न्गुएन थि डिन्ह (Nguyen Thi Dinh)
- भाद्र १२, २०८३
प्रधानमन्त्री प्रचण्डलाई पसिना पुछ्ने पनि फुर्सद छैन । मुलुकमा विकासको सिन्को सर्दैन । रोपाइँको चटारो दैलोनिर आइसक्यो । किसानहरू मल कहाँ पाइन्छ भनी मल पाइने सम्भावना भएका ठाउँहरूमा जेठको उखर्मौलो घामको पर्वाह नगरी दिनभर लाम लाग्छन्, घाम ढल्केपछि रित्तो हात घरतिर लम्कन्छन् । सरकार फुर्सदिलो छैन । बैङ्कहरूमा पैसा छ रे तर ऋण लिन मान्छेहरू आउँदैनन् रे । ऋण, मल, बीउ पाए नपाएको कुरा सल्लाको वनमा आगो फैलेभन्दा छिटो फैलन्छ । सहकारी आन्दोलन हरूवा कुकुरले पुच्छर लुकाएझैँ आफ्नो अस्तित्व लुकाएर भाग्यो लघुवित्तझैँ । सम्बद्ध संस्थाहरू पनि उही ड्याङको मूला भए । सिँचाइलाई नेपालले कहिल्यै प्राथमिकता दिएको पाइँदैन । आकास रसाउनुपर्ने बेलामा सुकेको छ । कति किसानले खडेरी परेकोले बीउ राख्नै पाएनन् । राखिसकेको बीउ पनि चिस्यानको अभावले उम्रन सकेन । उम्रेको बीउ पनि सुकेर छुट्टि । कृषिप्रधान देश नेपालको अवस्था यस्तो छ । खाद्य सुरक्षा सबै सुरक्षाभन्दा पहिलो नम्बरमा आउँछ । तर, कृषिको यस्तो भयावह स्थिति छ भने परिणाम कस्तो होला ? सरकार प्रशासन सुचारूरूपले सञ्चालन गर्न नसक्ने भयो । सरकारी कर्मचारीहरूले आ–आफ्नो राजनीतिक निष्ठा सुहाउँदा निजामती कर्मचारी सङ्घ खोली प्रशासनलाई पङ्गू बनाए । कर्मचारीलाई अन्यथा भए त्यसको प्रतिकार गर्न एउटा निजामती कर्मचारी संस्था बनाए पर्याप्त हुनेमा पार्टीपिच्छे निजामती सङ्घ । यो हो स्थिति ।
कुरो होइन काम गरौँ
सङ्घीय संसद् हे¥यो भने भएको जाँगर पनि हराएर जान्छ । संसदीय समितिहरू जसलाई मिनी पार्लियामेन्ट – साना संसद् भनिन्छ गठन हुनै लामो समय लाग्यो । अब सभापति छान्न सकिएको छैन । सभापति नभएका समितिको औचित्य के र कति ? प्रधानन्यायाधीश एक जना उमेर हदका कारण कार्यवाहकमै अवकाश पाउनुभयो । अर्को कार्यवाहक भ्याउनु होला केही महिना वा केही दिन अनि उहाँ पनि अवकाशमा ! दुई घण्टा लामो नीति र कार्यक्रमको भाषण भयो । तीन घण्टा लामो बजेट भाषण भयो । जिल्ला प्रशासन कार्यालयमा रहेको निर्वाचन आयोगको एकाइ खारेज हुने भनियो । तर, अहिले प्रधानमन्त्री खारेज हुने होइन यसो मिलाउनमात्र खोजिएको हो भनी चोख्याउन खोजिएको छ । कैयौँ अरू यस्ता मुद्दा छन् जो समयमा नै सल्टाएन भने महाभारत हुनेछ । विषय प्रायः काँचा छन् । प्रशासन आफ्नो ठाउँमा छैन । बैङ्कमा अलि अघि पैसा नभएर छुट्टि । अब अहिले पैसा छरे र तर ऋण वा सापटी लिने मान्छे नआएर छुट्टि । बसे पनि सुख छैन, उठे पनि सुख छैन । कर्मचारी सरकारको मुठीमा हुनुपर्ने राजनीतिक पार्टीका मुठीमा छन् । समिति आयोग बन्छन् कतिपय मुद्दामा तर प्रतिवेदन सरकारका हातमा परेपछि थन्क्याइन्छन् । त्यो पढ्न पनि पढिँदैन । अर्को समिति वा आयोग बन्छ तिनका प्रतिवेदन पनि एवंरितले थन्किन्छन् । पत्रकारहरूको न्यूनतम पारिश्रमिकको कथा त्यस्तै छ । जे गर्छु भन्छ र त्यो व्यवहारमा पनि हुनुप¥यो । यति भयो भने पुग्छ हामीलाई । तर, काम फिटिक्कै हुँदैन ।
पैसाले खेलाएको देश
सरकार चलाउन नसकेकै हो ? केन्द्र सरकार पूर्ण बन्न नै धेरै समय लाग्यो । अब त सरकार सुचारूरूपले चल्नुपर्ने हो । तर छाँटकाँट राम्रो छैन । प्रदेश सरकारको बजेट असार १ गते आउनुपर्ने तर कति प्रदेशमा सरकार नै अल्पमतमा छ । अल्पमत सरकारको भर नै के हुन्छ र ! के हाम्रा पार्टीहरू पार्टी चलाउन र सरकार चलाउन साँच्चै असमर्थ नै हुन् त ? मुख चलाउन सजिलो सरकार चलाउन कठिन ! फेरि हाम्रो जस्तो बरालिएको मुलुकमा ! अनुशासनमा बस्न सबैलाई कठिन ! फेरि पार्टी वा सरकार चलाउन पनि अनुशासन अपरिहार्य हुन्छ । हामीकहाँ पद नपाउञ्जेल भक्त पद बहाल गरेपछि खै के देउता चढ्छन् । पैसाका हात परेपछि सबै उस्तै ? यो देश पैसाले खेलाएको देश हो । राजखलका माइला भाइ ज्ञानेन्द्र शाहसँग धेरै पैसा भएको रानी ऐश्वर्यले थाहा पाउँछन् र ज्ञानेन्द्रले राज्य पल्टाउलान् भनी ऐश्वर्यलाई ज्ञानेन्द्रभन्दा धनी हुन प¥यो । तब एउटा संस्थाको अध्यक्ष भई सामाजिक सेवाको नाममा एउटा राष्ट्रको नायक राजा वीरेन्द्रले यो कथा कति बुझेका थिए कति बुझेका थिएनन् त्यो यकिन भन्न सकेनन् । अन्ततः ज्ञानेन्द्र र ऐश्यर्वमा राजनीतिक द्वन्द्व सिर्जना भइसकेको थियो । सक्रिय राजतन्त्र भइरहेको भए मेरो अल्पबुद्धिमा के लाग्छ भने यो देशको हुकुम ऐश्वर्यले लिन खोज्थिन् होला ।
तेस्रो विश्व युद्ध भयो भने ?
पानी प्राणीको प्राण हो । त्यही पानीको मुलुकमा धेरै ठाउँमा अभाव भइरहेको छ । हाम्रा विकासका आँखाले विकास भनेको सडक विकास मात्र देख्छ । उसले देखेको विकास सडक हो । सडक मोटर गुड्ने सडक बनाउने बेला आफ्नो प्राण पानी र पानीको मुहान, पानीको मूल देख्दैन र जताततै निर्वाचित जनप्रतिनिधिको डोजर पसाली हाल्छ । डोजरले पानीको मूल चिन्दैन । पानी जति संवेदनशील पदार्थ हो त्यो त्यस्तै संवेदनशील ठाउँमा मात्र पाइन्छ । यो मसिनो कुरा जनमतले मदमत्त भएको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र नगर प्रमुख, उपप्रमुख पानीजस्तो दुर्लभ पेय पदार्थको गरिमा तथा महिमा बुझ्दैन । फलस्वरूप डोजरे विकासले खानेपानीको, सिंचाइको पानी – प्राणीमात्रको प्राण पानीको मुहान नै पोलिदिन्छ । अब गाउँ नै प्राणविनाको भयो किनकि मान्छे नै पो त पानीको मुहानमा डोजर लगाएर सुकायो । यसपाला प्रकृतिले नै कम पानी पार्छ रे । राष्ट्रिय निकुञ्जहरूमा पानीको अभाव भएका ठाउँमा पोखरी खनी वन्यजन्तुलाई पानी खुवाउने गरिएको थियो । अब त पोखरी पनि सुक्न लागे रे । अब वन्यजन्तु कहाँ पौडी खेल्छन्, कहाँको पानी खान्छन् ? गम्भीर प्रश्न उपस्थित छ । यसकारण, पानीको मुहान नमास्ने, अरू विकास बरू कम गरौँ, पानीको मूल जोगाऊँ । यो विषय मैले सशक्तरूपमा उठाउन सकिनँ मात्र कोट्याएँ । संसारले पानीको महिमा र गरिमा बुझेको छ । त्यसैले उसको निष्कर्ष छ – तेस्रो विश्व युद्ध भयो भने पानीको लागि हुन्छ ।
Leave a Reply