भर्खरै :

आदर निकेतनबाट वृद्धवृद्धाहरूको सेवा हुने विश्वास

आदर निकेतनबाट वृद्धवृद्धाहरूको सेवा हुने विश्वास

भक्तपुर, २० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको संरक्षकत्वमा रहेको ‘भक्तपुर आदर निकेतन’ को भवन सोमबार एक विशेष समारोहबिच उद्घाटन गर्नुभयो ।
सयौँ वृद्धवृद्धाहरूको समुपस्थितिमा बाँसुरी र वीणाको धुनमा उद्घाटन भएको सो समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर साकोसले थालनी गरेको राम्रो कामको अन्य सङ्घ संस्था तथा तहले पनि गरेमा नेपाली जनताकै सेवा हुने विचार व्यक्त गर्नुभयो ।
एक आपसमा मिलेर सहयोग र साथ दिएमा समाजमा आइपर्ने सङ्कट र अप्ठेरो स्थिति पनि सहज ढङ्गले हल गर्न सक्ने विचार राख्दै उहाँले शिशुशाला, बालउद्यान, विद्यालय, कलेज स्थापना गरेर बालबालिकाको सुरक्षा, विद्यार्थीले सस्तो र गुणस्तरीय शिक्षा तथा आमाबुबाले अन्यत्र काम गर्ने अवसर पाएको बताउनुभयो ।
प्रसूति गृहले महिलाको सेवा र आदर निकेतनले वृद्धवृद्धाहरूको सेवा हुने विश्वास अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
तरकारी र चामल भारतबाट आयात भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशमै कृषि उत्पादन बढाउन सके खाद्यान्नमा मुलुक आत्मनिर्भर हुने, अरूको भरमा बस्न नपर्ने र देशको रकम स्वदेशमै रहे विकासमा टेवा पुग्ने बताउनुभयो ।
कुनै पनि बेला भारतले खाद्यान्न रोकेमा या नाकाबन्दी गरेमा देशमा खाद्यान्न समस्या भएर जनताको जीवन स्तर कष्टकर हुने हुँदा कृषि उत्पादन बढाउन नयाँ पुस्तालाई पनि खेतीपाती गर्ने काममा हौसला दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गृहिणीहरूलाई घर व्यवहार र दैनिक जीवनमा गर्नुपर्ने कामको तालिम, रोजगारीको लागि युवाहरूलाई समयअनुसारका विभिन्न रोजगारमूलक तालिम दिइरहनुपर्ने चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिकहरूको लागि विज्ञ डाक्टरहरूमार्फत प्रशिक्षण भइहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले घरको बचत रकम बैङ्कमा होइन उत्पादनशील क्षेत्रमा लगानी गर्न र गराउन, रोजगारीको अवसर दिन समुदायमा आधारित सहकारी संस्थामा राख्नुपर्नेमा जोड दिनुभयो ।
मानिसको जन्मदेखि मृत्यु हुँदासम्म गर्नुपर्ने आवश्यक हेरचाह र काम सहकारी संस्था र स्थानीय तहले गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले नयाँ पुस्तालाई आ–आफ्नो अनुभव, सीप, जानकारी दिएमा अनुशासित र योग्य नागरिक बनाउन टेवा पुग्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयसम्म समाजको योगदान गर्नेहरूलाई कदर गर्नुपर्ने आवश्यकता औँल्याउँदै पैसा भए पनि हेरविचार, पालनपोषण, सत्कार गर्ने व्यक्तिहरूको अभावले ज्येष्ठ नागरिकहरूको जीवन दयनीय भइरहेको स्मरण गराउनुभयो ।
पहिले दत्तको रूपमा राखेका कृतिहरू अहिले चट्ट हुन थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी जति सक्रिय हुन्छौँ, त्यति नै हाम्रो जीवन स्वस्थकर र आयु बढ्छ ।”
स्वस्थ समाज बनाउन भनपा र वडा कार्यालयहरूले वडा–वडामा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले सबै नागरिकहरू शिक्षित, सचेत र सङ्गठित भए आदर्शाेन्मुख या नमुना समाज स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समस्यासँगै समाधानको उपाय पनि हुने स्पष्ट पार्दै उहाँले हामीले जम्मा गरेको रकम हाम्रै जीवनपद्धतिको निम्ति उपयोग गर्नुपर्छ भन्नुभयो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्माले सरकारले गर्नुपर्ने काम सहकारी संस्थाले आदर निकेतन खोलेर आफ्नो सामाजिक दायित्व बहन गरी नमुना कार्य गरेको विचार व्यक्त गर्नुभयो ।
उहाँले आदर निकेतन खोलेर समाजको सेवा गरेझैँ मुलुकको रुपान्तरणमा पनि स्थानीय तह र सहकारीको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आदर निकेतनको निरन्तरताको कामना गर्दै वृद्धवृद्धाहरूको जीवन सहज बनाउन बेलाबखत रचनात्मक सुझाव दिइरहनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी संस्थाको जिम्मेवारी आर्थिक कारोबार मात्र होइन सामाजिक सेवा पनि हो, आदर निकेतन सञ्चालन यसको दृष्टान्त हो भन्नुभयो ।
बैङ्क र फाइनान्सले सामाजिक सेवा नगर्ने विचार व्यक्त गर्दै उहाँले ब्याजको लोभमा नपरी सहकारी संस्थाबाट जिम्मेवार व्यक्तिहरूलाई चिनेर मात्र सदस्य बन्नुपर्छ भन्नुभयो ।
भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो समारोहमा सचिव लक्ष्मीप्रसाद कुसीले आदर निकेतनमा रहेर पालन गर्नुपर्ने नियमहरूबारे प्रकाश पार्नुभयो भने कोषाध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुर साकोस र आदर निकेतनको आय–व्ययबारे जानकारी दिनुभयो ।
संस्थाका सदस्य जगनाथ प्रजापतिले आदर निकेतन स्थापना गर्नुपर्नाका कारणहरूबारे प्रकाश पार्नुभयो ।

One response to “आदर निकेतनबाट वृद्धवृद्धाहरूको सेवा हुने विश्वास”

  1. NapitGomishDas says:

    sewa nisulka hunu parcha !

Leave a Reply

Your email address will not be published. Required fields are marked *