भर्खरै :

जीवन बचाउन रक्तदान गरौँ

  • असार १, २०८०
  • मुक्तिसुन्दर जधारी
  • विचार
जीवन बचाउन रक्तदान गरौँ

‘रगत र प्लाजमा नियमित दान गरौँ । जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ !’ भन्ने मूल नाराका साथ १४ जून अर्थात् जेठ ३१ गते विश्व रक्तदाता दिवसको दिन नेपालका विभिन्न ठाउँमा विविध कार्यक्रम गरी मनाइयो ।
विश्वमा वि. सं. १९७१ देखि १९७५ सम्म प्रथम विश्व युद्धमा ३–४ करोड मानिसको मृत्यु भएमने थियो । वि.सं.१९९२ देखि १९९८ सम्म दोस्रो विश्व युद्धमा ६ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यो बेला धेरै मानिस रगतको अभावले मृत्यु भए । विश्व युद्धपछि घाइतेहरूलाई रगत दिएर बचाउन रक्तदानका कार्यक्रमहरू नियमित रूपमा हुँदै आएको थियो । यसरी रगत चढाउँदा केही बिरामीलाई राम्रो हुन्छ भने धेरैलाई साइड इफेक्ट हुन्थ्यो । कार्ल लान्ड स्टिनर नामका वैज्ञानिकले आठ वटा रगत समूह पत्ता लगाए र सोअनुसार बिरामीको रक्ततत्वअनुसार रगत दिएपछि साइड इफेक्टहरू धेरै कम भयो । उही वैज्ञानिक स्टिनरकै जन्मदिनको अवसरमा १४ जून २००४ देखि विश्व रक्तदाता दिवस मनाउने प्रचलन हुँदै आएको हो । खासगरी सम्पूर्ण रक्तदाताहरूलाई सम्मान गर्न र रक्तदानसम्बन्धी थप अभिप्रेरणा दिने उद्देश्यले यो दिवस मान्दै आएको देखिन्छ ।
मानवले रगत दान गरेर मृत्युबाट जोगाउन सक्नेबारे हामीले पर्याप्त यसको महत्व र महिमाको बारेमा बुझाउन सकिरहेका छैनौँ । त्यसैले कति मानिसहरू रगतको अभावमा मृत्युवरण गर्न बाध्य भएको समाचार आइरहेको छ ।
मानवीय सेवामा निसङ्कोच सेवा पु¥याउन सकोस् भनेर नै सन १८६३/६४ मा रेडक्रस सोसाइटी गठन भएको थियो । नेपालमा वि.सं. २०२० सालमा नेपाल रेडक्रस स्थापना भएको थियो । हुन त नेपालमा समस्या परेका मानिसहरूलाई सहयोग गर्न वि.सं.१९७४ सालमा परोपकार संस्था स्थापना भइसकेको थियो ।
नेपालमा सर्वप्रथम वि.सं.२००० सालमा पहिलो पटक समाजसेवी दयावीर सिंह कंसाकारले वीर अस्पतालमा रक्तदान गर्नुभएको थियो । वि.सं. २०१८ सालमा महिलाको तर्फबाट तारादेवी तुलाधरले नेपालमा पहिलोपटक रक्तदान गर्नुभएको थियो । विधिवतरूपमा रगतको सङ्कलन र आपूर्ति हेर्ने जिम्मा वि.सं.२०४७ सालमा नेपाल रेडक्रस सोसाइटीलाई जिम्मा दिइयो । केही वर्ष राम्रो व्यवस्थापनले गर्दा रगतको आपूर्तिमा सहज भएको महसुस गरियो । पछि संस्थाभित्रको अनियमितता र लापबाहीले गर्दा रक्तदाताहरूले रक्तदान गर्न हिचकिचायाए र रगत आपूर्तिमा समस्या आयो । रक्तदाताहरूले निःशुल्क दिएको रगत निजी सङ्घ÷संस्थाले पैसा कमाउने बाटो सम्झे । रक्तदाताले निःशुल्क दिएको रगत सामानको भाउजस्तै ठाउँअनुसार सेवाग्राहीले रगत लिन जाँदा त्यही रगतको मूल्य फरकफरक हुँदा र रगत नपाएर बिरामी मृत्यु भएको खबर समाचारमा आउँदा पनि सम्बन्धित निकाय मूकदर्शक भएको अवस्था थियो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजलगायत विभिन्न सङ्घ÷संस्थाको पहलमा विस्तारै स्थानीय निकायहरूले आ–आफ्नो क्षेत्रका जनतालाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छन् । यो प्रशंसनीय कार्य हो । अरू निकायहरूले पनि निःशुल्क रगत वितरणमा पहल गर्नुहुन अनुरोध गर्नुपर्दछ ।
हाम्रो शरीरमा त्यतिकै खेर गइरहने रगत तीन÷तीन महिनामा रक्तदान गरी मानिसलाई रगतको अभावबाट मृत्युवरण हुनबाट बचाऔँ । रक्तदान गरी आफू पनि स्वस्थ होऔँ र आत्मसम्मानका साथ गौरवको अनुभूति गरौँ ।
पूर्वअध्यक्ष, स्वयंसेवी रक्तदाता समाज, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *