भर्खरै :

देश फिजीकरणको बाटोमा !

देश फिजीकरणको बाटोमा !

नागरिकताजस्तो संवेदनशील विषयमा सचेत हुन नसक्दा फिजीमा भारतीय मूलको नागरिक प्रधानमन्त्री बनेर फिजीमा भारतीय एकाधिकार जमाएर फिजीका जनतालाई दबाएको इतिहास साक्षी छ । त्यसकारण, सचेत नेपाली जनताले नागरिकता खुकुलो बनाउनु देशको निम्ति हितकर नहुने भनिरहेका हुन् । तर, यस विषयमा नेपालका शासकहरू संवेदनशील छैनन् भन्ने नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनुले प्रस्ट भएको छ ।
नेपाल नागरिकता नियमावली २०६३ मा उल्लेख भएबमोजिम नेपाल नागरिकता ऐन २०६३ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको नियमअनुसार वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यविधिको बन्दोबस्तले ३ जनाको सनाखतमा वितरण गरिएको नागरिकतामा गैरनेपाली नागरिकले नेपाली नागरिकता प्रमाणपत्र लिएका प्रमाणहरू समाचारमा प्रकाशित भएका छन् ।
नागरिक न्यूज, नागरिक नेटवर्क डट कम ११ आश्विन २०७५ मा जितेन्द्रकुमार झाका अनुसार विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको बताएको छ । गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रूपैयाँ निर्धारण गरिएको र नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बताएको उल्लेख गरिएको छ । इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवी रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रूपैयाँमा नागरिकता लिएको बयान दिएका थिए । भारत बिहार सीतामढी जिल्लाअन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियारले २०७१ साल माघ २६ गते वंशजको नागरिकता लिएका थिए । पक्राउ परेका कतिपय भारतीय नागरिकहरूको साथमा भएको नेपाली नागरिकता प्रमाणपत्रको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभएको जनाएको छ ।
अनलाइन खबर २०८० वैशाख २४ का अनुसार नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गर्यो । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरूले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिएको उल्लेख छ । ती भारतीय नागरिकहरूले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रूपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएका थिए । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरूलाई काठमाडौँको कलङ्की, शङ्खमुल, ललितपुरको पाटनलगायतका क्षेत्रबाट पक्राउ गरेका थिए । ती भारतीय नागरिकसँग नेपालको मतदाता परिचयपत्र र भारतीय परिचयपत्र पनि प्रहरीले फेला पारेको थियो । यी तथ्यहरूले गैरनेपाली नागरिकले नेपाली नागरिकता लिएर नेपालमा व्यापार व्यवसायलगायत राजनीतिक क्षेत्रमा समेत प्रभाव पारिरहेको स्पष्ट हुन्छ । देश फिजीकरणको बाटो नजाओस् भनेर समयमै सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *