भर्खरै :

बिस्का जात्रा २०७९ बारे सद्भाव ¥याली तथा सद्भाव सभा सम्पन्न

बिस्का जात्रा २०७९ बारे सद्भाव ¥याली तथा सद्भाव सभा सम्पन्न

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा चैत्र २७ गतेबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन भक्तपुरको टौमढीमा आइतबार सद्भाव सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति भनेका मानव समाज विकासको सिलसिला हो र हाम्रो पुर्खाले सुरु गरेको यात्रा विकृतिरहित ढङ्गले शान्तिपूर्णरूपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
उहाँले देश विदेशमा भएका नेपाली तथा विदेशीहरूले फेसबुक लात् तथा अन्य सञ्चारमाध्यमबाट जात्रा अवलोकन गरिने हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित गर्नेतर्फ स्थानीय तह तथा जात्रासँग सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको अर्थतन्त्र ओरालो लाग्ने क्रममा रहेको समयमा जात्रा र पर्वहरू मनाउँदा धेरै खर्चिलो र भड्किलो नबनाई मितव्ययिता अपनाउनुपर्ने भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउनेतर्फ सबैले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादितरूपमा मनाउन सबैमा अपिल गर्नुभयो ।
उहाँले जात्रालाई भव्य र सभ्य बनाउन भक्तपुर नपाले सरोकारवाला पक्षसँग नियमितरूपमा बैठक बसी जात्राबारे आवश्यक निर्णयहरू गरेको अवगत गराउँदै सबैको साथ र सहकार्यबाट जात्रा सफलतापूर्वक सम्पन्न हुने हो भन्नुभयो ।
भक्तपुरको कला संस्कृति, जात्रा पर्व आदिबारे नयाँ पुस्तालाई थाहा दिन भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरूमा यसको अध्ययन अध्ययनमा जोड दिँदै आएको बताउँदै उहाँले कोभिड महामारीबिच पनि बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको स्मरण गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बिस्का जात्रा भक्तपुरवासीको मात्र नभई सारा नेपालीहरूको जात्रा भएको र देशविदेशमा यो जात्रा हेरिने हुँदा जात्रा सभ्य र भव्यरूपमा मनाउन अपिल गर्नुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा सफलतापूर्वक सञ्चालनको लागि सबैको सक्रियतामा विभिन्न बैठक र कार्यक्रमहरू सञ्चालन गर्नुका साथै बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राको रूपमा रहेको हुँदा यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो । जात्रामा हुने अवाञ्चित र उच्छृङ्खल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी भई आवश्यक कारबाहीसमेत हुने उहाँले बताउनुभयो ।
गुठी संस्थान भक्तपुरका प्रमुख खीमा ओलीले जात्रा सफलताको शुभकामना दिँदै नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा सफलतापूर्वक सम्पन्न गर्न गुठी संस्थानले कार्यतालिका बनाई जिम्मेवार पक्षलाई सुसूचित गरिसकेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण ढङ्ग मनाउन भक्तपुरले प्रकाशन गरेको अपिल सभामा वाचन गर्नुभएको थियो ।
सद्भाव सभा सुरु हुनुअगाडि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट र भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको नेतृत्वबाट इनागबाट ¥याली सुरु भई टौमढीमा पुगी सभामा परिणत भएको थियो । सद्भाव ¥याली तथा सभामा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, टीम, क्लव, सहकारी संस्था, विद्यालय, कलेज र स्काउट, सांस्कृतिक समूह एवम् स्थानीय जनसमुदायहरूको उल्लेख्य उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *