भर्खरै :

चीनले कसरी जलवायु विनाश रोकथाम गर्न सक्छ ?

चीनले कसरी जलवायु विनाश रोकथाम गर्न सक्छ ?

जलवायु विनाश ? के हामीले अहिल्यै जलवायु विनाश देख्दै छैनौँ र ? अन्तरसरकारी जलवायु परिवर्तन समूह (आइपीसीसी) को पछिल्लो रिपोर्टले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमुनि राख्ने सम्भावना रहेको बताएको छ । तर, यो सीमा नाघे हामीले असाध्यै ठूलो विनाश भोग्नुपर्नेछ । केभिन एन्डरसन म्यानचेस्टर विश्वविद्यालयका जलवायु वैज्ञानिक हुन् । उनले आइपीसीसीको पछिल्लो रिपोर्ट अति आशावादी रहेको र यसले दक्षिणी गोलाद्र्धमा बसोबास गर्ने बहुसङ्ख्यक मानिसहरूको हितलाई बेवास्ता गरेको बताएका छन् । उनले सन् २०४० सम्म विश्वभर कार्बन डाइअक्साइड उत्सर्जन शून्यमा झारे १.५ डिग्री तापमान वृद्धिबाट जोगिने सम्भावना ५० प्रतिशत रहने बताएका छन् ।
हाल विश्वमा चलिरहेका युद्धहरू र त्यसमा पनि युक्रेन युद्धको माहोलमा तापमान वृद्धिलाई १.५ डिग्रीमुनि राख्ने विषयमा आवश्यक विश्वव्यापी सहकार्यको बाटोमा अजङ्गको पहाड उभिएको जगजाहेर छ । २०२२ अप्रिल १ को ‘साइन्स’ को सम्पादकीय हेरौँ । त्यसको शीर्षक थियो, ‘जलवायु समस्या समाधान गर्न पहिले शान्ति हासिल गरौँ’ । त्यसमा विद्यमान अवरोधको चर्चा गरिएको थियो र संरा अमेरिका तथा चीनले जलवायु सुरक्षाको लक्ष्य प्राप्तिका निम्ति सहकार्य गर्नैपर्ने जिकिर गरिएको थियो । चीनको शान्ति प्रस्ताव पछ्याउँदै हामीले युक्रेन युद्धमा तत्काल युद्धविराम गर्नुपर्ने र संलग्न सम्पूर्ण पक्षहरूले सम्झौता गर्नुपर्ने आह्वानको पक्ष लिनुपर्छ । इरान र साउदी अरबजस्ता लामो समयदेखिका शत्रु देशबिचको सम्बन्धमा सुधार ल्याउने सफलता पाएपछि चीनले अहिले विश्वको नेतृत्वकारी शान्तिकामी शक्तिको रूपमा मान्यता पाएको छ । यी दुई देशबिच तनाव मत्थर भएपछि संरा अमेरिका र इजरायल चकित भएका छन् । यो परिवर्तनले गर्दा इरान र साउदी अरबका नागरिकहरूले आफ्नो दमनकारी सत्ताविरुद्ध प्रभावकारी सङ्घर्ष गर्ने मौका पाउने सम्भावना छ । कोइला र प्राकृतिक ग्यासले सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्छन् । परम्परागत इन्धनबाट अन्य जीवाश्म इन्धनको दाँजोमा थोरै हरितगृह ग्यास उत्सर्जन हुन्छ । त्यसैले परम्परागत इन्धन उत्पादन गर्ने सम्भावना बोकेका साउदी अरब, इरान र भेनेजुयलाजस्ता देशलाई हामीले आवश्यक तर न्यूनतम परम्परागत इन्धन उत्पादन गर्ने देशमा राख्नुपर्छ । ती देशले नै दक्षिणी गोलाद्र्धका देशहरूमा ऊर्जाको स्रोतको रूपमा भटाभट नवीकरणीय ऊर्जाको प्रविधि निर्माण गर्ने कार्यमा सघाउन सक्छन् । यसबिच जीवाश्म इन्धनको प्रयोगलाई छिटोभन्दा छिटो रोक्नुपर्छ । साथै इन्धन उत्पादनबाट आउने आयलाई दक्षिणी गोलाद्र्धका सरकारले आफ्नै जनताको जीवनस्तर उकास्न प्रयोग गर्नुपर्छ ।
मध्यपूर्वमा चीनले नवीकरणीय ऊर्जा रूपान्तरणलाई बढावा दिएर बढ्दो जलवायु खतराको सामना गर्ने कार्यको ऐतिहासिक नेतृत्व गर्न सक्छ । चीन हरित पुँजीको विश्व नेता हो । उसले नवीकरणीय ऊर्जाको आपूर्ति गर्दै आएको छ । यद्यपि, हरित पुँजीसँगै चिनियाँ अर्थतन्त्रमा जीवाश्म इन्धन आयात गर्ने र प्रयोग गर्ने शक्तिशाली उद्योगको पनि भरमार छ । साथै उसले सयौँको सङ्ख्यामा नयाँ आणविक भट्टीहरू निर्माण गर्ने महत्वाकाङ्क्षी योजनाहरू पनि अघि सार्दै छ । के चीनले नयाँ पर्यावरणीय सभ्यता साकार पार्ने घोषित लक्ष्य हासिल गर्न सक्ला ? विश्वव्यापी पर्यावरणमैत्री समाजवादको ढोका खोल्नुलाई उसले नयाँ पर्यावरणीय सभ्यता भनेको छ । चिनियाँ कामदार जनता र विश्वभरिका तिनका सहयोगीहरूको वर्गसङ्घर्षबाट मात्रै यो लक्ष्य हासिल हुनसक्छ । चीन कसरी जलवायु सुरक्षाको विश्व नेता बन्न सक्ला ? यसको लागि चीनले सयौँ आणविक भट्टी निर्माण गर्ने योजना रोक्नुपर्छ, कोइला प्रयोग बन्द गर्नुपर्छ र नवीकरणीय ऊर्जाको आपूर्ति तीव्र पार्नुपर्छ । नयाँ क्षेत्र तथा मार्ग अगुवाइ परियोजनाअन्तर्गत अफ्रिका र आसपासको भूभागमा विद्युत् आपूर्ति गर्न चीनले अरबी र सहारा मरुभूमिमा सौर्य ऊर्जा उत्पादन गर्न सक्छ । यस हिसाबले उसले विश्वलाई नै नवीकरणीय ऊर्जा उपलब्ध गराउन सक्छ । उसले ‘डीएसी’ प्रविधिमार्फत सिधै कार्बन डाइअक्साइड सङ्कलन गर्न सक्छ र ओमनको जमिनमुनि कार्बनलाई कार्बोनेटको रूपमा जम्मा गर्न सक्छ । कार्बोनेटको रूपमा कार्बनलाई सदाका लागि गाडेर कार्बन हटाउने प्रविधिलाई ‘डीएसी’ भनिन्छ । भविष्यमा यो प्रविधि अत्यावश्यक बन्नेछ । भोलिका दिनमा प्राकृतिक पारिस्थितिक प्रणालीहरू पुनः स्थापित गर्नुपर्ने हुन्छ । औद्योगिक कृषिलाई पारिस्थितिक प्रणालीअनुरूपको कृषिमा फेर्नुपर्ने हुन्छ । यसको लागि वायुमण्डलमा हुने कार्बन उत्सर्जनलाई ३५० पीपीएममुनि झार्नुपर्ने हुन्छ । यसले मात्र समुद्रलाई सन्तुलनमा राख्न सक्छ । (चाइना सोलर थर्मल एलायन्सले मरुभूमिमा केन्द्रीकृत सौर्य ऊर्जा निर्माण गर्न अगुवाइ गर्दै छ । विश्वभर ऊर्जा प्रवाह गर्न सहारा मरुभूमिको ११ भूभागमा परियोजना सञ्चालन गर्नुपर्छ । जलवायुसँग तादात्म्य राख्न थप ऊर्जा आवश्यक हुनसक्छ । यसको लागि अरबी मरुभूमिको पनि प्रयोग गर्न सकिन्छ ।)
विश्वव्यापीरूपमा भइरहेको जीवाश्म इन्धनको उपभोग नरोकिए र सँगै नवीकरणीय ऊर्जा आपूर्तिको लागि पर्याप्त निर्माण कार्य नभए तापमान वृद्धि १.५ डिग्रीमाथि जानेछ । मानव जातिको शत्रुको रूपमा रहेको सेनासँग साठगाँठ गरेको जीवाश्म पुँजी र त्यसको राजनीतिक हतियारलाई विश्वव्यापी जनआन्दोलनले पराजित गर्नुपर्छ । यो आन्दोलनको नेतृत्व कामदार जनता र आदिवासी समुदायजस्ता तिनका साथीहरूले गर्नुपर्छ । सेनासँग साठगाँठ गरेको जीवाश्म पुँजीलाई परास्त गर्न विश्वव्यापी ‘ग्रीन न्यू डील’ (जीएनडी) आवश्यक छ । जीएनडी प्रगतिशील, पर्यावरणमैत्री र समाजवादी चरित्रको हुनुपर्छ । सुरुको चरणमा हरित पुँजीलाई स्वागत गर्नुपर्छ । तर, हरित पुँजीले समस्या ल्याउन सक्छ किनभने यसको बेफाइदा पनि छ । हरित पुँजीले प्राकृतिक दोहनलाई बढावा दिन्छ । तसर्थ, विभिन्न जातिको वर्गसङ्घर्षले यी बेफाइदाहरू घटाउने हिसाबले हरित पुँजीको सामना गर्नुपर्छ । यो सङ्घर्षले प्रभावित जनताको हकअधिकारलाई पनि सम्मान गर्नुपर्छ । खासगरी दक्षिणी गोलाद्र्धका आदिवासी समुदायको अधिकारको सम्मान हुनुपर्छ । प्रकृतिको दोहनका नकारात्मक प्रभावहरू घटाउने विभिन्न उपाय छन् । खासगरी जीवाश्म इन्धन विस्थापित गर्ने नवीकरणीय ऊर्जाका पूर्वाधारहरू निर्माण गर्दा यसप्रकारका नकारात्मक प्रभाव देखिने गर्छन् । सेनासँग साठगाँठ गर्ने जीवाश्म पुँजीको पराजय र पर्यावरणमैत्री समाजवादको यात्राको निम्ति विश्वभरका जनता सशक्तरूपमा अघि बढ्नु अपरिहार्य छ । जलवायु सुरक्षाको निम्ति हुने सङ्घर्षको विश्व अगुवा भई उदाए चीनले विभिन्न जातिका कामदार वर्ग र तिनका मित्रहरूलाई प्रेरित गर्न सक्छ । विश्वव्यापी ‘जीएनडी’ लागू गर्ने उद्देश्यलाई साकार तुल्याउन सक्छ ।
केही दशकमै करोडौँ जनतालाई गरिबीको दलदलबाट बाहिर निकाल्ने भीमकाय उपलब्धि हासिल गर्ने चीनको सामथ्र्यलाई हामीले मान्यता दिनुपर्छ । उसले चिनियाँ जनताको सरदर आयु सन् २०२० मा विश्वमै ४५ औँ स्थानमा पु¥याएको छ । यो सूचकाङ्कमा संरा अमेरिका ५१ औँ स्थानमा छ भने क्युवा ४९ औँ स्थानमा छ । (कोभिड महामारीपछि चीन र क्युवा सरदर आयुको कोणबाट संरा अमेरिकाभन्दा माथि पुगेको स्पष्ट अनुमान गर्न सकिन्छ ।) त्यसैले कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले अबका केही दशकमा पर्यावरणमैत्री समाजवादको बाटोमा समग्र मानव जातिको नेतृत्व गर्न सक्ने बलिया आधारहरू छन् । तापमान वृद्धिलाई १.५ डिग्रीमुनि राख्न पर्यावरणमैत्री समाजवाद अपरिहार्य छ । साँच्चै भन्ने हो भने हाम्रो ग्रहका ८ अर्ब जनताको भाग्य अहिले चीनका मजदुर, किसान, वैज्ञानिक र इन्जिनियरहरूको हातमा छ ।
(एमआर अनलाइनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *