भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाइएको सम्बन्धी केही टिपोटहरू

नेपालीलाई भुटानी शरणार्थी बनाइएको सम्बन्धी केही टिपोटहरू

भुटानबाट विस्थापित भइआएका १ लाख १३ हजारभन्दा बढी शरणार्थी नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्डलगायत देशमा पुनर्वासमा गइसकेका छन् । तेस्रो देश जान अनिच्छुक ६ हजार ३६५ जनालाई नेपालमै कार्य सहमति दिने विषय अघि बढेकोमा गिरोहले ‘छुट शरणार्थी’ खडा गरेर पैसा उठाउन थालेको थियो । (नागरिक, २०८० वैशाख २६)
तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७६ जेठ ३० मा मन्त्रीस्तरीय निर्णयबाट पन्थीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका केसीले गिरोहकै योजनामा कार्यदल बनेको स्वीकार गरिसकेका छन् । (कान्तिपुर, २०८० वैशाख २६)
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकारमा इन्द्रजीत राई नियुक्त भएका थिए । सल्लाहकार राई गोप्य भन्दै सधैँ शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे । रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे । तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेको एक सदस्यले भने । (नागरिक, २०८० वैशाख २६)
सो मुद्दामा हालसम्म गिरोहलाई सघाउने पाँच जनाले पैसा लिएको प्रमाण भेटिएको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जसमा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, का सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे छन् । (नयाँ पत्रिका २०८० वैशाख २६ गते)
प्रहरीबाटै पाएको सूचनाको आधारमा रायमाझी भाग्न सफल भएका थिए । प्रहरीमा उपस्थित हुँदा धेरै दिन हिरासतमा बस्नुपर्ने भएकोले अदालतमा पछि उपस्थित हुने गरी उनी फरार भएको प्रहरी अनुमान छ । (नयाँ पत्रिका, २०८० वैशाख २७)
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद् पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् । (कान्तिपुर, २८ वैशाख २०८०)
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ ग¥यो । अदालतबाट पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले बतायो । (अनलाइन खबर २०८० वैशाख २७)
खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थीको विषयमा नक्कली प्रतिवेदन तथा कागजात तयार पारिएको, प्रहरी हिरासतमा रहेका सरकारका सचिव टेकनारायण पाण्डेले खाणको संलग्नता र निर्देशनमा आफूले काम गरेको बयान दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । (नागरिक, २८ वैशाख २०८०)
उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाण, बहालवाला सासदद्वय आरजु राणा देउवा र मञ्जबु खाणसमेत मुछिएएका छन् । आरजु र मञ्जुले समेत यस प्रकरणमा कर्मचारी सरूवादेखि सेटिङ मिलाउँदा रकम बुझेको भन्ने अडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । सार्वजनिक भएको अडियोमा आरजुले साढे २ करोड र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ । (नेपाल समाचारपत्र २०८० वैशाख २६ गते)
आइतबार नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनमा प्रम दाहालले भने– “२०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ । हामी आयोग बनाउने तयारीमा छौँ ।” (कान्तिपुर, २०८० वैशाख २६)
“एउटा बहालवाला सांसद, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हतकडी लगाउनु पर्दैन, ऊ भागेर कतै जाँदैन ।” – केपी ओली (कान्तिपुर २०८० वैशाख २३ )
काङ्ग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले पक्राउ परेका अभियुक्तलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन भन्दै पैसा फिर्ता गरिदिने आश्वासन दिएका थिए । अभियुक्त सानु भण्डारीले पनि पैसा बुझाएको बयान दिए । आफूहरूको पैसा पनि खाएको, काम पनि नगरी उल्टै थुनाएको भन्दै उनले ठगीमा सघाउने सबैको नाम पोलेका थिए । उनले खाणलाई १ करोड २४ लाख रकम दिएको दाबी गरेका छन् । (नयाँ पत्रिका २०८० वैशाख २६ गते)
पक्राउ परेकामध्ये सानु भण्डारीले आफूले बोलेको कुरा जस्ताको तस्तै बयानमा नराखे आत्मदाह गर्नेसम्मको धम्की दिए । (नयाँ पत्रिका २०८० वैशाख २६ गते)
“को हुन् पुष्पकमल दाहाल, कसैलाई छाड्दिन भन्ने ? के भनेको त्यो ? म झुक्दिनँ, दबाबमा पर्दिनँ भनेको के हो ? कसले दबाब दियो ? मलाई बोलाएर भेट्ने, विभिन्न विषयमा कुरा गर्ने । अनि म निस्किएपछि कसैको दबाबमा पर्दिनँ भनेर किन फुइँ लगाएको ?”– केपी ओली (कान्तिपुर, २०८० वैशाख २६)
भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको छ । नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटीरूपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लाग्यो । क्यान्टोन्मेट काण्डबारे पनि अख्तियारले छानबिन गर्न खुट्टा कमाउन हुन्न । – केपी ओली (नागरिक, २०८० वैशाख २८)
पूर्वप्रधानमन्त्री देउवाले सुरक्षा र प्रशासनका उच्च अधिकारीलाई विभिन्न माध्यमबाट कुराकानी गरेर आफ्ना मान्छे पर्ने विषयमा चासो राखेका छन् । गिरोहका सदस्य भनिएका व्यक्तिले आरजूलाई साढे २ करोड र मञ्जुलाई ६ करोड दिएको भनेको अडियो सार्वजनिक भएपछि उहाँको चासो बढेको छ । तर, यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नाम मुछिएको विषय उहाँलाई भित्री रूपमा पहिले नै थाहा थियो, तर उहाँ खासगरी आरजु म्याडमका विषयमा धेरै चासो राख्नुभएको छ । (कान्तिपुर, २०८० वैशाख २७)
नेपाली काङ्गे्रसको धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने तत्काल कुनै कारवाही नगर्ने निर्णय ग¥यो । (गोरखापत्र, २०८० वैशाख २८)
उच्च तहका नेताहरू नै यो प्रकरणमा जोडिन थालेपछि प्रमुख राजनीतिक दल नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले भेटघाटमा तीव्रता दिएका छन् ।
(नागरिक, २८ वैशाख २०८०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *