भर्खरै :

सहकारी संस्थालाई सदस्यहरूको जीवनसँग जोड्नुपर्छ

सहकारी संस्थालाई सदस्यहरूको जीवनसँग जोड्नुपर्छ

भक्तपुर, १८ जेठ । बाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वाग्मती पहिलो समूहको २८ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले नेमकिपालाई अरूले पनि राजनीतिक विचार र सिद्धान्तको इमानदारीपूर्वक राजनीति गर्ने पार्टीको रूपमा लिएको चर्चा गर्नुभयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सहकारीको बारेमा विभिन्न सुझाव पेश गरेको जानकारी दिँदैै उहाँले शिक्षा, स्वास्थ्य र सहकारीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको बताउनुभयो ।
“सहकारीमा आएको समस्या बेलैमा समाधान नगरेमा श्रीलङ्काको दुर्गति भोग्न र पाकिस्तानको दुरवस्था भोग्न हामी बाध्य हुन्छौँ,” उहाँले भन्नुभयो ।
सरकारी कलकारखाना बन्द भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले छिमेकी देशको सहयोगबाट सञ्चालन भएका विभिन्न कलकारखाना घाटाको निहुँमा बन्द गरेर कौडीको मूल्यमा निजीकरण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी न्यून आयस्तर भएका गरिबको लागि हो । सहकारी ठूलाठालुले सञ्चालन गर्ने होइन । सहकारीलाई जीवनसँग जोडेन भने सहकारी पनि बैङ्कजस्तै हुन्छ । सहकारीलाई समुदायसँग जोड्नुपर्छ । सहकारी शिक्षा, स्वास्थ्य, कृषि, कला, सम्पदा, भाषा, संस्कृतिसँग जोड्नुपर्छ ।
विश्वमा भइरहेको आर्थिक समस्याले चीनलाई नछोएको विचार व्यक्त गर्दै उहाँले चीन विश्वका चाहिने सम्पूर्ण सामानको आदानप्रदान गर्ने देश बनेको छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले एक आपसमा आफ्ना असल अभ्यास साटासाट गर्नुपर्ने आवश्यकता औँल्याउँदै सिकाइ व्यवस्थापन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल भइरहेको सहकारी बचाउ अभियानबारे विचार व्यक्त गर्दै उहाँले सहकारी अभियानका व्यक्तिले कानुन सम्मत भए समर्थन र कानुनविपरीत भए विरोध गर्नुपर्छ भन्नुभयो । सुशासनमा बसेका सहकारी संस्थाले गलत नीति र कार्यको विरोध नगरे हामी र अन्यमा कुनै फरक नहुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सिद्धि गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाले वर्तमान समयमा भइरहेको सहकारीको विकृति र विसङ्गतितर्फ सचेत भएर अघि बढ्नुपर्छ भन्नुभयो ।
उक्त कार्यशालामा उपाध्यक्ष कृष्णभक्त बोडे, सचिव राधेश्याम सुवाल अध्यक्ष एवं सभापति विश्वराम त्वायना र पुनेन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *