भर्खरै :

सूनपामा बजेटविनाको नीति तथा कार्यक्रम !

सूनपामा बजेटविनाको नीति तथा कार्यक्रम !

सूर्यविनायक नगरपालिकाको आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा बीउबिजन बैङ्क, चिस्यान केन्द्र, प्रशोधन केन्द्र, कृषि प्रयोगशाला तथा प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने योजना उल्लेख भए पनि बजेट नै राखिएको छैन ।
खेतीको समयमा किसानलाई मल, बीउ उपलब्ध नगराउने शासक दलकै उम्मेदवारी भएका व्यक्तिको नेतृत्वकोे नगरपालिकाबाट किसानको हितमा काम हुने दिवास्वपना मात्र हो ।
नगरपालिकाले स्वीकृत भू –उपयोग योजनाअनुसार जग्गाको वर्गीकरण गर्दा आवासीय एवम् व्यवसायिक क्षेत्र बढी देखायो । कम मात्र कृषि क्षेत्र घोषणा गरेको नगरपालिकाले हचुवाको भरमा अधिकांश ठाउँका जग्गा खाली रहेको भनी बजेट वक्तव्यमा उल्लेख गर्नु झूटको खेती हो । कृषि क्षेत्र मासेर निजी प्लटिङ गर्न दिने नगरपालिकाले जग्गा खाली भएको बताउनु पुनः प्लटिङ गर्ने सङ्केत हो ।
प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्ने, अपाङ्गताका लागि दिवा सेवा केन्द्र र शैक्षिक संस्था सञ्चालन गर्ने, महिला तथा बालबालिकाको सेफहाउस सञ्चालन गर्ने, बालगृह सञ्चालन गर्ने नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख गरे पनि बजेट नै राखिएको छैन । यसबाट नगरपालिका नागरिकको सेवाबाट पन्छिएको स्पष्ट हुन्छ ।
सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण, नागरिक बडापत्रजस्ता सुशासनका औजारहरू कागजमा मात्र सीमित रहेको हुँदा नगरपालिका जनताप्रति उत्तरदायी नभएको छर्लङ्ग छ । सुशासनका लागि हरेक नगरवासीको प्रत्यक्ष र परोक्ष संलग्नता आवश्यक भएको तर्फ नगरपालिका सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *