भर्खरै :

तनहुँ, बारा र चितवनमा नेमकिपाका उम्मेदवारहरूको सङ्क्षिप्त परिचय

तनहुँ, बारा र चितवनमा नेमकिपाका उम्मेदवारहरूको सङ्क्षिप्त परिचय

रामप्रसाद प्रजापति

रामप्रसाद प्रजापति, प्रतिनिधिसभा सदस्य उम्मेदवार, तनहुँ क्षेत्र नं. १

विसं २०८० वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेमकिपाको तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार अधिवक्ता रामप्रसाद प्रजापति कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ ।
ख्वप कलेजलगायतका शैक्षिक संस्थामा राजनीतिशास्त्र र कानुन विषय अध्यापन अनुभव सँगाल्नुभएका अधिवक्ता प्रजापति वकालत पेसामा संलग्न हुनुहुन्छ । ‘श्रमिक’ साप्ताहिकको कानुनका स्तम्भकार अधिवक्ता प्रजापति कानुन अध्ययन समाजका अध्यक्ष हुनुहुन्छ । अन्यायमा परेका सर्वसाधारणलाई कानुनी सेवा पु¥याउँदै आउनुभएका प्रजापति नेपाल कानुनी अनुसन्धान तथा परामर्श केन्द्रका संस्थापक सञ्चालकसमेत हुनुहुन्छ ।
उहाँले विसं २०५५ मा नेपाल बार एसोसियसनको सदस्यता प्राप्त गर्नुभएको थियो । नेपाल बार एसोसियसन केन्द्रीय कार्य समितिको लागि विसं २०७२ र विसं २०७५ मा भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका प्रत्यासीसमेत हुनुहुन्थ्यो । उहाँ हाल सर्वोच्च बार एसोसियसनमा आबद्ध हुनुहुन्छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा विसं २०६० र विसं २०६२ मा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका निर्वाचित अधिवक्ता प्रजापति विसं २०५१ मा नेपाल ल क्याम्पसमा उम्मेदवार र विसं २०५७ मा त्रिवि केन्द्रीय क्याम्पसमा सभापतिका उम्मेदवार हुनुहुन्थ्यो ।
प्रतिगमनविरुद्धको आन्दोलन, देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को सन्धि, नागरिकता विधेयकलगायत कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती सम्झौता खारेज गराउन नेमकिपा र यसका जनवर्गीय सङ्गठनले अघि बढाएको आन्दोलनमा अधिवक्ता प्रजापतिको सक्रिय सहभागिता रह्यो ।
उहाँले भारत, थाइल्यान्ड र युरोपका केही देशहरू नेदरल्यान्ड, जर्मनी, इटली, फ्रान्स र बेल्जियम भ्रमण गर्नुभएको छ ।
नेमकिपाको चुनाव चिह्न ‘मादल’ मा आफ्नो अमूल्य मत (छाप) दिएर अधिवक्ता रामप्रसाद प्रजापतिलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ ।

मुक्तिप्रसाद यादव

मुक्तिप्रसाद यादव, प्रतिनिधिसभा सदस्य उम्मेदवार, बारा क्षेत्र नं. २

वि.सं. २०८० वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्तिप्रसाद यादवको जन्म २०३५ असोज ६ गते बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ८ वेखा टोलमा भएको हो ।
नेपाल मजदुर किसान पार्टी बारा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका यादव नेपाल क्रान्तिकारी युवा सङ्घमा आबद्ध हुनु भई पार्टीको साङ्गठनिक गतिविधिमा निरन्तर हुनुहुन्छ ।
कृषि पेसामा संलग्न मुक्तिप्रसाद यादव खेल क्षेत्रमा परिचित हुनुहुन्छ । तेक्वान्डो खेलमा ब्लाय्कबेल्ट प्राप्त यादव खेलकुदको विकासमा सकृय हुनुहुन्छ ।
देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को सन्धि, नागरिकता विधेयकलगायत कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती सम्झौता खारेज गराउन नेपाल मजदुर किसान पार्टी र यसका जनवर्गीय सङ्गठनले अघि बढाएको आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको छ ।
मुक्तिप्रसाद यादव नेपाल मजदुर किसान पार्टीको तर्फबाट २०६४ र २०७० सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार हुनुहुन्छ । २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट कलैया उपमहानगरपालिकामा उपप्रमुख र २०७९ को स्थानीय तह निर्वाचनमा प्रमुखका उम्मेदवार पनि हुनुहुन्छ ।
तराईका किसानसँगसँगै सम्पूर्ण कामदार वर्गको हित एवम् देशको पक्षमा सङ्घर्ष गर्दै आउनुभएका मुक्तिप्रसाद यादव स्थानीय सामाजिक संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ ।
नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ मा आफ्नो अमूल्य मत (छाप) दिएर कामरेड मुक्तिप्रसाद यादवलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण मतदाता दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ ।

ज्ञानेन्द्र प्रजा

ज्ञानेन्द्र प्रजा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, चितवन क्षेत्र नं. २

वि.सं. २०८० वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट चितवन क्षेत्र नं. २ मा ज्ञानेन्द्र प्रजा उम्मेदवार हुनुहुन्छ । उहाँको जन्म कालिका नगरपालिका वडा नं. ९ मा २०४८ भदौ १७ गते भएको हो । हरिबहादुर र तिलकुमारी प्रजाका जेठा छोरा ज्ञानेन्द्रले शिक्षा सङ्कायको नेपाली विषयमा स्नातक गर्नुभएको छ । क्याम्पस अध्ययनको सिलसिलामा २०६५ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध हुनुभएका प्रजा हाल नेपाल क्रान्तिकारी युवा सङ्घ चितवन जिल्ला अध्यक्ष, सङ्घको केन्द्रीय सदस्य र नेमकिपा चितवन जिल्ला सचिवसमेत हुनुहुन्छ ।
देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को सन्धि, नागरिकता विधेयकलगायत कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती सम्झौता खारेज गराउन नेपाल मजदुर किसान पार्टी र यसका जनवर्गीय सङ्गठनले अघि बढाएको आन्दोलनमा ज्ञानेन्द्र चेपाङको सक्रिय सहभागिता रहेको छ ।
चेपाङ समुदायसँगसँगै सम्पूर्ण कामदार वर्गको हित एवम् देशको पक्षमा सङ्घर्ष गर्दै आउनुभएका ज्ञानेन्द्र प्रजा स्थानीय सामाजिक संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ ।
नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ मा आफ्नो अमूल्य मत (छाप) दिएर ज्ञानेन्द्र प्रजालाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण मतदाता दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *