भर्खरै :

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलाई बिदाइ तथा शुभकामना

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलाई बिदाइ तथा शुभकामना

भक्तपुर, ३ चैत । भक्तपुर नगरपालिकाबाट मकवानपुरको थाहा नगरपालिकामा सरुवा हुनुभएका भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलाई आइतबार बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित बिदाइ तथा शुभकामना दिनुभयो ।
नगर प्रमुख प्रजापतिले सफल कार्यकालको बधाई एवम् शुभकामना दिँदै भक्तपुर नपामा आफ्नो स्मरणयोग्य अनुभवलाई लिपिबद्ध गरी देशका अन्य स्थानीय तहहरूमा पनि अनुभव आदानप्रदानमा सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कर्मचारीहरूले आफ्नो क्षमता र योग्यताअनुसारको काम निःस्वार्थ र इमानदारीपूर्वक गर्र्नु आवश्यक भएको बताउँदै यो नै एक असल र इमानदार कर्मचारीको विशेषता भएको हो, उहाँले भन्नुभयो ।
उहाँले जनप्रतिनिधिले तयार गरेको नीतिलाई कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।
भक्तपुर नपाले प्रत्यक्ष र परोक्षरूपमा व्यापक जनताको सेवा गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नपाको काम गर्ने पृथक शैलीबारे अन्य स्थानीय तहबाट अध्ययन र अनुभव आदानप्रदान कार्यले निरन्तरता पाउँदै गएको स्मरण गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्रमुख प्रशासकीय अधिकृत गिरी आफ्नो कार्यक्षमतालाई अब्बलरूपमा प्रस्तुत गर्न सफल भएको बताउँदै भक्तपुरबाट सिकेको अनुभवबारे अन्य ठाउँमा पनि प्रयोग र प्रचार गर्नेेमा आफू विश्वस्त भएको बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत गिरीले भक्तपुर नपामा आफ्नो १५ महिनाको कार्यअनुभव सुनाउँदै भक्तपुरमा बसेर काम गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले यहाँबाट सिकेको ज्ञान र अनुभव देशका अन्य क्षेत्रहरूमा पनि प्रचारप्रसार गर्नु आफ्नो दायित्व नै भएको बताउँदै भक्तपुरको आफ्नो कार्य अनुभव जीवनको अविस्मरणीय क्षणको रूपमा लिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जुनसुकै क्षेत्रमा काम गरे पनि देश र जनताको इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा जनताको सेवामा अझ क्रियाशील ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा शाखा उपशाखाका प्रमुखहरूको उपस्थिति थियो । अधिकृत गिरीलाई नगरपालिकाको तर्फबाट भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका केही प्रकाशन उपहारस्वरूप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *