुद्ध किसान आन्दोलन गर्नुपर्छ । समयमै समस्या सम्बोधन नभए आगो लाग्ने सम्भावना हुन्छ । सरकार नालायक र निक्कमा बन्नु हुँदैन । जनतामाथि शोषण गर्नेहरूलाई जेलमा हाल्नुपर्छ ।”
मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा छिर्न दिइएन भने अर्को जिज्ञासाको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो, उनीहरूलाई सरकार या तराईका पार्टीले बस्ने ठाउँ देखाउनुपर्छ । उनीहरूमाथि अन्याय भएको छ, अन्यायको समाधान खोज्नुपर्छ ।”
अध्यक्ष रोहितले प्रतिप्रश्न गर्दै भन्नुभयो, “राजनीतिक कार्यकर्तालाई पक्रने र जेल हाल्न सक्ने सरकारले मिटरब्याजीहरूलाई किन छुट ! कसैविरुद्ध नारा लगाउँदैमा के गोली चलाउन पाइन्छ ?
सरकार किन असहिष्णु भयो भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकार जनताको मर्का र भावना बुझेर सहिष्णु बन्नुपर्छ । यो सरकार गैडाको छालाजस्तै भएको छ ।”
निश्चित जनजातिको राज्यले देशलाई छिन्नभिन्न पार्ने हुँदा नेमकिपाले प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने सुझाव दिएको अध्यक्ष बिजुक्छेँ पुनः स्मरण गराउनुभयो ।
तराईका किसानमाथि भइरहेको शोषण, दमन, थिचोमिचो, हेलाहोचो र अपमानको विरोधमा २००८÷१० सालतिरै किसान आन्दोलन भएको स्मरण गराउँदै फेरि किसान आन्दोलनको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।
गरिब जनतालाई हाहाकारमा फसाउने, श्रम र आर्थिक शोषण गरेर कष्टकर बनाउने काम देशको निम्ति राम्रो लक्षण होइन, उहाँले भन्नुभयो ।
वीर अस्पतालमा बिग्रिरहेको केमोथेरापी तुरुन्तै मर्मत गरेर उपयोगमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सरकारको सम्पत्ति जनताको निम्ति खर्च गर्नुपर्छ । त्यो नेताको निम्ति स्वास्थ्योपचार हुन्छ । वीर अस्पतालमा केमोथेरापी गर्न एक हजार र निजी अस्पतालमा १० हजार रुपैयाँ लिन्छ । यसकारण, वीर अस्पतालमा कर्मचारीहरूले १० हजारको भाग लिन त्यहाँको मेसिन बिगार्ने काम गर्दै छन् । यसबारे छानबिन गरी चोर पत्ता लगाउनु आवश्यक छ ।”
कम्युनिस्टहरूले पनि सरकारी कलकारखाना र संस्थाहरू बेचिरहेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो,” सरकारी कलकारखाना र संस्थान कौडीको मूल्यमा व्यक्तिलाई बेच्नेहरू सच्चा कम्युनिस्ट होइनन्, माओवादी र एमाले भाइकाङ्ग्रेस हुन् ।”
सांसदहरू संसदमा हाजिर गरेर आफ्नो व्यक्तिगत काममा लागिरहेको सन्दर्भमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सांसदहरूलाई आफ्नो कर्तव्य र जिम्मेवारी पनि थाहा छैन । संसद् चलिरहेको बेला बाहिर जानु हुँदैन । तिनीहरूको स्वार्थ देश र जनताको सेवा गर्ने होइन सरकारमा जाने र सेवा सुविधा लिने हो ।”
राजदूत खराब भएमा देश धुजाधुजा हुनसक्नेतर्फ सङ्केत गर्दै उहाँले अरु देशको उठबसमा बस्ने देशहरू स्वतन्त्र नहुने र नवउपनिवेश हुने विचार व्यक्त गर्नुभयो ।
संसद्मा ल्याइने विधेयकबारे जनतामाझ पनि पु¥याउनुपर्ने आवश्यकता पनि अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
लडाकूहरूलाई फेरि पैसा दिनेसम्बन्धी सरकारी निर्णयबारे सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो,” सबै आन्दोलनकारीले पैसा मागे के गर्ने ? बरु रोजगारी दिनुपर्छ, पैसा लिनको निम्ति क्रान्ति गर्ने होइन । अरुले पनि मारकाट गरे के सरकारले पैसा बाँड्दै हिँड्ने ? लडाकूहरूलाई केको आधारमा २/२ लाख दिने ? कहिलेसम्मको निम्ति २ लाख !
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । अतः पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउन सङ्घर्ष गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *