भर्खरै :

वैश्विक तापमान वृद्धि र पानीको निजीकरण

वैश्विक तापमान वृद्धि र पानीको निजीकरण

पानीको अभावले गर्दा उरुग्वेका राष्ट्रपति लुइस लाकाल पौले हालै राजधानी मोन्टेभिडियोमा आपत्काल घोषणा गरे । उरुग्वेले ७४ वर्षयताकै सबैभन्दा ठूलो खडेरी झेल्दै छ । यसको निराकरणको निम्ति जलाशयको निर्माण गर्ने र बोतलको पानीमा कर मिनाहा गर्ने नीति अवलम्बन गरिने बताइएको छ ।
गरिब जनताको निम्ति बोतलको पानीमा पहुँच बढाउने उद्देश्य देखिन्छ । पिउने पानीको सङ्कटलाई समाधान गर्न कर मिनाहा गर्नु तापमान वृद्धि, बढ्दो खडेरी तथा बाढीले ल्याएका समस्या सुल्झाउने मानक ‘नवउदारवादी’ समाधान हो । पैसा तिर्नसक्ने जनतालाई पानी वितरण गर्ने सेवाको ‘जिम्मेवारी’ बोतल पानीको व्यापार गर्ने निजी क्षेत्रलाई दिनु नै ‘नवउदारवादी’ समाधान हो । उरुग्वेका राष्ट्रपतिको ‘उदार’ नीतिले पैसा तिर्न नसक्ने गरिबहरू पेलानमा पर्ने निश्चित छ । उनीहरू पानीको पहुँचबाट वञ्चित हुने निश्चित छ ।
तापमान वृद्धिको सिलसिलामा धेरै प्राकृतिक विपत्ति देखिँदै छन् । तर, ती विपत्तिलाई उरुग्वे सरकारले ठूला निजी कम्पनीहरूलाई नाफा कमाउने अवसरमा फेर्दै छ । यो नवउदारवादको अर्को रूप हो ।
घोषित विपत्ति र बोतल पानीको उद्योग
यो वर्ष जूनको महिनामा अमेरिकी राष्ट्रिय सामुद्रिक र वायुमण्डलीय प्रशासन (एनओएए) ले ‘एल निनो परिघटना’ बढ्ने घोषणा ग¥यो । यस परिघटनाअन्तर्गत फेरि एकचोटि चरम तापक्रम वृद्धि हुनेछ । सो संस्थाका मौसमविदले यस्तै भविष्यवाणी गरेका छन् । अर्कोतिर विश्व मौसम सङ्घ (डब्ल्युएमओ) ले यो वर्ष सन् २०२३–२७ को अवधि सबैभन्दा तातो हुने चेतावनी दिएको छ । गएको वर्ष जे भयो, त्यसबाट यो चेतावनीको अर्थ के हो भनी बुझ्न सकिन्छ ।
सन् २०२२ मा युरोपलाई सघन तापलहरले प्रभावित ग¥यो । गत ५०० वर्षकै सबैभन्दा ठूलो खडेरीले युरोपलाई सताएको धेरै वैज्ञानिकले त्यसबेला भनेका थिए । डेन्युब, राइन, पो र भोल्गाजस्ता ठूला नदीमा पानीको मात्रा कति घट्यो भने जहाज पनि चलाउन मुस्किल भयो । पोर्चुगल, स्पेन, फ्रान्स र इटालीलाई डढेलोले सतायो ।
पानी जोगाउने निराशापूर्ण जमर्कोमा फ्रान्स र पोर्चुगलमा सार्वजनिक स्वीमिङ पुलहरू बन्द गरियो । बेलायत र अन्य युरोपेली देशहरूमा निजी बगैँचामा पानीको प्रयोग गर्नमाथि बन्देज नै लगाइयो ।
पानीको उपभोगलाई घटाउने गञ्जागोल प्रयासबिच बोतल पानीको उद्योगलाई भने कसैले छोएन । बरु गर्मी बढ्दै जाँदा यसको उत्पादन झन् बढ्यो । फ्रान्सको भित्तेलमा यस्तै बिब्ल्याँटो प्रयोग देखियो । नेस्ले कम्पनीलाई जत्ति पनि भूमिगत पानी निकाल्ने छुट दिइयो । पूरै भित्तेल क्षेत्र नै खडेरीले छटपटिँदा उसलाई बोतलमा पानी भरेर बेच्न दिइयो । जब कि त्यही बेला सरकारी अधिकारीहरूले विभिन्न उद्योग तथा सर्वसाधारणलाई नै पानीको उपभोगमा सीमा लगाइसकेका थिए । एक संस्थाले कर्मचारीहरूको त्यो हर्कतको विरोध गरेको थियो ।
बोतल पानीको उद्योगको लागि तापलहर लाभदायी साबित भयो । बोतल पानीको उत्पादन र ढुवानीले विश्व तापमान वृद्धि र पानीको अभावलाई बढावा दिन्छ । प्लास्टिकको बोतल बनाउन, त्यसमा पनि पीईटी बोतलको उत्पादनले पेट्रोलियम पदार्थको खपत बढ्छ र अचाक्ली पानी खान्छ । एक अध्ययनअनुसार एक लिटर बोतल पानी उत्पादन गर्न तीन लिटर पानी खर्च हुन्छ । पानीका बोतललाई कारखानाबाट बजारमा पु¥याउन ट्रकको प्रयोग हुन्छ । तिनले अझ बढी जीवाश्म इन्धन प्रयोग गर्छन् ।
त्योभन्दा पनि ठूलो झमेला बोतल पानीको समुद्रपार ढुवानी हो । जस्तो भित्तेलको बोतल पानी नेस्ले कम्पनीले जर्मनी र स्वीजरल्यान्डमा निर्यात गर्छ । यसले स्थानीय जलचक्रमा दखल पुग्छ र सो क्षेत्रमा पानीको हाहाकार बढ्न पुग्छ ।
बोतलमा राखिने पानी अधिकांशतः भूमिगत पानी हुन्छ । धेरै वर्ष लागेर जम्मा भएपछि जमिनमुनि पानी जम्मा हुन्छ । जम्मा हुने दरभन्दा निकाल्ने दर बढेमा भूमिगत जलसम्पदा गम्भीर जोखिममा पर्छन् । फ्रान्सेली अध्येताहरूले जनाएअनुसार भित्तेल सहरको हविगत यस्तै छ । त्यहाँको भूमिगत जलसम्पदा सुक्दै छ । केही जलसम्पदा त हजारौँ वर्ष पुराना पनि हुन्छन् । यस्तो स्थितिमा त्यहाँको पानीमा सट्टाभर्ना हुँदैन । त्यहाँबाट पानी निकाल्ने मात्र हुन्छ र तिनीहरू सुक्नेबाहेक अर्को कल्पना गर्न सकिन्न ।
बोतल पानी उद्योगका शक्तिशाली मालिक
समाजका अन्य तप्काले पानीको उपभोग घटाइरहँदा सन् २०२२ को गम्भीर खडेरीको बेला बोतल पानीका कम्पनीहरूले धमाधम पानीको दोहन गर्न पाउनुका पछाडि राजनीतिक सत्ताले काम गरेको छ । बोतल पानी कम्पनीहरूको आर्थिक शक्ति ठूलो छ । नेस्ले, डानोन, कोकाकोला र पेप्सी विश्वकै ठूला बोतल पानी कम्पनी हुन् । यी कम्पनीहरूसँग सम्झौता गरेर मात्र स्थानीय साना पानी व्यापारीहरू बजारमा टिक्ने गरेका छन् ।
नेस्ले कम्पनीको अगुवाइ र स्वीस सरकारको सहायतामा सन् २०११ मा ठूला बोतल पानी कम्पनीहरूले ‘जलसम्पदा समूह’ (डब्ल्यूआरजी) नामक सङ्गठन बनाएका थिए । यस कम्पनीलाई आज विश्वका धेरै देशले सहयोग गर्छन् । यो संस्थाले पृथ्वीभरि जहाँ सकिन्छ, त्यहाँ पानीलाई निजीकरण गर्ने लक्ष्य लिएको छ । बोतल पानीको उत्पादन र उपभोगको पक्षमा उभिनु यस संस्थाको घोषित लक्ष्य हो । नेस्ले र कोकाकोलाजस्ता कम्पनीहरूको वार्षिक नाफा विश्वका धेरै देशहरूको कूल बजेटभन्दा पनि ठूलो हुने गरेको तथ्य सबैले याद राख्नुपर्छ । तिनको आर्थिक शक्तिमा केही देशको राजनीतिक सत्ता पनि जोडिन आउँछ । ती देशले आफ्नो विदेश नीतिको प्रयोग गरेर दक्षिणी गोलाद्र्धका धेरै देशमा पानीको निजीकरणलाई बढावा दिँदै छन् । ‘विकास सहयोग’ को आवरणमा उनीहरूले यस्तो गर्दै आएका छन् । स्वीजरल्यान्डमा खुलेआम यस्तो भयो । सन् २०१८ यता स्वीस विकास तथा सहकार्य संस्थानका उपनिर्देशक रहेका क्रिस्चियन फ्रुटिगर पहिले नेस्लेका विश्व मामिला निर्देशक थिए । निजी कम्पनीहरूलाई २० वा सोभन्दा बढी समयसम्म भूमिगत पानी प्रयोग गर्न छुट दिएर पानीको निजीकरण हुँदै आएको छ । अहिलेसम्म केही देशले मात्र पानीको निजीकरण गर्नुपर्ने दबाबको प्रतिवाद गरेका छन् ।
फ्रान्सको भित्तेल क्षेत्रमा नेस्ले कम्पनीले गरेको भूमिगत पानीको दोहनविरुद्ध ‘कलेक्टिफ’ नाउँको संस्थाले सङ्घर्ष गर्दै छ । आफ्ना जलसम्पदा र पर्यावरणको रक्षामा त्यस क्षेत्रका नागरिकहरू आन्दोलन गर्दै छन् । भूमिगत जलसम्पदामा क्षति पुगेको पर्याप्त प्रमाण हुँदाहुँदै पनि प्लास्टिकजन्य प्रदूषणले त्यहाँ ठूलो विपत्ति लाइएको थियो । यद्यपि, स्थानीय कर्मचारीहरूले नै ती कम्पनीसँग साँठगाँठ गर्दै थिए । स्थानीय जनता र नेस्ले कम्पनीबिच अमेरिका र क्यानडामा समेत यस्तै लडन्तभिडन्त चल्दै छ । फ्रान्स, संरा अमेरिका र क्यानडा विकसित प्रजातान्त्रिक देश हुन् र त्यहाँका संस्थानहरू बलिया छन् । तैपनि, यी देशका नागरिक समूहहरूले आफ्नो पर्यावरण तथा जलसम्पदा जोगाउने सङ्घर्षमा धेरै बाधा अड्चन झेल्नुप¥यो । कम विकसित देशमा ती कम्पनी र जनसमूहहरूबिच यस्तै सङ्घर्ष भए झन् कस्तो समस्या आइलाग्ला हामी भन्न सक्दैनौँ । किनभने, अल्प विकसित देशमा प्रजातान्त्रिक संस्थानहरू कमजोर हुन्छन् र आत्मरक्षाका लागि जनताको पक्षमा बिरलै मात्र कानुन हुन्छन् । प्रेसको पहुँचमा पनि जनताले समस्या भोग्नुपर्छ ।
दक्षिणी गोलाद्र्धका धेरै देशमा सरकारी पानी कम्पनीहरूलाई निजीकरण गर्नमा ‘डब्ल्यूआरजी’ ले महत्वपूर्ण भूमिका खेल्दै छ । पानी वितरण कम्पनीहरूको जनतालाई पिउने पानी वितरण गर्ने क्षमता घटाइदिएर र मध्यम वर्गका मानिसहरूलाई बोतलको पानी पिउने बानी लगाएर ‘डब्ल्यूआरजी’ ले आफ्नो दुनो सोझ्याउँदै आएको छ । यसले गर्दा बोतलको पानी किन्न नसक्ने गरिब वर्ग गुणस्तरीय पानीको पहुँचबाट टाढिँदै जान्छ ।
दक्षिणी गोलाद्र्धमा प्लास्टिक बोतलहरूले प्रदूषणको अर्को गम्भीर समस्या थपेको छ । फ्रान्स, जर्मनी वा स्वीजरल्यान्डमा समेत प्लास्टिक बोतलको पुनःप्रयोग असम्भव बन्दै गएको छ । धेरै प्लास्टिक वातावरणमा, नदी वा समुद्रकिनारमा थुप्रिँदै गएको छ । दक्षिणी गोलाद्र्धका धेरै देशमा यस्ता प्लास्टिक बोतलको पुनः प्रशोधन अत्यन्त न्यून छ । तर, बोतल पानी उद्योगले गर्ने प्रदूषण काबुबाहिर गएको छ । पर्यावरणीय लागत समाजको टाउकोमा थुप्रिँदै छ र नाफाजति कम्पनीहरूले कुम्ल्याउँदै छन् ।
सरकारी पानीजन्य संस्थान र जलवायु परिवर्तन
सरकारी पानीजन्य संस्थानले तापमान वृद्धिको प्रभाव कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । खडेरी पर्दा वा बाढी जाँदा समेत सफा र गुणस्तरीय खानेपानी वितरण गरेर सरकारी संस्थानहरूले सेवा दिन सक्छन् । पश्चिम युरोपेली देशहरूमा हामीले धाराको पानी पिउन सक्छौँ । सार्वजनिक वितरण प्रणालीबाट आएको पानी दूषित हुनसक्छ । तर, यस्तो बिरलै हुन्छ किनभने कडा कानुनमार्फत तिनले सरसफाइमा ध्यान दिन्छन् । बोतल पानी उद्योगले यसरी सफाइमा ध्यान दिएको पाइन्न । यद्यपि, धेरै मानिसले सरकारी कम्पनीको पानीमा भन्दा निजी पानी कम्पनीहरूको पानीको गुणस्तरीय हुने ठान्छन् । यो ती कम्पनीको प्रचारबाजीको परिणाम हो । सार्वजनिक पानी कम्पनीको गुणस्तरलाई बदनाम गर्न उनीहरूले वर्षौँदेखि दुष्प्रचार गर्दै आएका छन् । सरकारी जलसंस्थानहरू हुनेजत्ति विज्ञ प्राविधिक र सरसफाइविद् कुनै पनि बोतल पानी कम्पनीले राखेको छैन । फेरि नागरिकलाई पानी उपलब्ध गराउने सार्वजनिक कम्पनीहरू जनताप्रति जति जवाफदेही हुन्छन्, निजी कम्पनी हुँदैनन् । नाफा कमाउनु नै प्रत्येक निजी बोतल उद्योग, पानी वितरण गर्ने कम्पनी तथा सरसफाइ कम्पनीहरूको प्रमुख उद्देश्य हुन्छ । बेलायतको पानी वितरण गर्ने र सरसफाइको क्षेत्रमा अधिकांशतः निजी कम्पनीहरूको रजाइँ छ । मार्गरेट थ्याचरको पालामै ती क्षेत्रमा निजीकरण भएको थियो । सन् २०२२ को खडेरी र तापलहरपछि बेलायतका ती निजी कम्पनीहरूलाई राष्ट्रियकरण गर्नुपर्ने विषयमा बहस चल्दै छ । किनभने, ती कम्पनीहरूले सङ्कटको बेला सेवा दिन नसक्ने अनुमान गरिँदै छ ।
जर्मनी, स्वीजरल्यान्ड र अन्य पश्चिम युरोपेली देशजस्तै फ्रान्समा पनि उत्तम सरकारी पानी कम्पनी छ । यी देशमा बोतलको पानी विलासी वस्तु हो । तर, समाज र वातावरणलाई ध्यान दिँदा बोतलको पानी निकै महँगो विलास साबित हुँदै छ । विश्व तापमान वृद्धिको यथार्थ हेर्दा ठूलो परिवर्तनको आवश्यकता छ । खडेरीहरू बढ्दै जाने सम्भावना छ । यस्तो स्थितिमा भूमिगत जलसम्पदालाई हाम्रो भविष्यलाई भन्दा पनि भविष्यको पुस्ताको निम्ति जगेडा मान्नुपर्छ । यो जगेडा सम्पदालाई मुट्ठीभर निजी कम्पनीहरूको नाफा र लोभको लागि रित्याउनुहुँदैन । पश्चिम युरोपका नागरिक समाजहरूले बोतल पानीको उत्पादन र किनबेचमाथि प्रतिबन्ध लगाउनुपर्छ भनी माग राख्नुपर्ने बेला आएको छ । विश्व तापमान वृद्धिमा आफ्नो देशको योगदान घटाउन पहिलो पाइलाको रूपमा उनीहरूले यो काम सजिलै गर्नसक्छन् । यी देशमा सरकारले नै नागरिकहरूलाई गुणस्तरीय पानी दिइरहेको हुनाले यो काम सम्भव छ । यति सानो पाइला पनि नचाल्ने हो भने यी देशका सरकारहरूले तापमान वृद्धिको विश्वव्यापी समस्या समाधान गर्ने प्रतिबद्धता पालना गर्लान् भनी सोच्न सकिएला र ?
यहाँनिर फ्रान्सको महत्वपूर्ण जिम्मेवारी हुन आउँछ किनभने फ्रान्सको भित्तलमा प्लास्टिक बोतलमा पानी भर्ने काम सुरु भएको थियो । पहिले बोतल सीसाको हुन्थ्यो । त्यसले बोतल पानी उद्योगलाई साँघुरो तुल्याएको थियो । प्लास्टिकको बोतलले पानी व्यापारीहरूलाई विश्वभरि फैलिने बाटो दियो । भित्तलमा सुरु भएको प्लास्टिक बोतलको प्रदूषण पृथ्वीभरि नै फैलिनेछ । त्यसैले ‘कलेक्टिफ’ संस्थाले भित्तलमा सङ्घर्षको मोर्चा कसेको छ । यो सङ्घर्षको विश्वव्यापी महत्व छ । फ्रान्सबाटै बोतल पानी उद्योगलाई खत्तम गर्नुले विश्वभरि नै महत्वपूर्ण सन्देश जानेछ । भित्तलबाटै त्यो कामको शुभारम्भ हुनुपर्छ । प्रदूषणका खिलाफमा पानीलाई जनताको भलाइ र मानव अधिकारको रूपमा अथ्र्याउनुपर्छ ।
स्वीजरल्यान्डको पनि अह्म जिम्मेवारी छ । किनभने, बहुराष्ट्रिय कम्पनी नेस्लेको मुख्यालय स्वीजरल्यान्डमै छ । नेस्ले बोतलमा पानी बेच्ने विश्वकै सबैभन्दा कम्पनी हो ।
जलसङ्कटको बेला बोतल पानी कम्पनीहरूको कर मिनाहा गरेर उरुग्वेका राष्ट्रपति लाकाल पौले आफूलाई कोकाकोला, डानोन र नेस्लेजस्ता कम्पनीहरूको हितचिन्तक साबित गरेका छन् । तर, विश्वभरि धेरै देशका सरकारले उनको बाटोलाई उदाहरणको रूपमा अपनाउनेछन् र त्यसलाई ‘जिम्मेवार’ र ‘दिगो समाधान’ को रूपमा प्रचार गर्नेछन् । ‘डब्ल्युआरजी’ ले अन्य देशलाई पनि उरुग्वेको उदाहरण अपनाउन उत्साहित गर्ने निश्चित छ ।
ब्राजिल र ल्याटिन अमेरिकाले अहिले विश्वलाई अर्को बाटो पनि सम्भव छ भनी देखाउने बेला आएको छ । यहाँका सरकारी पानी कम्पनीहरूले पहिलेदेखि नै यो बाटो देखाउँदै आएका छन् । विश्व नै तापमान वृद्धिबाट समस्याग्रस्त भइरहेको आजको घडीमा सारा संसारले युरोपलाई झक्झक्याउनुपर्छ । दक्षिणी गोलाद्र्धका देशमा खानेपानीको सार्वजनिक वितरणमा युरोपका सरकारहरूले जोड दिनैपर्छ । बोतल पानी उद्योगले पृथ्वीका दक्षिण र उत्तर दुवै गोलाद्र्धलाई ठूलो क्षति पु¥याएका छन् । तापमान वृद्धिले निम्त्याएका गम्भीर समस्याहरूलाई नवउदारवाद र त्यसको निजीकरणको बुटीले समाधान गर्न सक्दैन । नवउदारवादले त यी विपद्लाई आफ्नो नाफा बढाउन र समाजको निर्णय क्षमतामाथि आफ्नो सत्ता लाद्ने मौकाको रूपमा प्रयोग गर्छ । सरकारी कम्पनी तथा सार्वजनिक एवम् पारदर्शी जल व्यवस्थापन नै अगाडिको बाटो हो ।
(लेखक ब्राजिलका राजनीतिक अभियन्ता हुन् ।)
(एमआर अनलाइनबाट)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *