नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, १३ जेठ । विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा Third National Conference, A Multidisciplinary Approach to Address Current Challenges विषयक दुईदिने राष्ट्रिय सम्मेलन शनिबारबाट सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले भक्तपुरका जनप्रतिनिधिहरूले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलको रूपमा देशव्यापीरूपमा प्रचार भइरहेको बताउँदै असल राजनीति र नेतृत्वले व्यापक जनताको हित हुने हँुदा युवा विद्यार्थीहरूलाई राजनीति गर्न उत्साहित गर्नुपर्छ भन्नुभयो ।
विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अगाडि बढ्न नसकेकै कारण नेपालमा सङ्घीयता असफल हुँदै गएको बताउंदै अध्यक्ष बिजुक्छेँले शासकहरूमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गइरहेको उल्लेख गर्नुभयो ।
देशलाई बन्धक राख्ने विदेशी दलालहरूले देशको हितमा काम गर्न नसक्ने बताउँदै उहाँले प्रदेश सरकारले आफ्नो औचित्यता प्रस्ट गर्न नसक्नु लज्जास्पद विषय भएको बताउनुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विश्वविद्यालयहरू अनुसन्धानको केन्द्र बन्नुपर्ने धारणा राख्दै देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले ८ वटा कलेजहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
देशमा भइरहेको बेथिति र विकृतिहरूबाट सचेत हुँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भक्तपुर नपाको मुख्य उद्देश्य रहेको बताउँदै नाफा र फाइदाको निम्ति नेपाली नागरिकलाई विदेशी बनाउन तयार हुने शासकहरूबाट नेपाली जनता सचेत हुन जरुरी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले सम्मेलनको पूर्ण सफलताको शुभकामना दिँदै आगामी वर्षहरूमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
कोभिड– १९ सङ्क्रमणका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको बताउँदै उहाँले शासकहरू देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको बताउनुभयो ।
सांसद गोसाईले बौद्धिकवर्गको भूमिका र प्राज्ञिक क्षेत्रको अग्रसरताले देशको विकास र समृद्धि निर्धारण हुने बताउँदै बौद्धिक व्यक्तिहरूले आफ्नो ज्ञान तथा अनुसन्धानबाट प्राप्त विद्धता आफ्नै देशको हितको निम्ति उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेशको नीति तथा कार्यक्रममा कुनै नवीनता नरहेको उल्लेख गर्दै शासकवर्गप्रति जनताको आक्रोश दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले समाज विकासको निम्ति शिक्षा अति नै महत्वपूर्ण विषय भएको बताउँदै भक्तपुर नपाले ख्वप विश्व्विद्यालय सञ्चालनको लागि आवश्यक पूर्वाधारहरू निर्माण गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको आवश्यकता र मागअनुरूप विभिन्न विषयहरू थप्दै गइरहेको बताउँदै २१ औँ शताब्दीका चुनौती सामना गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले परम्परागत ज्ञान र सीपलाई बचाइराख्नुपर्ने आवश्यकता औँल्याउँदै अनुसन्धानको लागि विश्वविद्यालय अनुदान आयोगको मुख ताक्नुपर्ने आवश्यकताको अन्त्य गर्न शैक्षिक संस्थाहरूले अनुसन्धानका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा.डा. कुसुम शाक्यले सम्मेलनले नयाँ तथ्य पत्ता लगाउन सहयोग पुग्ने बताउँदै अनुसन्धान सैद्धान्तिक र व्यवहारिक दुवै ढङ्गबाट अगाडि बढाई त्यसबाट निस्केको निष्कर्षलाई व्यवहारिकरूपमा प्रयोगमा पनि ल्याउनु आवश्यक भएको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि डा. प्रमोद पौडेलले यस आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धानको लागि ४०० वटा निवेदन परेकोमा २०० वटा अनुमोदन भएको र त्यसमा ख्वप कलेज पनि पर्न सफल भएकोमा बधाई दिनुभयो ।
उहाँले समाजका चुनौतीहरू सम्बोधनका लागि अध्ययन अनुसन्धानहरू सञ्चालन गरिने बताउँदै उहाँले नेपालमा बर्सेनि ४० देखि ४५ करोड रकम अनुसन्धानको लागि खर्च भइरहेको तथ्य प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक कमिनिका न्याइँच्याइँले सम्मेलनमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायतका विषयमा ८० वटाभन्दा बढी कार्यपत्रहरू प्रस्तुत गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई कलेजको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।
Leave a Reply