जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
एकचोटि एक व्यक्तिलाई ‘जोगाउनुपर्ने साथी’ भनी साथीहरूले पठाए । उनले आफ्नो नाम ‘रमेश’ बताए । त्यसबेला रोहित आपैmँ एउटा परिवारकहाँ ‘पेइङ्ग गेस्ट’ को रूपमा महिनावारी पैसा तिरी बिहान ३ वटा र राति ३ वटा स–साना रोटी र दाल खाने गर्नुहुन्थ्यो । उहाँले डेरामै रोटी ल्याएर बिहान बेलुका खान थाल्नुभयो । त्यो साथीको जीउ का. रोहितको भन्दा अग्लाइ र मोटाइमा ठूलै थियो । २÷२ वटा रोटी दुवैलाई आधा पेट भयो । एकजना चिनेको नेपाली डाक्टरलाई भनेर अस्पतालमा ‘फूलडाइट’ दिने गरी उनलाई अस्पताल भर्ना गर्नुभयो । साथीले २÷३ दिनपछि असजिलो माने । पिछा गरेको शङ्का गरे । साथीलाई फेरि डेरामा ल्याउनु भयो । डेरामा फुटेको पैसा थिएन । यसकारण, उनलाई धर्मशालामा राख्ने विचार गर्नुभयो । गुण्टा र सामान नहुँदा, पैसा पनि नहुँदा धर्मशालाले राख्न मानेन । डेरामा फर्केर जनकपुरका एकजना नेपाली विद्यार्थीकहाँ राख्नुभयो । दरभङ्गा राजदरबारको एक छेउ एउटा ठूलो रुख र झारपात भएको, प्रहरीको आँखा नलाग्ने डेरामा पठाउनुभयो । केही दिनपछि उनलाई लिन पत्रसहित ‘मेरो कामरेड खोइ’ भन्दै एक युवक आए । का. रोहितले नयाँ युवकलाई साँझ आउने सल्लाह दिनुभयो । रमेशले ‘उहाँ हाम्रो इन्चार्ज र त्यो घटना (धर्मप्रसाद ढकाल घटना) का उहाँ नै हाम्रो इन्चार्ज’ भनी परिचय गरायो । रमेश भन्ने साथी मोहनचन्द्र अधिकारी र पछि आउने इन्चार्ज एमालेका अध्यक्ष तथा पूर्वप्रम के. पी. ओली थिए । ती दुवै फर्केको केही दिनपछि रौतहटमा मोहनचन्द्र अधिकारी पक्राउ परेको समाचार अखबारमा छापियो ।
का. रोहित बिरामी साथीहरूको उपचार तथा खानाको निम्ति ‘जनताको साहित्य’ नेपाली विद्यार्थी र अरू पाठकहरूलाई बेचेर काम चलाउनुहुन्थ्यो । उहाँलाई कोहीकोही गोर्खाली सिपाही भन्ठानी नमस्ते गर्थे भने दैनिक पुस्तकालय जाने हुँदा कसैकसैले कुनै विश्वविद्यालयका शोधकर्ता सम्झन्थे । उहाँ ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ समझदारी पत्र लेख्दै हुनुहुन्थ्यो ।
दरभङ्गाबाटै नेमकिपाका प्रकाशन, पत्रिका र पर्चाहरू पूर्वदेखि पश्चिम नेपाल र भारतमा बसेका विभिन्न ठाउँका नेपाली साथीहरूलाई हुलाकबाट पठाइन्थे । त्यसबाट अलिअलि पैसा उठ्थ्यो । पार्टी एकताको नाममा केही घटकहरूले का. रोहितलाई ‘मजदुर–किसान’ प्रकाशित गर्न जिम्मा दिए । उहाँले लेखहरू लेख्नुभयो, पत्रिका छाप्नुभयो र ठाउँ–ठाउँमा पु¥याउने काम गर्नुभयो । तर, ती पत्रिकाहरू तल्लो समितिहरूमा पु¥याइँदैनथे । पैसा पनि उठाइन्नथ्यो, तिनीहरू नेमकिपालाई आलोचना गर्ने निहुँ खोज्दै थिए । आर्थिकरूपले सङ्कटमै पु¥याउन चाहन्थे ।

प्रवास जीवनको क्रममा अध्ययन र लेखन गर्दै अध्यक्ष रोहित
नेमकिपाले एकातिर वर्गशत्रु र विदेशी तत्वहरूसँग सङ्घर्ष गर्नुपर्दथ्यो भने अर्कोतिर ‘कम्युनिस्ट’ भन्नेहरूसँगै बढी सङ्घर्ष गर्नुपर्दथ्यो । सङ्गठ(नात्मक क्षतिहरू भोग्नुपर्दथ्यो । केही ‘कम्युनिस्ट’ भन्नेहरू उहाँलाई पञ्चायतसँग आत्मसमर्पण गराउने परिस्थिति बुन्न असफल प्रयास गर्थे । अन्तमा, उहाँ सुतिरहँदा उहाँमाथि शारीरिकरूपमै हमला भयो ।
प्रवासको कष्टकर जीवनबाट का. रोहित जिउँदो नेपाल फर्कन सक्ने हो कि होइन भन्ने प्रश्न उठिरहन्थ्यो । झुक्ने वा आत्मसमर्पण गर्ने विचार कहिल्यै उहाँको मनमा लिनु हुन्नथ्यो । विभिन्न प्रकारका सङ्घर्ष, कानुनी र गैरकानुनी सङ्घर्षकै निम्ति उहाँ सङ्गठन निर्माणमा लागिरहनु हुन्थ्यो । त्यो प्रवासको जीवन र सङ्घर्ष कष्टकर जरुर थियो तर गौरवपूर्ण थियो । एक क्षण, हरेक दिन र हरेक रात कामदार जनताको प्रजातन्त्र र देशको हितबारे उहाँहरू सचेत हुनुहुन्थ्यो । अत्यन्त बहुमत साथीहरू बिना कुनै व्यक्तिगत स्वार्थ पार्टीमा समर्पित थिए । नेपाल र भारतको सीमा ठोरीको जङ्गलमा डाँकाहरूसँगको मुठभेडमा होस् वा सीमाका अनेक चौकीमा गरिने पक्राउ र दिइने यातना अनि कारागारको अँध्यारो कोठा होस् उहाँका सबै साथीहरू कोही पनि विचलित भएनन् । ती सबै आफ्नो विचारमा अडिग थिए । आफ्नो सिद्धान्तप्रति समर्पित थिए । हिजोआज तीमध्ये कतिपय साथीहरूको उमेर ७०–८० वर्ष नाघिसकेको छ । आजपनि ती सबैमा काम गर्ने भावना यथावत छ, शारीरिकरूपमा भने कतिपय कमजोर भइसकेका छन् । सङ्घर्षका ती दिनहरूबारे कसैलाई कुनै गुनासो र पश्चाताप छैन । किनभने आफूहरूले रोजेको बाटो सजिलो हुन्न भन्ने उहाँहरूलाई थाहा थियो । शारीरिक कष्ट व्यहोर्नु सजिलो हुन्थ्यो । तर, ‘रातो झन्डाको विरोध गर्न रातो झन्डा हल्लाउनेहरू’ ले दिने आकस्मिक वैचारिक प्रहार, बेइमानी, झूट र षड्यन्त्रको परिणाम बढी पीडादायक हुन्थ्यो । आज पनि ती नक्कली कम्युनिस्ट वा सरकारी ‘कम्युनिस्ट’ हरू केही सत्ताको नेतृत्वमै छन् । का. रोहित र साथीहरूको अगाडि ती कम्युनिस्ट नाउँका शत्रुहरू सधैँ शिर निहुराउन बाध्य छन् र भए । त्यस्ता विश्वासघाती र शत्रुहरूबाट का. रोहित पराजित हुनुभएन । उहाँहरू सिद्धान्त र निःस्वार्थरूपले जनताको सेवा गर्ने बाटोमा चटानजस्तै अडिग रहनुभयो । त्यसैमा उहाँहरू गर्व गर्नुहुन्छ ।
पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्मका युवा, विद्यार्थी, किसान, मजदुर र शिक्षकहरूलाई नेमकिपाको सम्पर्कमा ल्याई देशव्यापी सङ्गठन विस्तार तथा पार्टीमा आबद्ध गराउन सफल हुनुभयो । त्यसबेला आजजस्तो पूर्वपश्चिम राजमार्ग, अन्य राजमार्ग र हवाईसेवाको विस्तार भइसकेको थिएन । भेरी र कर्णालीका अनेक दुर्गम गाउँहरूमा समेत नेमकिपाका साथीहरू ज्यान हत्केलामा राखेर पार्टीका साहित्य र झण्डा लिएर पुग्थे । ‘गुमाउन आफूहरूसँग बाँधिएको सिक्रीबाहेक केही पनि छैन र आफूहरूले संसारै पाउने छौँ’ भन्ने उत्साह लिएर साथीहरू खटिन्थे । त्यो जीवन नै सुखद् जीवन थियो, किनभने त्यो निःस्वार्थ सेवा र समर्पणको जीवन थियो । देशका विभिन्न जिल्ला र गाउँमा गएर पिछडिएका कामदार जनतालाई सचेत र सङ्घर्षशील बनाउन सक्नु नै नेमकिपाको उपलब्धि हो । नेपालको कम्युनिस्ट आन्दोलनमा सिद्धान्त र व्यवहारमा स्पष्टता र स्वच्छता कायम गर्न सक्नु नै नेमकिपाको उपलब्धि हो । सिद्धान्तप्रतिको समर्पण अनि नैतिक मूल्य र मान्यता नै नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको पृथक परिचय हो ।
प्रवास जीवनमा निश्चय पनि का. रोहित विदेशी भूमिमा हुनुहुन्थ्यो तर उहाँको मन र मस्तिष्क सधैँ देशभित्रै हुन्थ्यो । मजदुर र किसान उहाँहरूको आकाश र धर्तीजस्तै थियो । केही साथीहरू २÷४ महिना, २÷४ महिनाको निम्ति पालैपालो सन्देश, समाचार र प्रतिवेदनहरू लिएर प्रवासमा पुग्नुहुन्थ्यो । केही साथीहरू जिल्लाजिल्लाबाट तोकिएको समयमा राजनीतिक कक्षामा पुग्नुहुन्थ्योे । ती दिनहरू अत्यन्त व्यस्त र उँचो विचारबाट प्रेरित थिए । ती दिनहरूको सम्झना हुँदा उहाँ आज पनि ताजा घटनाजस्तो अनुभव गर्नुहुन्छ ।
पार्टीका साथीहरू अति सक्रिय थिए । पार्टीका साथीहरू कठिनाइ र थकाइ अनुभव गर्नु हुन्नथ्यो । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने उद्देश्यले नै साथीहरू गतिविधि र आन्दोलनमा होमिनु हुन्थ्यो, जनतासँग एकाकार हुनुहुन्थ्यो । सिद्धान्त र नेतृत्वप्रति कार्यकर्ताको विश्वासले नै ती सबै कठिन तथा प्रतिकूल परिस्थितिमा पनि महत्वपूर्ण गतिविधि र आन्दोलनहरू सम्भव भएको थियो ।
२०३६ सालपछि मात्रै गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग उहाँको भेटघाट र छलफल हुन थाल्यो । पुष्पलाललाई भेट्न आउने, गणेशमानजीको सन्देश लिएर आउने पीएल सिंह, प्रदीप गिरीका बहिनी र अन्य साथीहरू आदिसँग बनारसमा उहाँको भेट हुन्थ्यो । धेरैलाई अहिले उहाँ चिन्नु हुन्न र नाम पनि बिर्सनुभयो । दरभङ्गामा बस्दा गजेन्द्र नारायण सिंहसँग बरोबर भेट भइरहन्थ्यो । पछि जगन्नाथ आचार्य, हरिहर बिरही आदिसँग पनि भेटघाट भएको थियो । सरोज कोइराला उहाँको डेरामा पुगेका थिए । तर पनि सरोज कोइरालासँग प्रत्यक्ष परिचय हुन पाएन । का. रोहित मधुवनीमा छात्रावासका विद्यार्थीहरूसँग भेटघाट र छलफल गरी दरभङ्गा फर्कन रेलमा बस्नुभएको थियो – कोइरालाको हत्या भएको खबर सुन्नुभयो । नेपालका शीर्ष नेताहरूमा टङ्कप्रसाद आचार्यसँग बनारसको पार्टी कार्यालयमै भेट भएको थियो । पुष्पलालको भारतीय कम्युनिस्ट नेताहरूसँग भेटघाट धेरैजसो दिल्ली र कलकत्तामा हुने जानकारी थियो । उहाँ त्यसमा सहभागी हुनुभएन ।

०३६ सालको जनमतसङ्ग्रह अगाडिको जनसभा
सानोमा गौरमा बसेको र हिन्दी पढेको हुनाले उहाँलाई भोजपुरी र हिन्दी भाषाको समस्या थिएन । सङ्गठन नभएको ठाउँमा काम गर्नुपर्दा एक्लिएको अनुभव गर्नुभएको थियो । नेपालीहरूबिच सङ्गठन गर्ने स्थिति थिएन । मेडिकल कलेजका नेपाली विद्यार्थीबाट त्यहाँ पुग्ने साथीहरूलाई सहयोग गर्नुहुन्थ्यो । आर्थिक कठिनाइले भोकभोकै बस्नुपर्ने स्थिति आउँथ्यो । एक पटक डा. विश्वनाथ सिंहले स्वास्थ्य परीक्षण गरे । ‘खाना पनि खाएनौ कि क्या हो ?’ भनी एउटा इन्जेक्सन लगाइदिएः दिनभर आराम गर्नु भने । त्यहाँ बस्ने कम्पाउन्डर राजेन्द्रले रिक्सावालालाई डेरासम्म पु¥याइदिनु भने । राति बिउँझँदा डेरामा नेपालबाट साथीहरू पुगिसकेका थिए । साथीहरू आपैmँ सामल र खर्च लिएर आउँथे । खाली रेल र गाडी भाडाको निम्ति पैसा बोक्थे । विभिन्न जिल्लाका साथीहरूलाई फरक–फरक जिल्लामा पठाउनुहुन्थ्यो । कक्षा सञ्चालन पनि ठाउँठाउँ र जिल्लाजिल्लामा हुन्थे । साथीहरू सङ्गठन गर्न ती ठाउँमा पुग्थे ।
भारतमा नक्सलवाडी आन्दोलन शिखरमा पुगेको थियो । चारु मजुम्दार पक्राउ परे । उनको मृत्युपछि त्यो आन्दोलनमा अनेक हाँगाबिँगा देखिए । त्यसको प्रभाव नेपालको झापा र झापा आन्दोलनमा परेको थियो ।
सन् १९७५ पछि पीएलको केन्द्रीय समितिसँग कामरेड रोहित अलग हुनुभयो र नेमकिपा स्थापना गर्नुभयो । ‘रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन’, भारतीय एकाधिकार पुँजी, पूर्वी पाकिस्तानमाथि भारतीय हस्तक्षेप, नेपाल कम्युनिस्ट पार्टीको स्वतन्त्र भूमिका आदिबारे उहाँहरूबिच मतभेद थियो । पार्टीमा आफ्नो ठम्याइ प्रस्ट पार्न नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल भारत सम्बन्ध र भारत आदि पुस्तकहरू लेखेर दिनुभयो । कामरेड रोहित मजदुर र किसान आन्दोलनको पक्षमा हुनुहुन्थ्यो ।
नेपाल मजदुर किसान पार्टीको स्थापना गर्दा रोहित ३४÷३५ वर्षको हुनुहुन्थ्यो । त्यो उमेर सानो भन्न मिल्दैन । ३०–३५ वर्षको उमेरमा संसारका नेता–कार्यकर्ता, दार्शनिक, विचारक र वैज्ञानिकहरूले आ–आफ्ना जीवनका महत्वपूर्ण काम गरिसकेको देखिन्छ । यस अर्थमा उहाँलाई हिजोको आफ्नो उद्देश्य र दृष्टिकोण आज न नौलो लाग्छ न त पुरानै लाग्छ । समयको माग र आवश्यकताअनुसार नै नेमकिपा स्थापना भएको उहाँ अनुभव गर्नुहुन्छ । पार्टी स्थापना गर्दा तीन अञ्चलका मात्र प्रतिनिधिहरू उपस्थित थिए । आज नेमकिपामा पूर्वदेखि पश्चिमसम्मका युवा विद्यार्थी, किसान–मजदुर, बुद्धिजीवी, कर्मचारी आदि सम्पर्क र सङ्गठनमा आबद्ध छन् । सैद्धान्तिक विश्वासघातको विरोधमा नेमकिपाले सफलतापूर्वक वैचारिक सङ्घर्षलाई अगाडि बढाउँदै छ ।
नेमकिपाको स्थापना नभएको भए ‘कम्युनिस्ट’ भनिएका सबै पार्टीहरू हिजै पुँजीवादी दलमा पतन भएको सत्य बुझ्नसमेत कामदार जनतालाई गाह्रो हुने थियो । देशमा दुई वा तीन पार्टी तानाशाही, पुँजीवादी प्रजातन्त्र, ‘जनताको बहुदलीय जनवाद’, संशोधनवाद, सुधारवाद र अराजकतावादको खण्डन हुने थिएन । उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने, क्रान्तिकारी भूमिसुधार, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, कामदारवर्गको हुकुमजस्ता समाजवादी सिद्धान्तबाट जनता टाढै रहन्थे । कम्युनिस्ट विचारको प्रचार पछि पथ्र्यो । ती पुँजीवादी ‘कम्युनिस्ट’ पार्टीहरूले कामदार जनता र पार्टी कार्यकर्ताहरूलाई योग्यताअनुसारको काम र आवश्यकताअनुसार वितरण हुने, किसान र मजदुरको भेद हट्ने, शारीरिक तथा बौद्धिक कामको भेद हट्ने, गाउँ र सहरको भेद हट्ने तथा राज्यविहीन समाजको स्थापना हुने जस्तो आदर्श समाज अर्थात्् साम्यवादको जानकारीबाट वञ्चित नै राखेका थिए । समयमै नेमकिपा स्थापना नभएको भए तथाकथित वाम र प्रजातान्त्रिक पार्टीहरू मजदुर र किसान जनताविरोधी प्रतिक्रियावादी पार्टीहरूमा पतन भई सक्थे ।
प्रवासमा बस्दा का. रोहितका लागि पुस्तक पसल र दरभङ्गा राजाको पुस्तकालय नै अध्ययन सामग्री जुट्ने ठाउँ थिए । काठमाडौँ र विराटनगरबाट पनि साथीहरूले पुस्तक ल्याउँथे । लखनउ, कानपुर र पटनाबाट पनि पुस्तक ल्याइन्थे । भारतीय कम्युनिस्ट पार्टीहरूको प्रकाशन र मुखपत्रहरू, जनसङ्घको ‘पाञ्चजन्य’, जर्ज फर्नान्डिजको ‘प्रतिपक्ष’ बम्र्बइदेखि कलकत्तासम्मका दैनिक र साप्ताहिकहरूको उहाँ अध्ययन गर्नुहुन्थ्यो । भारत जानुभन्दा पहिले विद्यार्थीकालमै उहाँको अध्ययन अगाडि बढिसकेको थियो । भारत पुग्नुभन्दा पहिले नै भारतीय, रुसी, चिनियाँ, भियतनामी, कोरियाली, ल्याटिन अमेरिकी साहित्य र पुस्तकहरू पढ्नुभएको थियो । भारतमा पनि विदेशी पुस्तकहरू पढ्नुहुन्थ्यो । विविध विषयका पुस्तकहरू प्राप्त हुन्थे । भारतकै विषयमा रजनी पाम दत्तको ‘आजका भारत’ र नमुन्दरीपादको ‘गान्धी और उनका वाद’, यशपालको ‘गान्धीवादकी शव परीक्षा’, मालवीयको ‘आँखो देखा केरला’ आदि पुस्तक पढ्नुभएको थियो ।
प्रवास जीवनमा नारायणमान बिजुक्छेँले रोहित सिंहको उपनाम राख्नुभएको थियो । राजनीतिक जीवनमा आज पनि उहाँ रोहित नामबाट बढी परिचित हुनुहुन्छ । प्रवास जीवनमा धेरैजसो उहाँसँगै बस्ने नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईले जीवन थापा उपनाम राख्नुभएको थियो । भारतको दरभङ्गा जिल्लाको दोनार चोक, लहरिया सराया र भगवानदास मोहला, मिश्रा टोलमा उहाँहरूको बसाइ थियो । जहाँ भारतीय प्रहरी प्रशासनले सदा उच्च निगरानी राख्थ्यो ।
६ सेप्टेम्बर १९७६ (वि.सं. २०३२) का दिन दोनार चोकको एउटा घरमा खाना खाएर छलफल गरी बस्नुभएको बेला राती ९ः३० बजे भारतीय प्रहरीले घेरा हाल्यो । करिब ५०–६० जनाको सङ्ख्यामा आएका प्रहरीहरू कोठाभित्र पसे र तिनीहरू अपमानजनक ढङ्गमा प्रस्तुत भए । “भारतमा बसेर चीनको समर्थन गर्ने तिमी नेपालीहरू ¤ भारतको खाना खाएर चीनलाई सहयोग गर्ने ?” भनी ती प्रहरीहरूले फतुर लगाए । प्रतिप्रश्नमा उहाँले भन्नुभयो, “तिमीहरूको सित्तैमा अरू त के नुन पनि खाएका छैनौँ । विश्वका सबै जनताको न्यायोचित आन्दोलनको हामी समर्थन गर्छौँ । भारतबाट बेलायती उपनिवेशवादीहरू धपाउनलाई कैयौँ नेपालीले सहयोग गरेका थिए, आन्दोलनमा भाग लिएका थिए ।” खानतलासी लिन आएका प्रहरीहरूलाई रोहितले इतिहासका अनेकौँ सत्यतथ्य घटना बताउनुभयो । एक एक गर्दै पुस्तकहरू देखाउनुभयो । उहाँले विशेषगरी लेनिन, स्तालिनका पुस्तकहरू अगाडि राख्नुभयो । खानतलासी करिब डेढ घण्टासम्म चालू रह्यो । उक्त खानतलासी पुर्जीमा निम्नानुसार विवरण उल्लेख छ ः
१) खानतलासीको मिति र समय ६÷९÷सन् १९७६, राति ९ः३० देखि १०ः४५ सम्म
२) खानतलासी लिइएको व्यक्तिको नाम र ठेगाना १) श्री रोहित सिंह
दिवङ्गत श्री राम सिंहको छोरा
मरु टोल, काठमाडौँ (नेपाल)
२) श्री जीवन थापा
दिवङ्गत श्री हरि थापाको छोरा
काठमाडौँ (नेपाल)
हालै दरभङ्गा जिल्ला, लहेरिया सराया, मोहला – गंगासागरस्थित फिडु बुरीको घरमा भाडामा बसिरहेका
३) खानतलासी गर्दाको साक्षीहरूको नाम र ठेगाना १) श्री रामचन्द्र प्रसाद
श्री नधा प्रसादको छोरा
२) श्री राजेन्द्र चौधरी
श्री सोमलाल चौधरीको छोरो
दुवै दरभङ्गा जिल्ला लहेरिया सराय, मोहला – गंगासागर निवासी
४) भेटिएका वस्तुहरूको विवरण कुनै आपत्तिजनक वस्तु बरामद भएन । न त पुलिसले कुनै वस्तु नै लगेको छ ।
५) साक्षीहरूको हस्ताक्षर
१) राजेन्द्र चौधरी
२) रामचन्द्र प्रसाद
६÷९÷१९७६
६) पुलिस अफिसरको हस्ताक्षर (एक प्रति दिइयो)
१. रोहित सिंह ६÷९÷१९७६
२. जीवन थापा ६÷९÷१९७६
प्रवासमा रहँदा नेपाली गुप्तचर र भारतीय प्रहरी प्रशासनसँग मात्र लुकामारी खेल्नुपरेको थिएन । बरु भौतिक जीवन नै अन्त्य गर्ने उद्देश्यले उहाँहरूमाथि विभिन्न पटक आक्रमण पनि भयो । यस्तै निन्दनीय घटनामध्ये एक हो – सन् १९७८ अगष्ट ३१ (२०३५ भदौ) को दिन गोली काण्ड । भारतको गोरखपुरमा सम्पन्न किसान भेलालगत्तै रोहितको ज्यान लिने उद्देश्यले उहाँमाथि गोली हानिएको थियो । किसान भेलामा व्यापक मजदुर किसानहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउने कि तत्काल सशस्त्र गतिविधि गर्ने भन्ने विषयमा चर्काचर्की बहस भएको थियो । किसान भेलाले सशस्त्र गतिविधि गर्ने प्रस्ताव अस्वीकार गरेको थियो ।
Leave a Reply