देश सकसको बेला सरकार ‘देशघाती’ कानुन बनाउँदै
- भाद्र १७, २०८३
शासकहरूको गैरजिम्मेवारीको कारण नेपाल अझै विकासशील देश पनि बनेको छैन† न त साक्षर मुलुक नै बनेको छ । नेपाल जस्तै सानो देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया बुद्धिजीवीकरण अभियानमा लागिरहेको समयमा नेपाल साक्षर देश नबन्नुमा शासक दलहरू नै दोषी छन् । प्रजातन्त्र पुनःस्थापना र गणतन्त्र स्थापनापछि सरकारले आधारभूत आवश्यकता परपूर्ति गर्ने कुनै एउटा उद्योग या कलकारखाना खोलेर देशलाई आत्मनिर्भर बनाउने काम गरेको छैन । शासकहरूले त भएका उद्योग तथा कलकारखानाहरू घाटामा पु¥याएर विदेशी उद्योगपति र निजी व्यक्तिहरूलाई कौडीको मूल्यमा बेचे । कलकारखाना तथा उद्योगहरू खोल्नु सरकारको काम होइन भनी निजीकरण गर्दै सरकार आफ्नो दायित्वबाट पन्छिँदै छ । शासकहरूले देशको सम्पत्ति रित्याउनेबाहेक देश बनाउने या विकास गर्नेतर्फ खासै ध्यान दिएका छैनन् ।
शासकहरूले देश बनाउनुको सट्टा बदनाम हुने काम गरे । देश बदनामका अनेक कारणमध्ये भ्रष्टाचार र अनियमितता पनि हो । एमनेष्टी इन्टरनेसनलको रिपोर्टमा नेपाल जहिल्यै धेरै भ्रष्टाचार हुने मुलुकमा परेको छ । शासकहरूले भ्रष्टाचारीहरूमाथि कारबाही गरेर भ्रष्टाचार अन्त्य गर्नेतर्फ पाइला चालेकै छैनन् । शासकहरू देशमा भ्रष्टाचार भइरहेको स्वीकार्छन् तर भ्रष्टाचारीहरूमाथि कारबाही गर्दैनन् या कारबाही गर्ने प्रक्रिया अघि बढाउँदैनन् । सत्ताको तँछाडमछाड गर्ने, भागबन्डा पाएपछि या मन्त्री हुन पाएपछि सिद्धान्त र विचारको कुनै पर्वाह नगर्ने सत्तामुखी दलका नेताहरू भ्रष्टाचारीहरूलाई प्रशय दिन्छन् । अवैध सम्पत्तिलाई वैध बनाउने सरकारले ल्याएको विधेयक यसको पछिल्लो दृष्टान्त हो । अवैध सम्पत्ति अनियमित गरेर कमाइएको सम्पत्ति हो । अनियमित गरेर आर्जन गरिएको सम्पत्तिलाई शुद्ध या वैध सम्पत्ति बनाउन पहल गर्ने शासकहरू के भ्रष्टाचारीको पक्षमा रहेको थाहा हुँदैन ?
देशको सम्पत्ति प्रत्यक्ष या अप्रत्यक्षरूपमा दलगत र व्यक्तिगतरूपमा दुरूपयोग गर्ने काम पनि शासकहरूले गरिरहेका छन् । स्वास्थ्योपचारको नाउँमा ठूला दलका नेताहरूले देशको लाखौँ करोडौँ खर्च गरिरहेका छन् । विकास योजनाको नाउँमा पनि लाखौँ करोडौँ रकम चुहावट भइरहेको छ । विकास निर्माणको काम गुणस्तरीय हुँदैन । गरिएको काम दीगो हुँदैन । आवश्यकै नभएको ठाउँमा पुल बनाएर करोडौँ रकम असुलिरहेको छ । पहिले भएको विकास योजना फेरि गरेको देखाएर नाफा कुम्ल्याइरहेको छ । एकातिर समयमा विकास नहुने, विकासको रकम लिएर काम नगरी ब्याज असुल्ने र अर्कोतिर काममा ढिलाइ गरेर विकासमा बाधा पार्ने काम ठेकेदारहरूले गर्दै छन् । सरकारले तय गरेका विकासका योजनाहरू मात्र इमानदारीपूर्वक भएको भए, भ्रष्टाचार र अनियमितता नभएको भए या भ्रष्टाचारीहरूमाथि यथोचित कारबाही भएको भए देशमा विकास भएको देखिन्थ्यो । तर, यो कुनै भइरहेको छैन । यही कारण आज देश सङ्कटको अवस्थामा पुगेको हो । देश अरू देशको भरमा, विदेशी ऋण र सहयोगमा सञ्चालन गर्नुपरेको हो ।
Leave a Reply