भर्खरै :

विपद् न्यूनीकरणका लागि सञ्चालित ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण

विपद् न्यूनीकरणका लागि सञ्चालित ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण

भक्तपुर, १५ वैशाख । वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्नको लागि उपत्यका पृतना हेडक्वार्टरको आयोजना र जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वय तथा सुरक्षा फौजको संयुक्त सहकार्यमा शुक्रबार भक्तपुरको सिद्धपोखरीमा वैशाख १२ देखि १४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन ३’ को समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै तालिम प्राप्त विपद् उद्धारकर्मीहरूले आफूले सिकेको सीप व्यवहारिकरूपमा जनताको उद्धारमा प्रयोग गरी सम्भावित धनजनको क्षतिमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले विपद् उद्धारकर्मीहरू २४ घण्टा तयारी अवस्थामा रहनुपर्ने बताउँदै भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी विगतका दिनहरूमा विपद्को तालिम सञ्चालन गरी १२४ जना युवाहरूलाई उद्धारको तालिम दिएको बताउनुभयो ।
नगरपालिकाले तालिम प्राप्त उद्धारकर्मीको लागि आवश्यक सामग्री खरिद गर्नुका साथै विपद् व्यवस्थापन कोष खडा गरी विपद्मा परेका परिवारहरूलाई आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल भूकम्पीय दृष्टिले विश्वकै ११ औँ जोखिमयुक्त मुलुकमा परेको बताउँदै बढ्दो जलवायु परिवर्तनले नेपाल जोखिममा पर्दै गएको हुँदा यस किसिमको तालिम सञ्चालनले समयमै विपद् न्यूनीकरणमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
बाहिनी अड्डा बालाजुका बाहिनीपति सहायक रथी पवन खत्रीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्नुको उद्देश्यमाथि प्रस्ट पार्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त अभ्यास सञ्चालन भएको बताउनुभयो ।
उहाँले यस किसिमको अभ्यासले विपद् प्रतिकार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वयतात्मक ढङ्गबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबिच भएको ¥याफ्टिङ प्रतियोगिताका विजयी, तालिमका सहभागी प्रशिक्षार्थी र सङ्घ संस्थाहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको उक्त समापन कार्यक्रममा विपद्मा परेकाहरूको उद्धारका नमुना अभ्यासका दृश्यहरू देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *