भर्खरै :

लेनिन जयन्तीको अवसरमा काभ्रेपलाञ्चोकमा प्रवचन

लेनिन जयन्तीको अवसरमा काभ्रेपलाञ्चोकमा प्रवचन

काभ्रे, ९ वैशाख । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५३ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा काभ्रेको मन्दनदेउपुर नाल्दुममा शनिबार कार्यकर्ता भेला तथा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले लेनिनवादबारे व्याख्या गर्दै भन्नुभयो, “पुँजीवादी निर्वाचन क्रान्तिको परिस्थिति तयार नहुञ्जेलसम्म उपयोग गर्नुपर्छ अथवा प्रतिकृयावादी सङ्घ संस्थाभित्र घुसेर जनताको सेवा गर्नुपर्छ ।”
उहाँले लेनिन एक मध्यम वर्गीय परिवारमा जन्मेर सर्वहारा वर्गको मुक्तिको लागि जीवन अर्पण गर्नुभएका सर्वहारा वर्गका नेता हुनुहुन्थ्यो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले लेनिनको नेतृत्वमा रूसमा भएको समाजवादी बन्दोबस्तको अस्थायी हार भएपछि रूस १५ टुक्रामा विभाजित भएको र ती विभाजित देशहरूमा असमानता, अपराध, बेरोजगारी र गरिबीलगायतका धेरै समस्या सृजना भएबाट समाजवादी व्यवस्थाको महत्व कति छ भन्ने प्रस्ट छ भन्नुभयो ।
सम्पूर्ण मानव जातिको कल्याणको लागि समाजवादी स्थापना गर्नु अपरिहार्य भएको धारणा राख्दै उहाँले समाजवाद विज्ञान भएको बताउनभुयो ।
नेमकिपाका बाग्मती प्रदेश सदस्य एन.बी. श्रेष्ठले भन्नुभयो, “सर्वहारा वर्गका महान् गुरू भ्लादिमिर लेनिनले सन् १९१७ को अक्टोबरमा सोभियत रूसमा समाजवादी क्रान्तिको नेतृत्व गर्नुभयो । माक्र्सवादी सिद्धान्त व्यवहारिक सिद्धान्त हो । पुँजीपति वर्गबाट हेपिएका शोषित मजदुर, सिपाही र गरिब किसानहरू पहिलोपटक पुँजीपतिवर्गमाथि शासन गर्ने वर्गको रूपमा उदय भयो । क्रान्तिले सोभियत सङ्घमा आमूल परिवर्तन ल्यायो । साम्राज्यवादको विरूद्धमा राष्ट्रिय स्वतन्त्रताको लागि संसारभर कामदार जनता उठ्न थाले ।”
उहाँले भन्नुभयो, “सोभियत सङ्घको सर्वहारा वर्गको सरकारले वायु सेवा, रेल सेवा, टेलिफोन सेवा, यातायात सेवालगायत सम्पूर्ण सामाजिक संस्थाहरू सामाजिकीकरण गरेर जनतालाई निकै कम शुल्कमा सबै सेवा पु¥याएको थियो ।”
नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य धनबहादुर तामाङले समाजवादी देश सोभियत सङ्घले पुँजीवादी देशले २ सय वर्षमा गरेको विकास कार्य ३०–४० वर्षको अवधिमा गरेर एक महाशक्ति राष्ट्र निर्माण गरेको बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाले नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार निर्वाचन उपयोग गरिरहेको बताउनुभयो ।
कृष्णकमार वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा पीबी तामाङ, कर्म वाइवाले साम्यवादी व्यवस्थाले सम्पूर्ण मानव जातिको कल्याण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *