भर्खरै :

जनप्रतिनिधिको अनुभव

जनप्रतिनिधिको अनुभव

(जनप्रतिनिधि र स्थानीयवासी बाटोमा भेट हुन्छ र कुराकानी सुरू हुन्छ ।)
जनप्रतिनिधि – नमस्ते दाइ, के छ ? तपाईँको हालखबर !
स्थानीय वडावासी – ठिक्कै छ, अनि तपाईँको नि ?
जनप्रतिनिधि – ठिक्कै छु, दाइ ।
वडावासी १ – ओहो ! जनप्रतिनिधिज्यू, मैले तपाईँलाई भोट दिएको, तपाईँले मेरो एउटा काम पनि नगरिदिने ?
जनप्रतिनिधि – हैन ! कस्तो काम ? हामी तपाईँहरूकै सेवा र सहयोगको लागि बसिरहेका छौँ । आउनुहोस्, वडा कार्यालयमा हामीले सकेको सेवा गरिदिन्छौँ ।
वडावासी १ – म अफिस जानुपर्ने मान्छे । वडा कार्यालय बिहान आउन नभ्याउने, साँझ अफिसबाट फर्कँदा वडा कार्यालय बन्द भइसकेको हुन्छ । त्यसैले मेरो आमाको ज्येष्ठ नागरिकको भत्ता लिने उमेर भो, यसो फारामसाराम भर्ने र के–के गर्नुपर्ने हो गरिदिनुस् न ।
जनप्रतिनिधि – हेर्नुस् दाइ, यसको लागि पहिले ज्येष्ठ नागरिकको परिचयपत्र बनाउनुप¥यो । यसको लागि ज्येष्ठ नागरिकको दुई प्रति फोटो, एक प्रति नागरिकताको फोटोकपी (आवश्यक कागजात) सहित सम्बन्धित व्यक्ति वडा कार्यालयमा आउनुप¥यो । एउटा फाराम भरेर प्रक्रिया पूरा गर्नुप¥यो । आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता आउँछ र लिन पाउनुहुन्छ । तपाईँसँगै आमालाई पनि ल्याउनु भए अझ राम्रो हुन्छ । नभए आवश्यक कागजातसहित आमालाई पठाइदिनुस् काम हुन्छ ।
(बाटोमा फेरि अर्काे एक वडावासीको भेट हुन्छ ।)
जनप्रतिनिधि – दाइ नमस्ते ! कतातिर हो ?
वडावासी २ – नमस्ते,
जनप्रतिनिधि – के भो ? दाइ
वडावासी २ – हेर्नुस् न । विवाह दर्ता गरौँ भनेको । वडा कार्यालय गएको कामै बनेन ।
जनप्रतिनिधि – किन ? तपाईँको विवाह भएको त धेरै वर्ष भयो, अहिले मात्र किन नि विवाह दर्ता गर्न लाग्नुभएको ?
वडावासी २ – पहिले काम परेन । अहिले एउटा कामको लागि चाहियो, वडा कार्यालय दुई दिन गइसकेँ । केही भएन । भन्ने बेलामा जनताको सेवा गर्ने रे । खै किन हो कामै गरिदिएन ।
जनप्रतिनिधि – यस्तो होइन दाइ, कहिलेकाहीँ वडामा सेवाग्राहीको सङ्ख्या अधिक हुन्छ, कहिले हाम्रो आफ्नो आवश्यक कागजात नपुगेर नगरेको होला । कहिलेकाहीँ दर्ता गर्नुपर्ने सम्बन्धित परिवारका सदस्यहरू समयमा नै उपस्थित नहुँदा समस्या हुन्छ । नभए वडा कार्यालयबाट तपार्इँहरूलाई समस्यामा पार्ने काम हुँदैन । बरु स्थानीय पञ्जीकरण प्रणालीअनुसार हामीले समयमै जन्म र मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइको प्रक्रिया पूरा गर्नुपर्छ । यसैले जन्म, मृत्युदर्ता (व्यक्तिगत घटना) ३५ दिनभित्र समयमै गर्दा निःशुल्क हुन्छ भने ३५ दिनपछि गर्दा आवश्यक जरिवाना तिर्नुपर्ने हुन्छ । त्यसैले समयमै गर्दा राम्रो हुन्छ । कुनै पनि काम सही समयमा हुनु राम्रो हुन्छ । घटना दर्ता प्रक्रियाले वडामा सत्यतथ्य तथ्याङ्क थाहा हुन्छ । जसले गर्दा वडाका सेवासुविधालगायत कुनै पनि काम गर्न सही तथ्याङ्कले सहयोग पुग्ने भएकोले यो हामी सबै नागरिकको दायित्व हो
(अर्को दिन बाटोमा जाँदै गर्दा पाटीमा दुई जना ज्येष्ठ नागरिकहरू बसेर कुराकानी गर्दै हुनुहुन्छ ।)
जनप्रतिनिधि – नमस्ते । बज्यैहरू सञ्चै हुनुहुन्छ ? तपाईँहरू त सँगै बसिराख्नुभएछ त ?
ज्येष्ठ नागरिक (दुबैले सँगै) – के गर्नु त ? घरमा बसी राखँु बिरामी होला जस्तो छ । त्यही भएर यसो पाटीमा बसेर दुःख सुखका कुराहरू ग¥यो भने दिन पनि बित्छ, साथी पनि हुन्छ भनेर ।
जनप्रतिनिधि – बज्यै, तपाईँलाई अलि सन्चो छैन जस्तो छ, ज्वरो आयो कि ! के भयो ?
ज्येष्ठ नागरिक – यस्तो खासै होइन । लामो सुस्केरा हालेर खोइ, के भनुँ ?
जनप्रतिनिधि – के भयो बज्यै, सञ्चो भएन भने जँचाउनु प¥यो, घरमा छोरा बुहारी हुनुहुन्न ।
ज्येष्ठ नागरिक – खोइ, सन्चो छ भनौँ कि छैन भनौँ, सुगर प्रेसरको औषधि खाइरहेकी छु । अस्ति बाटोमा लड्यो । जचाउँदा त प्रेसर बढी भयो रे । के सञ्चो, के बिसन्चो । भनौँ भने घरको कुरा सबैलाई सुनाउँदै हिँड्यो भन्छ नभने पिरले शान्ति छैन, बुढाबुढीको दुःख कसले बुझ्ने खै ?
जनप्रतिनिधि – के भयो ? बज्यै, किन त्यस्तो भन्नुभएको तपाईँले ?
ज्येष्ठ नागरिक – खै के भनौँ, भूकम्पले घर भत्क्यो । दुःख सुख गरी बनाइराखेको बस्ने ठाउँ भएन । छोराहरूले घर बनाउनुप¥यो भनेपछि बुढोले आफ्नो नामको घर जग्गा सबै छोराहरूलाई नामसारी गरिदिनुभयो । दायाँबायाँ छिमेकीहरूले घर बनाए । हामीले बनाउन सकेनौँ, दमको रोगी श्रीमान् बित्नुभयो । छोराहरूले आ–आफ्नो घर बनाए । म बुढीलाई आफ्नो घरमा नराख्ने भन्छन् । हरे शिव ¤ मेरो कर्म के देख्नु परेको हो भन्दै रुन थालिन् ।
जनप्रतिनिधि – ल बज्यै नरुन्नुस् । हामी भनिदिन्छौँ तपाईँको छोराबुहारीलाई । वडा कार्यालयमा बोलाउँछाँै उहाँहरूलाई, अनि छलफल गरौँला ।
ज्येष्ठ नागरिक – पर्दैन नानी । फेरि मलाई उनीहरूको इज्जत बेइज्जत हुने गरी हिँड्यो भनी भन्छन्, भो कुरा नगरौँ । त्यसै त बुहारीले दिनभरि बाहिर बस्छन्, काम केही गर्नु छैन, नानाथरी कुरा गरेर बस्यो भन्छिन् । केही कुरा ग¥यो भने हप्काउँछिन् । बिहान बेलुका दुई छाक खाना पनि नपकाए त्यतिकै बस्छिन् भनेर सुनाउँछिन् । मेरो अगाडि कोही बस्दैनन् । राति पनि खाना खाएपछि उनीहरू सुटुक्क कोठामा जान्छन् टी.भी. हेरेर बस्छन् । छोरीहरू कहिलेकाहीँ आउँछन् । आएको देखी सहनन्, बोल्दैनन् पनि । छोरालाई भनुँ नकराउनु आमा चुप लागेर बस्, सबैको घरमा यस्तै हो, आफूले सकेको काम गरेर के हुन्छ ? भन्छ ।
हामीले दुःख गरी कमाइराखेको घर जग्गा आज उनीहरूको भो रे । के छ र तिम्रो ?, के दिएको छ हामीलाई, सबै घरव्यवहार चलाउनुपर्छ भनी सुनाइरहन्छ के गर्नु । मैले नबोली चुप लागेर सुन्नुपर्छ । कहिलेकाहीँ खाना नपकाए खान पनि बोलाउँदैन । उनीहरूमात्र खाएर जान्छन् । घरमा पालिराखेको कुकुरलाई बेलामा नुहाइदिन्छ तर मेरो लुगा धोई दिँदैन उनीहरूको मात्र धुन्छ । छोरालाई भन्दा सकेको आफैँ धोउ नसके राखिराख भन्छ, मीठो खानेकुरा खाने भनेको त परको कुरा हो । मसँग व्यवहार पनि राम्ररी गर्दैन । बरु यसरी बाहिर बस्यो भने मन आनन्द हुन्छ । दुःख सुखको कुरा गर्दा त्यही भएर सधैँ बाहिर आउँछौँ हामी ।
जनप्रतिनिधि – उहाँको कुरा सुनेर मन भकानिएर आयो । आँखा रसायो । नरुनुस् बज्यै । हामी वडामा छलफल गरौँला । हरेक समस्याको समाधान हुन्छ । हामी सम्झाउँछौँ ।
९ महिना गर्भमा राखी जन्माएर दस धारा दूध खुवाई आफूले खाइनखाई दुःखसुख गरी हुर्काइ बढाइराखेको सन्तानले आफ्नो आमाबुबा बुढाबुढी भएको बेलामा माया, साथ र सहयोग गर्नुपर्छ । यस्ता व्यवहारहरू हेर्दा कुनचाहिँ आमाबुबाको मन नदुख्ला ? हिजो ज्येष्ठ आमाबुबाले दुःख मेहनत गरी कमाइराखेको सम्पत्ति र जग्गा आज मेरो हो भनी आमाबुबालाई दुव्र्यवहार गर्नु कदापि उचित होइन । हरेक छोराहरूले आज मैले यस्तो दुव्र्यवहार गर्दा भोलि मलाई पनि यस्तै व्यवहार हुन्छ भनी किन सोच्न सकेन एक महिलाले । अर्को महिलामाथि किन यस्तो दुव्र्यवहार ? किन एउटी बुहारीले सासूलाई आमाको व्यवहार गर्न सकिन । यहाँ जस्तै मेरो माइतमा पनि बुहारी र भाउजूहरू हुनुहुन्छ, मैले यहाँ राम्रो व्यवहार गरे उहाँहरूले पनि राम्रो व्यवहार गर्नुहुन्छ भन्ने भावना किन विकास हुन सकेन ? ज्येष्ठ नागरिकलाई सम्मान र माया दिनु हरेक छोराछोरीको कर्तव्य होइन र ? आज हाम्रो समाजमा यस्ता कैयौँ घटनाहरू छन् । ज्येष्ठ नागरिक शारीरिक र मानसिक यातना भोग्न बाध्य छन्, राजनैतिक व्यवस्था फेरियो, आर्थिक अवस्थामा सुधार भयो, सामाजिक र सांस्कृतिक परिवर्तन हँुदै छ तर नैतिक व्यवहारमा कमी देखियो । अतः ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तनको खाँचो छ , उहाँहरूलाई माया, सद्भाव र सम्मानको खाँचो छ ।
आज हामी शिक्षित त भयौँ । तर, हामीले सभ्य व्यवहार गर्न सकेनौँ । समाजमा देखावटी व्यवहार र क्रियाकलाप बढी देखियो । हामीले ज्येष्ठ नागरिकप्रति उचित व्यवहार र माया दिन सकेनौँ† ज्येष्ठ नागरिक (आमाबुबा) को महत्व बुझ्न सकेनौँ । उचित स्याहार, व्यवहारले उहाँहरूको दीर्घ जीवनमा असर पर्छ । आमा बुबाको साथ र आशीर्वादलाई हामीले महत्व दिएनौँ । आज हरेक घर, परिवार र टोलटोलमा ज्येष्ठ नागरिकप्रतिको दायित्व र कर्तव्यबारे छलफल हुनु आवश्यक छ । ज्येष्ठ नागरिकलाई उचित व्यवहार र माया गरौँ । साथ र सद्भाव देखाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *