रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, १९ असोज । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार पनि जारी रह्यो ।
अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा बसेको सो बैठकमा कम्युनिष्ट आन्दोनलनमा देखापरेको संशोधनवाद एवम् अराजकतावादलगायतको विषयमा छलफल भयो ।
बैठकमा पार्टी अध्यक्ष रोहितले एमाले र एमाओवादी केन्द्र अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट संरक्षित संशोधनवादी पार्टी भएको बताउनुभयो ।
संशोधनवाद कम्युनिष्ट आन्दोलनमा देखिएको पूँजीवादी विचार भएको भन्दै उहाँले निर्वाचनको माध्यमबाट समाजवाद ल्याउने विचार संशोधनवाद हो, एमाले र माओवादी केन्द्रजस्ता पार्टीहरू संशोधनवादी पार्टी भएको धारणा राख्नुभयो ।
उहाँले सशस्त्र क्रान्तिको आवश्यकता नभएको र शान्तिपूर्ण तरिकाबाटै क्रान्ति हुन्छ भन्ने नेपाली कम्युनिष्ट पार्टीहरूको विचारको खण्डन गर्दै प्रतिक्रियावादी वर्गले मजदुर वर्गलाई क्रान्तिकारी भावनाबाट विमुख बनाउने षड्यन्त्र भइरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष रोहितले सन् १९५७ मा रूसको राजधानी मस्कोमा भएको १२ विभिन्न कम्युनिष्ट तथा मजदुर पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा सशस्त्र वा शान्तिपूर्ण सङ्घर्षबारे विवाद भएको भन्दै प्रतिक्रियावादी वर्गले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई तुहाउने षड्यन्त्र गरेको बताउनुभयो ।
अध्यक्ष रोहितले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृतिलाई जीवन्त राख्नुपर्ने भन्दै हरेक कार्यकर्तालाई माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारको गम्भीर अध्ययन गराउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्तको अध्ययनमा जोड दिऔं ।’
पार्टी कार्यकताको सैद्धान्तिक स्तर अझै उकास्नुपर्ने धारणा राख्दै जाँड, रक्सी, जुवातासजस्ता कुलतबाट कुनै पनि कार्यकर्तालाई टाढा राख्न कडाइ गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
अध्यक्ष रोहितले प्रत्येक कार्यकर्ताले आफ्ना सन्तानलाई पनि क्रान्तिकारी विचारले लैस बनाउनुपर्ने भन्दै सङ्घर्षबाहेक समाज परिवर्तनको कुनै उपाय नभएको स्पट पार्नुभयो ।
बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्नो कार्यक्षत्रको राजनीतिक प्रतिवेदन पेश गर्नुभयो । बैठक शुक्रबार पनि जारी रहने पार्टी केन्द्रीय सचिव प्रेम सुवालले बताउनुभयो ।
Leave a Reply