भर्खरै :

नेमकिपाका अध्यक्ष कामरेड रोहितको प्रवास जीवनः एक सङ्क्षिप्त अध्ययन – १

नेमकिपाका अध्यक्ष कामरेड रोहितको प्रवास जीवनः एक सङ्क्षिप्त अध्ययन – १

पृष्ठभूमि
२०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) भारत प्रवासमा जानुभएको ५ वर्षपछि नेमकिपाको स्थापना भएको हो । उहाँ निर्वासनमा हुनुहुँदा नै नेपालमा जनमतसङ्ग्रह घोषणा भयो । जनमतसङ्ग्रहको लागि सबै राजनीतिक कार्यकर्ताहरूलाई आममाफीको घोषणा भयो । आममाफीपछि अर्थात् पार्टी स्थापना भएको ५ वर्षपछि उहाँ नेपाल फर्किनुभयो । पार्टी स्थापना अघिपछि पाँच–पाँच वर्ष गरी उहाँले दस वर्ष निर्वासित जीवन बिताउनुभयो । प्रवासमा बितेका यी दस वर्ष उहाँको व्यक्तिगत जीवनको लागि मात्र होइन, नेपाल मजदुर किसान पार्टी र नेपालको कम्युनिस्ट आन्दोलनकै लागि चिरस्मरणीय र उच्च महत्वका वर्षहरू रहे । यस लेखमा नेमकिपाका अध्यक्ष कामरेड रोहितको प्रवास जीवन (वि.सं. २०२६ देखि २०३६ सम्म) बारे छलफल गर्ने कोसिस गरिएको छ । ‘मजदुर–किसान’ का विभिन्न अङ्कहरू र अन्य केही प्रकाशनको अध्ययन तथा सहयोगमा आधारित रहेर यो लेख तयार पारिएको हो । कामरेड रोहितको प्रवास जीवनको यो एउटा झलक मात्र हो भन्ने बुभ्mनुहुन पाठकहरूमा विनम्र अनुरोध छ । कुनै दिन विस्तृत रचना तयार हुने विश्वास छ ।

भारत निर्वासन
कामरेड रोहित सन् १९७० अर्थात २०२७ सालमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको नाताले पार्टी केन्द्रीय बैठकमा भाग लिन वनारस जानुभयो । पार्टी बैठकले उहाँलाई बाग्मती, नारायणी र जनकपुर अञ्चलको जिम्मा दियो । केन्द्रीय समितिले उहाँ भारतको दरभङ्गामा बसी काम गर्ने निर्णय ग¥यो । दरभङ्गाको पार्टी अफिस सम्हाल्नुभयो । दरभङ्गामा पहिला एकदेव आले र हिक्मत सिंहले काम गरेका थिए । एकदेव आले बितिसकेका थिए । हिक्मत सिंह काठमाडौँ आउने तरखरमा थिए । केशरमणि पोखरेललाई केन्द्रीय समितिले काठमाडौँ पठायो । बनारसपछि पूर्वमा पार्टी सङ्गठन विस्तार गर्न उहाँ दरभङ्गामा खटिनुभयो । यता का. रोहितको परिवारलाई भने पटक्कै जानकारी थिएन ।
पुष्पलालसँग उहाँको सम्बन्ध राम्रै थियो । हेडक्वार्टरमा रहेका सबै व्यक्तिहरूसँग उहाँको परिचय भइसकेको थिएन । भूमिगत कालमा को आफ्नो हो, को शत्रुको मानिस हो भन्ने थाहा पाउन सजिलो थिएन ।
कामरेड रोहितले तीनवटै अञ्चलमा किसान आन्दोलनलाई पुनर्जागृत गर्ने योजना बनाई बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही र सप्तरीका पुराना किसान कार्यकर्ता र पार्टीका पुराना नेताहरूसँग भेटघाट, छलफल र बैठकहरू सुरु गर्नुभयो । उहाँ २००८ सालदेखि २०१२–१३ सालसम्मको किसान आन्दोलनको सिंहावलोकन गर्ने काममा लाग्नुभयो, पुराना किसान कार्यकर्ताहरूको सांस्कृतिक तथा सैद्धान्तिक स्तरलाई विकास गर्नुपर्ने आवश्यकता अनुभव गर्नुभयो । ती विषयहरूको साहित्य हुनुपर्ने अनुभव गर्नुभयो । ‘जनताको साहित्य’, ‘किसान सङ्घर्ष’, बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली क्रान्ति, पेरिस कम्युन र रुसको अक्टोबर क्रान्तिबारे साहित्यहरूको प्रकाशनमा उहाँ लाग्नुभयो । त्यस्तै हिन्दी भाषामा ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’ र ‘नेपाल तराई’ जस्ता सामयिक पत्रिकाहरू प्रकाशनमा लाग्नुभयो । हिन्दीमा पत्रिका प्रकाशन गर्नुको मुख्य कारण नेपालको तराई र भारतमा बसेका नेपालीहरूलाई सुशिक्षित बनाउँदै सङ्गठन गर्नु थियो ।
पार्टी केन्द्र वनारसमा र उहाँ नेपालभित्र रहँदा पार्टीभित्र अनेक सैद्धान्तिक तथा राजनीतिक दृष्टिकोणमा भिन्नताहरू देखापरे । यसकारण, पार्टी केन्द्रले उहाँलाई प्रवासमै काम गराउने निधो ग¥यो । वनारस, गोरखपुर, फारमेशगंज बस्दा उहाँको प्रवासमा काम गर्ने शैली विकास भइसकेको थिएन । दरभङ्गामा बस्दा नेपालका विभिन्न अञ्चलका साथीहरूसँगको सम्पर्क र सम्बन्ध बढ्दै गयो । जिल्लाजिल्लाका साथीहरूको कक्षा सञ्चालन दरभङ्गामा हुन थाल्यो । कक्षामा बसेका साथीहरू त्यहाँबाट फर्केर आ–आफ्नो जिल्लामा काम गर्थे ।
बिहान ८ बजेदेखि कक्षा सञ्चालन हुन्थ्यो । १२–१ बजे खानापछि पुनः कक्षा सञ्चालन वा लेखपढ सुरु हुन्थ्यो । राति खानापछि युवाहरूबिच छलफल, वादविवाद, स्वतन्त्र भाषण र साहित्य गोष्ठीहरू हुन्थे । साथीहरूको बिचमा पालैपालो चिया र भात पकाउने जिम्मा हुन्थ्यो । नेपालबाटै साथीहरूले चामल, आलु र गुन्द्रुक वा अन्य खानेकुरा ल्याउँथे । रेल र रिक्साको भाडाको निम्ति मात्रै पैसा लिएर आउँथे ।
साथीहरू नहुँदा का. रोहित बिहान ७ बजे पुस्तकालय पुग्नुहुन्थ्यो । १० बजे डेरामा फर्केर भात पकाउनुहुन्थ्यो† १२ बजेतिर चुलोको काम सिध्याएर लेखपढ गर्नुहुन्थ्यो । साँझ ५–६ बजे उहाँ पुनः पुस्तकालय जानुहुन्थ्यो र ८ बजेतिर डेरामा पुगी भात पकाई ९ बजेतिर चुलोको काम सिध्याई पुनः लेखपढमा लाग्नुहुन्थ्यो ।
कहिलेकाहीँ जीवन, गोपाल र शर्माहरू हुँदा कार्यविभाजन गरी काम गर्नुहुन्थ्यो । डेरा बहाल, अखबार, औषधि, चिया वा अतिथि सत्कार र खानाको निम्ति एकजनालाई महिनामा जम्मा ८० रूपैयाँ प्रतिव्यक्ति खर्च हुन्थ्यो । एक्लै हुँदा मट्टीतेलको बत्तीको चुलो (स्टोभ) ले काम लिनुहुन्थ्यो र साथीहरू हुँदा कोइला बाल्नुहुन्थ्यो ।
बिहान दूध नभएको चिया र २ टुक्रा पाउरोटी वा एक दुइटा सुख्खा रोटी खानुहुन्थ्यो । कहिलेकाहीँ त्यो पनि हुन्नथ्यो । उसिना चामल, दाल र तरकारीमध्ये एउटैले काम चलाउनुहुन्थ्यो । साथीहरू नेपालबाट आउँदा महिनामा वा कहिलेकाहीँ मासु र माछा खानुहुन्थ्यो । बुद्धिजीवी साथीहरू पुग्दा दूध भएको चिया र मिठाइसमेत हात लाग्थ्यो वा भोजजस्तै हुन्थ्यो । तर, उहाँको ध्यान काममा हुन्थ्यो । बजार जाने, प्रेस जाने र भात पकाउने काम विभाजन गरिएको हुन्थ्यो । प्रवास जीवनमा एक्लो हुँदा सबै काम आ–आफैँले गर्नु स्वाभाविक थियो ।
सङ्गठन विस्तार हुँदै गएपछि सगरमाथा र जनकपुर अञ्चलबाट चामल आउन थाल्यो । चितवनबाट आलु, गुन्द्रुक र मासुसमेत बेलामौकामा साथीहरूले ल्याउँथे । भेरी र कर्णालीका साथीहरू आएपछि कक्षा सञ्चालन अलि बढी हुन्थे ।
पार्टी २०१७ सालपछि राजावादी र गणतन्त्रवादीमा विभाजित भइसकेको थियो । तत्कालीन बहुमत केन्द्रीय सदस्यहरू महासचिव डा. केशरजङ रायमाझीका समर्थक थिए । डा. माझी राजावादी थिए । पुष्पलाल र अन्य साथीहरू गणतन्त्रवादी थिए । सबै कम्युनिस्टहरू एक भएको भए वा भारत नपुगेका भए नेपाली राजा सिंहानोक बन्थे र नेपाली काङ्ग्रेस सम्भवतः एक्लो हुन्थ्यो ।
का. रोहित वनारस पुग्दा प्रवासमा पनि पुष्पलाल र तुल्सीलाल अलग्ग भइसकेका थिए । पूर्व कोसी भनेर भरतमोहन अधिकारी र कमल कोइरालाहरू अलग्ग भइसकेका थिए । मोहनविक्रम सिंह र निर्मल लामा, शम्भुराम र मनमोहन आदि जेलमा थिए ।
२–४ पटक डेरामा प्रहरीले घेरा हाली खानतलासी लिँदा भारतमा नेपाली कम्युनिस्ट किन पसेको भनी धम्काउँथे । उहाँको उत्तर हुन्थ्यो, “पुष्पलालजीलाई भारतले नै बोलाएको हो । भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूले पनि सहयोग गरेका थिए । जयप्रकाश नारायण र अन्य नेताहरू पनि नेपालमा शरण लिन्थे । ताली एक हातले बज्दैन । नेपाली र भारतीय जनताको सम्बन्ध इतिहासभन्दा पनि पुरानो छ ।”
जयप्रकाश नारायणको इन्दिरा गान्धी सरकारविरोधी आन्दोलनताका केही भारतीय युवा–विद्यार्थी का. रोहितसँग फासीवाद र नाजीवादको विषयमा छलफल गर्न आउँथे । कहीँकतै संयोगले नक्सलवाडी आन्दोलनका कार्यकर्ताहरूसँग पनि भेट हुन्थ्यो । भारत सरकारको निगरानी बढ्दै गयो ।
गोरखपुरमा गोली लागी घाइते भएर अस्पतालमा रहँदा का. रोहितलाई ‘हतियार व्यापारी’, ‘बम बनाउने’, ‘तस्कर’ आदि लाञ्छना लगाइएको थियो । उहाँसँग यस्ता धेरै तीतामीठा अनुभव छन् । तर, कामदार जनता र बुद्धिजीवी साथीहरूसँग राम्रै समझदारी थियो ।
प्रवासमा पार्टीका विभिन्न जिल्लाका बैठकहरू, कक्षा सञ्चालन, पर्चा, साहित्य र पार्टी प्रकाशन, भेटघाट, सानातिना सभाहरू आदि हुन्थे ।

निर्वासनबाट फर्केपछिको जनसभामा सम्बोधन गर्दै अध्यक्ष रोहित

का. रोहित भारत निर्वासनमा रहँदा केही भारतीय बुद्धिजीवी र साहित्यप्रेमीहरूसँग विविध विषयमा विचारको आदानप्रदान हुन्थ्यो । अहिलेसम्म उहाँलाई ती मित्रहरूको सम्झना छ । एक दुई जना मित्रहरू पछि नेपालमा आए । नेपाल र नेपाली जनताप्रति सद्भाव राख्ने मित्रहरूलाई उहाँ झल्झली सम्झिरहनुहुन्छ ।
नेमकिपाका कार्यकर्ताहरूलाई भारतीय सरकारी नेताहरूसँग भेट्ने विषयमा उहाँ उत्साहित गर्नुहुन्थेन । पार्टीलाई नसोधी भारतीय मन्त्रीहरू भेट्ने कार्यकर्तालाई आलोचनासमेत गर्नुभएको थियो ।
प्रवासमा पुष्पलाल र शम्भुरामसँगको भेटघाट अनि पुष्पलाल र मनमोहनबिच वार्ता र छलफल हुँदा उहाँ स्वयम् दरभङ्गाको कोठामा हुनुहुन्थ्यो । शम्भुरामले चीन र भारतलाई ऐतिहासिक समयको एउटा धरातलमा राखेर हेर्थे । मनमोहन पूरै भारतविरोधी र नेपाली काङ्ग्रेसविरोधी देखिन्थे । त्यसबेला पीएलको नीतिलाई मनमोहनले कटुआलोचना गरेका थिए । २०३६ सालको आन्दोलनपछि भने मनमोहनजी बिनाआत्मालोचना पूरै पुष्पलालको नीतिमा पुगे । मनमोहन एमालेबाट प्रधानमन्त्री पनि बने । यस अर्थमा पुष्पलाल आफ्नो विचारमा दृढ रहन्थे भने मनमोहन नीतिमा होइन, बरु आफ्नो स्थितिमा ध्यान दिन्थे र लचकता खोज्थे भन्ने पुष्टि हुन्छ ।
पुष्पलाल र मनमोहनजीको भेटघाट हुँदा डीपी अधिकारी अर्को कोठामा थिए । डीपीसँग पनि उहाँको साहित्यबारे छलफल भयो । प्रवासबाट फर्केपछि डीपी अधिकारी मन्त्री भए ।
राज्यस्तर र स्थानीय स्तरका भारतीय राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूका नेता कार्यकर्ताहरूसँग कहिलेकाहीँ कामरेड रोहितको व्यक्तिगतस्तरमा भेटघाट र कुराकानी हुन्थ्यो । पार्टीकै प्रतिनिधिको रूपमा कुरा गर्ने प्रस्ताव आउँदा उहाँ हेडक्वार्टर वनारस र पुष्पलालसँगै कुराकानी गर्न उपयुक्त हुने उत्तर दिनुहुन्थ्यो । एकपटक कसिया या सारनाथमा भगत सिंह समूहका एक क्रान्तिकारी र बेगुसरायमा आजाद भनिने एक ज्येष्ठ क्रान्तिकारीसँग भेट भएको थियो । भेटमा भारतीय नक्सलवाडी आन्दोलन, चारु मजुम्दारको नीति, भारत–चीन सीमा भिडन्त, भारतीय कम्युनिस्ट पार्टी र स्तालिन, रुसको नयाँ आर्थिक नीति, भाकपा (माक्र्सवादी) आदिबारे पनि छलफल भएको थियो ।
नेपाल मजदुर किसान पार्टी पहिले केन्द्रीय समिति, अनि अञ्चल र जिल्ला समिति तथा नगर एवम् गाउँ समितिहरू बनाई स्थापना गरिएको राजनीतिक पार्टी होइन । विभिन्न गाउँ एवम् नगर र जिल्लादेखि अञ्चलमा समेत सङ्गठन निर्माण भएपछि मात्रै नेमकिपा स्थापना भएको थियो । नेमकिपाको औपचारिक घोषणा मात्रै प्रवासमा भएको थियो । नेमकिपा स्थापनाको सोच, सङ्गठन र गतिविधि सबै देशभित्रबाट सुरु भएको हो । तसर्थ, नेमकिपाको स्थापनामा बाहिरको वा भारतको प्रभाव परेको थिएन । त्यसका केही कारणहरू छन् – क) २०१५–१६ सालदेखि नेपाल कम्युनिस्ट पार्टीभित्र मुख्य दुश्मन भारतीय एकाधिकार पुँजी हो वा राजतन्त्र हो भन्ने छलफल चलिसकेको थियो । ख) असमान सन्धिहरूको कारण भारतीय शासक वर्गमा बेलायती भारतको सिलसिला कायम रहेको नेपालीहरू अनुभव गर्थे ।
नेमकिपाले अत्यन्त प्रतिकूल स्थितिमै पार्टी स्थापनाको घोषणा गर्नु उचित देख्यो । कम्युनिस्ट पार्टी (वनारस) र अन्य कम्युनिस्ट घटकहरूबिच सैद्धान्तिक स्पष्टताको निम्ति नेमकिपाले आफ्नो घोषणाद्वारा नेपालको कम्युनिस्ट आन्दोलनमा व्यक्तिगत विवादभन्दा माथि सैद्धान्तिक सङ्घर्षको लागि नयाँ ढोका खोल्यो । नेमकिपाको स्थापनाभन्दा पहिले नेपाली कम्युनिस्ट आन्दोलन ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ र भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरुद्ध प्रस्ट छलफलमा केन्द्रित थिएन । साथै हिन्द–चीन तथा संसारमा अमेरिकी साम्राज्यवादले गरेको ज्यादतीको विरोधमा प्रस्ट बोल्न सकेको थिएन ।
विभिन्न देशका कम्युनिस्ट आन्दोलनका अप्रत्यक्ष अनुभव र आफ्नै देशको किसान आन्दोलन अनि कम्युनिस्ट आन्दोलनका स्तरहीन र व्यक्तिकेन्द्रित आलोचना छोडी सैद्धान्तिक सङ्घर्षमा उहाँले आफूलाई होम्नुभयो । परिस्थिति र सङ्घर्षले का. रोहितलाई अझ अध्ययनशील, संयमी तथा कामदार जनताको सेवामा समर्पित हुने हौसला प्रदान ग¥यो ।
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावनाले नै नेपालका अन्य पुँजीवादी सरकारी ‘कम्युनिस्ट’ पार्टीहरूसँग नेमकिपालाई छुट्याउन सक्ने बनायो । पुँजीवादी शासक ‘कम्युनिस्ट’ हरूले नेमकिपाको बदनाम गर्ने असफल प्रयत्न गरे । सङ्गठनहरू फोड्ने र टुक्र्याउने अपराधहरू गरे । ‘मित्र’ को नाममा पछाडिबाट छुरा हान्ने सबै दुश्कर्महरू ती शासक ‘कम्युनिस्ट’ हरूले गरे । यस्ता अनेक बाधाविरोध र जालसाजीले उहाँको सङ्घर्ष गर्ने मनोबललाई झन् बलियो बनायो । समय र उमेरले देश र जनताप्रति समर्पित हुने उहाँको विश्वास बढाउँदै लग्यो । प्रतिकूल स्थितिसँग जुझ्दै जाने उत्साह थपिँदै गयो । मुखले एउटा कुरा र कामले अर्को गर्ने पाखण्डी ‘कम्युनिस्ट’ हरूको प्रपञ्च र विश्वासघातले उहाँमा तिनीहरूप्रति घृणा बढायो । यसकारण, उहाँमा तिनीहरूबारे कुनै भ्रम थिएन ।
जिल्ला–जिल्लाबाट साथीहरू आइपुग्दा का. रोहितलाई अलि खानपिनको लागि सजिलो हुन्थ्यो । वर्षा, बाढी वा अन्य कारणले साथीहरू समयमा नपुग्दा गा¥हो हुनु स्वाभाविक थियो । प्रवास बसाइँको सुरुसुरुमा मानिस नचिन्दा र त्यहाँको वातावरण थाहा नपाउँदा अनेक समस्या झेल्नुभयो । कहिलेकाहीँ अरू जिल्लाबाट बिरामी साथीलाई खाली हात पठाइन्थ्यो । चामल, दाल र आलु सकिसकेको हुन्थ्यो । चिनी र सतुवाको भरमा काम गर्नुपथ्र्यो । चिनी पनि नहुँदा नुन र सतुवा खानुपथ्र्यो । एक साल ठूलो बाढी आयो । दरभङ्गा नगरमा डुङ्गा चल्यो । डेरामा खानेकुरा थिएन । पैसा पनि थिएन । बेखर्ची हुँदा कहिलेकाहीँ १÷२ दिन १÷२ दिन मेडिकल कलेजमा गई नेपाली विद्यार्थीहरूसँगै बस्नुहुन्थ्यो । तर, बाढीको बेला एक जना अर्को बिरामी साथी पनि थियो । बाढी पीडितलाई रोटी र तरकारी वितरण गरेको लाममा उहाँ घुँडासम्म पाइन्ट पट्याइ उभिनुभयो । दानको रोटी र तरकारी खाँदा साथी र का. रोहित अस्वस्थ हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *