भर्खरै :

मे दिवसको सम्झना

मे दिवसको सम्झना

मे १, १८८६ । यो दिन अमेरिकी मजदुरहरूका लागि निकै गर्विलो दिन थियो । त्यसो त कालान्तरमा विश्वका हरेक मजदुर तथा कामदार जनताका लागि यो गौरवपूर्ण र ऐतिहासिक दिन बन्न पुग्यो । मिश्रका दासहरूभन्दा पनि खराब जीवन बाँचिरहेका अमेरिकी मजदुरहरू त्यो दिन एक भई जुर्मुराएका थिए । अमेरिकामा छरिएका ११ हजार कारखानाका ३ लाख ८० हजार मजदुरहरू हडतालमा उत्रिएका थिए । उनीहरूको माग थियो— “८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन ।” अमेरिकाको सबैभन्दा ठूलो औद्योगिक सहर शिकागोमा हडतालको रौनक बेग्लै थियो । शिकागोका सबै उद्योग बन्द थिए । टाढाटाढासम्म रेल यातायात ठप्प थियो । मजदुरहरूले विशाल जुलुसको आयोजना गरेका थिए । त्यो शान्तिपूर्ण जुलुस थियो । जुलुसको अघिल्लो भागमा झण्डासँगै एक दम्पतीले जोशिला पाइला चालिरहेको थियो । अमेरिकी मजदुर सङ्घर्षले आफ्नो नेता जन्माएको थियो— अल्बर्ट पार्सन्स र उनकी श्रीमती लुसी गोञ्जालीज ।
पार्सन्स दम्पतीको जीवन सङ्घर्षसँग नङमासुजस्तै गाँसिएको छ । अल्बर्ट पार्सन्स गोरा जातिका थिए । उनका पुर्खाले स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए । आमा बुबाको मृत्युपछि उनी दाइसँगै सेनामा भर्ती भए । अमेरिकाको गृहयुद्धमा उनी दक्षिणी सेनामा रहेर लडे । त्यसबेला उनी किशोरै थिए । गृहयुद्धको अन्त्यसँगै उनले दक्षिणमा जरा गाडी बसेको दासप्रथाको खुलेर आलोचना गरे । त्यसमाथि उनले एक दास परिवारमा हुर्केकी आदिवासी लुसीसित विवाह गरे । त्यसकारण, उनी आफ्नैबाट अलग्याइए । उनको विवाह अन्तर्जातीय थियो । यस्तो विवाह टेक्सासमा वर्जित थियो । त्यसैले सन् १८७३ मा पार्सन्स दम्पती उत्तरमा पर्ने शिकागो सहर गए । मजदुरीका सिलसिलामा उनीहरू छिट्टै मजदुर आन्दोलनसँग जोडिए । अल्बर्टले शिकागोमा समाजवादी साहित्यको गहिरो अध्ययन गरे । बिस्तारै उनी मजदुर सभाहरूलाई सम्बोधन गर्ने, उनीहरूलाई सङ्गठित गर्ने र हक अधिकारका निम्ति सङ्घर्षमा उतार्ने काममा दत्तचित्त भई लागे । धनीहरूको पत्रिकाबाट ज्यानको धम्कीसहित निकालिएपछि पार्सन्सले मजदुरहरूका निम्ति पत्रिकाको सम्पादन गर्नथाले । अन्याय र भेदभावविरुद्ध लुसीले पनि कलम चलाउँथिन् । मे १ सम्म आइपुग्दा पार्सन्स एक कुशल वक्ता, लेखक र सङ्गठकका रूपमा अमेरिकी मजदुर जमातमा चिनिन्थे । उनी एक समाजवादी क्रान्तिकारी थिए ।


मे १ को आन्दोलन शान्तिपूर्ण र भव्य रह्यो । मजदुरहरूको सङ्गठित शक्तिबाट त्रस्त अमेरिकी पुँजीपति वर्गले आफूले लगानी गरेका पत्रिकाहरूबाट आफ्नो आक्रोश पोख्यो । ती ‘मूलधार’ का पत्रिकाहरूले मजदुरहरूको खेदो खने, हडतालहरूलाई अराजक कदम भने र मजदुर नेताहरूको हत्या गर्नुपर्ने खुला वकालत गरे । मे २ मा पनि सङ्घर्ष जारी रह्यो ।
मे ३ । शिकागोको नामी कारखाना म्याकोर्मिक । त्यहाँ दुई महिनादेखि तालाबन्दी चलिरहेको थियो । कारखाना बाहिर मजदुरहरू सभा गरिरहेका थिए । पुँजीपतिका गुण्डा र प्रहरीहरू त्यहाँ आइपुगे । उनीहरूले जथाभावी गोली हाने । त्यहाँ आएका मजदुर, महिला, केटाकेटीहरूमध्ये धेरै घाइते भए । चार मजदुरहरू ठाउँका ठाउँ मारिए । त्यहाँ मजदुर नेता अगस्त स्पाइस उपस्थित थिए । उनले प्रहरी र प्रशासनको दमनको विरुद्ध विरोधसभा आयोजना गर्न मे ४ गते साँझ साढे सात बजे हे बजारमा मजदुरहरूलाई उपस्थित हुन पत्रिकामार्फत आह्वान गरे ।
मे ४ । बिहानैदेखि पुँजीपतिहरूका गुण्डा र प्रहरीहरू मजदुर बस्तीमा ताण्डव मच्चाइरहेका थिए । साँझ पर्दै थियो । आकाशमा बादलका टुक्राहरू बाक्लिँदै थिए । हे बजार अर्थात् शिकागोको सबैभन्दा ठूलो र व्यस्त बजारमा मजदुरहरू जम्मा हुँदै थिए । त्यहाँको जमघटको नेतृत्व मजदुर नेता स्पाइसले गरिरहेका थिए । २५०० मजदुरहरू जम्मा भइसकेका थिए । साँझ बिस्तारै छिप्पिँदो थियो । त्यसैले सहभागीहरू पातलिन थाले । यस्तो देखेर स्पाइसले पार्सन्सलाई बोलाउन मान्छे पठाए । आफ्ना दुई सन्तान र लुसीसहित पार्सन्स त्यहाँ पुगे र धाराप्रवाह बोल्न थाले । उनी सहरबाहिर रहेकाले हिजोको प्रहरी अत्याचारबारे केही अघि मात्र थाहा पाएका थिए । उनले मजदुरहरूले सङ्घर्षलाई बिसाउन नहुने बताए । पानी पर्नै थालेको थियो । उनी मन्तव्य सकेर सपरिवार नजिकैको हलतिर लागे । उनीसँगै आएका थिए अर्का मजदुर नेता सामुयल फिल्डेन । अब उनको भाषण सुरु भयो । अचानक १८० जनाको दलबलसहित प्रहरी बोनफिल्ड त्यहाँ आइपुग्यो । उसले भिडलाई छितरिन उर्दी कस्यो । फिल्डेनले भने, “यो त शान्तिपूर्ण सभा हो ।” तर, यत्तिकैमा प्रहरीको ठीक अघिल्तिर भर्खर मात्र आविष्कार भएको ‘डाइनामाइट’ नामक बम पड्क्यो । संसारमै पहिलोपल्ट सार्वजनिक स्थलमा यस्तो बम पड्केको थियो । बमले आठजनालाई ठहरै पा¥यो । त्यसमा एकजना प्रहरी पनि मारिए । बोनफिल्डलाई बहाना चाहिएको थियो । एकाएक निहत्था मजदुरहरूमाथि गोलीको वर्षा हुन थाल्यो । केही मिनेटको गोली प्रहारमा धेरै मजदुरहरू मारिए । कैयौँ घाइते भए । पछिल्लोपटक केही प्रहरीहरू पनि मारिए प्रहरीकै गोलीले । भिड तितरबितर भयो ।


मे ५ मा सहरमा कफ्र्यु लाग्यो । मजदुर नेताहरू एवं क्रान्तिकारीहरूको पक्राउ सुरु भयो । आठजना मुख्य नेताउपर प्रहरीमाथि बम फ्याँकेको आरोपमा ज्यान मुद्दा चलाइयो । ती नेताहरू थिए— अल्बर्ट पार्सन्स, अगस्त स्पाइस, एडोल्फ फिशर, जर्ज एंजेल, सामुयल फिल्डेन, लुइस लिंग्ग, माइकेल श्वाब र ओस्कर निबे । पुँजीपतिका अखबारहरूले उनीहरूलाई रक्तपिपासु, राक्षसको रूपमा दुष्प्रचार गर्न थाले । उनीहरूलाई मृत्युदण्ड दिएर सारा मजदुरहरूलाई ‘पाठ पढाउनुपर्ने’ माग दोहो¥याइरहे । नगर प्रमुख, प्रशासन, प्रहरी अड्डा अदालत सबै उनीहरूकै । त्यसैले कुनै ठोस प्रमाणबिनै सारा कानुनको खिल्ली उडाउँदै अगस्त २० मा उनीहरूमध्ये ४ जनालाई फाँसी, ३ जनालाई आजीवन कारबास सजाय सुनाइयो । (हेर्नुहोस् बक्स) एक जनाले पहिल्यै आत्महत्या गरे ।
बन्दी बनाइएका सबै मजदुर नेताको प्राणरक्षाको निम्ति लुसी पार्सन्सलगायत सबै न्यायप्रेमी जनता संसारका विभिन्न कुनाबाट चिच्याइरहे । दबाबका कार्यक्रम गरिरहे । तर, शिकागोका मुख्य–मुख्य पुँजीपतिहरूको बैठकले उनीहरूलाई मार्नुपर्ने धारणा एक स्वरले राख्यो । अन्ततः नोभेम्बर ११ का दिन पार्सन्स, स्पाइस, फिशर र एंजेललाई फाँसी दिइयो । अमेरिकाको पुँजीवादी प्रजातन्त्र कसका लागि हो प्रमाणित भयो । पूरै अमेरिका शोकसन्तप्त भयो । उनीहरूको शवयात्रामा ६ लाख मानिसहरूको लस्कर घण्टौँसम्म हिँडिरह्यो । उनीहरूलाई बचाउन खोज्ने मजदुरहरू मात्र नभई शिक्षक, डाक्टर, वकिल, पत्रकार, साहित्यकारहरू पनि त्यसमा सामेल थिए ।
६ वर्षपछि इलिनोइस राज्यका गभर्नरले आजीवन काराबास भोग्दै गरेका बाँकी तीन मजदुर नेतालाई रिहा गरे । पूरै हे बजारको अदालती कारबाही फर्जी भएको घोषणा गरे । १८८९ जुलाई १ मा पेरिसमा फ्रान्सेली राज्यक्रान्तिको शतवार्षिकीको अवसरमा भएको अन्तर्राष्ट्रिय मजदुर सम्मेलनले हे बजारका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष मे १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाउने निर्णय ग¥यो । अर्को वर्षदेखि अमेरिका र क्यानडामा बाहेक अन्य देशमा धुमधामले मजदुर दिवस मनाउन थालियो ।
फाँसी दिने बेला अगस्त स्पाइसले चिच्याएर भनेका थिए, “एक दिन आउनेछ । जतिबेला तिमीहरूले आज थुन्न खोजेको हाम्रो आवाजभन्दा हाम्रो मौनता झन् शक्तिशाली हुनेछ ।”
त्यो मौनता रुस, चीन, क्युवालगायतका समाजवादी देशमा समाजवादी क्रान्तिमार्फत मुखरित भयो र दिन प्रतिदिन झन्झन् शक्तिशाली बन्दै छ ।

शिकागो, २० अगस्त १८८६
प्रिय,
आज बिहान हाम्रो विषयमा भएको फैसलाले संसारका सबै अत्याचारीहरूमाझ खुसी छाएको छ । शिकागोदेखि सेन्ट पिटर्सवर्गका सबै पुँजीपतिहरू आज भोजमा रक्सीको खोलो बगाउनेछन् । तर, हाम्रो मृत्यु घृणा, वैरभाव, ढोंग, अदालतको हातबाट हुने हत्या, अत्याचार र मान्छेबाट हुने मान्छेको दासत्वको अन्त्यको भविष्यवाणी गर्ने भित्तामा कुँदिएको सुक्ति बन्नेछ । संसारभरिका हेपिएका–चेपिएका मानिसहरू कानुनी साङलोमा छटपटिरहेका छन् । विशाल मजदुर वर्ग जाग्दै छ । गहिरो निद्राबाट ब्युँझिएका जनताले तुफानमा सरसामान भाँचिएझँै आफ्ना साङलाहरू चुँडाल्नेछन् ।
हामी सबै परिस्थितिको वशमा हुन्छौँ । हामी त्यस्तै छौँ जस्तो परिस्थितिले हामीलाई बनाए । यो सत्य दिन प्रतिदिन छर्लङ्ग हुँदै छ ।
मृत्युको सजाय सुनाइएका आठजनामध्ये कसैलाई पनि हे बजारको घटनाबारे जानकारी थिएन । त्यस घटना गराउन सल्लाह दिए वा भड्काए भन्ने प्रमाणै छैन । त्यसले के फरक पर्छ र ? सुविधाभोगी वर्गलाई एउटा शिकार चाहिएको थियो । करोडपतिहरूको बौलाहा भिडको रक्तप्यासको चिच्याहटलाई शान्त पार्न हाम्रो बलि चढाइँदै छ । किनभने, हाम्रो ज्यानले बाहेक अरू कुनै वस्तुले उनीहरू सन्तुष्ट हुने छैनन् । आज एकाधिकार पुँजीपतिहरूको जीत भयो । साङलोले बाँधिएको मजदुर फाँसीमा चढ्दै छ किनभने उसले स्वतन्त्रता र अधिकारका लागि आवाज उठाउने हिम्मत ग¥यो ।
मेरी दुःखी पत्नी, मलाई तिमी र हाम्रा स–साना सन्तानको पिर छ ।
म तिमीलाई जनताको हातमा सुम्पन्छु किनभने तिमी तिनीहरूमध्येकै एक हौ । मेरो अनुरोध छ – म नहुँदा तिमीले हडबडीमा कुनै काम नगर्नु, बरु समाजवादका महान् आदर्शहरूलाई मैले जहाँ छोडेर जान बाध्य भएको छु तिमीले तिनलाई त्यहाँभन्दा अझ माथि उठाउनू ।
हाम्रा सन्तानलाई बताउनु दसजनामा नौजना बालबालिकाले दासत्व र गरिबीमा जिउनुपर्ने यो समाजमा सन्तोषले जीवन बिताउनुभन्दा तिनको बुबाले स्वतन्त्रता र सुख ल्याउने प्रयास गर्दागर्दै मर्नु जाती मान्यो । तिनलाई आशिष दिनु । बिचरा मुनाहरू… म तिनलाई असाध्यै माया गर्छु । मेरी प्यारी, म रहुँ वा नरहुँ, हामी एक हौँ । तिम्रा लागि, जनता र मानवताका लागि मेरो माया मेटिने छैन । आफ्नो यो कालकोठरीमा म बारम्बार हाँक हाल्छु । स्वतन्त्रता ! न्याय ! समानता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *