भर्खरै :

धान दिवसमा नेताहरूको ओइरो

धान दिवसमा नेताहरूको ओइरो

असार १५ गते धान दिवस मनाउन चितवन जिल्लामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, केपी ओली र रवि लामिछाने हवाईमार्ग हुँदै आइपुगे । १४ गते गएको सुख्खा पहिरोले मुग्लिङ– नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा हजारौँ यात्रीहरू १५ गतेसम्म पनि बाटो नखुल्दा बिचल्लीमा थिए । यो पटक पनि यात्रामा भइरहेका धेरै मानिसहरूले असार १५ मनाउन पाएनन् ।
गर्मी यामको घाममा घण्टौँ लगाएर ५ केजी मलको लागि किसानहरू पालोमा पर्खनु पर्दथ्यो । अहिले पनि किसानले समयमै प्राप्त मल, बीउ पाउन सकेको छैन । उत्पादित वस्तु बिक्री वितरण गर्ने उचित बजार पाउन सकिरहेको छैन । एमाले नेता केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपाका बाबुराम भट्टराई चितवनको भिन्नभिन्न स्थानमा कार्यकर्तामाझ धान रोपाइँमा रमाए । सामाजिक सन्जालमा व्याप्तरूपमा छाएको नेताहरूको एक दिनको केही मिनेटको धान रोपाइँलाई जनताले भने रमिते सम्झे । विगतमा झैँ प्रचार र सस्तो लोकप्रियताकै लागि यी तीन नेताहरूले नौटङ्की देखाएको कुरा देशैभरिका जनताबाट आए ।
पर्व मनाउने, एक आपसमा दुःख साटासाट गर्ने, खुसी हुने, रमाउने मानवीय गुण हो । पर्व मनाउँदै गर्दा हिजोदेखि भोग्दै आएको किसानको समस्या समाधान गर्न यी मुख्य नेताहरू किन लाचार रहे ? असफल बने किन ? जनताको प्रश्न रहेको छ । त्यसकारण, सस्तो लोकप्रियता र चर्चामा आउन खोज्दै गर्दा भने चितवन आएका यी तीन नेता जनतामाझ हाँसोको पात्र बन्न पुगे । स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्ने, किसानहरूलाई उन्नत जातका बिउबिजन र उत्पादित वस्तुहरूको उचित मूल्यसहितको बजार व्यवस्थापन हुनुपर्ने चितवनका किसानहरूको माग हो । धान दिवस मनाउन आएका यी तीन नेताहरूलाई जनताले यही सल्लाह सुझाव दिएका छन् । मुग्लिङ–नारायणगढ सडक खण्ड सकभर स्तरीय बनाउन र विकल्पको रूपमा अर्को सडक बाटो खुलाउनुपर्ने जनताको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *