भर्खरै :

कथित विश्व गुरु भारतमाथि बज्रपात !

कथित विश्व गुरु भारतमाथि बज्रपात !

भारतीय रूपैयाँ विश्वको सञ्चित मुद्राको रूपमा स्थापित हुनु भारत ‘विश्व गुरु’ भएको पुष्टि हुन्छ भन्दै भात खान पनि सरकारले दिएको ५ किलो खाद्यान्नमा बाँचिरहेका ८० करोड भारतीयहरू खुसी देखिन्थे । भारतीय रूपैयाँ विश्वको सञ्चित मुद्रा भएको भन्दै मोदीले सिकाएको ‘विश्व गुरु’ शीर्षकको सुमधुर गीतमा मोदीको भाजपाका कार्यकर्ताहरू नाचिरहका थिए । अब भारत सम्पूर्ण विश्वको आर्थिक शक्ति हुनेछ भन्दै मोदीका अनुयायीहरू सम्भव भएसम्म चर्को आवाजमा चिच्याइरहेका थिए । स्वघोषित भारत विश्व गुरु भनेर भारतीयहरूबिचमा छरिएको मोदीको धुन एकाएक बेसुर बनाउने गरी रुसले भारतसँगको व्यापारमा भारतीय मुद्राको सट्टा चिनियाँ मुद्रा युआनमा भुक्तान गर्नु भन्यो । भारतीयहरूबिच चीनविरोधी भावना फैलाउने नियतले चिनियाँ वस्तु बहिष्कारको आह्वान गर्दागर्दै त्यही चिनियाँ मुद्रा युआनमा भारतले रुससँग व्यापार गर्नुपर्ने अवस्था आउँदा मोदीले भारतीयहरूबिचमा छरिरहेको स्वघोषित विश्व गुरुको आत्मप्रशंसा चकनाचुर भएको छ । यी सबै कथित विश्व गुरु भारतीय अहङ्कारको अंश हो ।

रुसले भारतीय मुद्राको सट्टा चिनियाँ युआनलाई किन रुचाउँछ ?
अमेरिकी डलरमा भुक्तानी प्रतिबन्ध भएपछि रुसलाई भारतको व्यापार भुक्तान अहिलेसम्म भारतीय रूपैयाँबाटै भइरहेको थियो । तर, एकाएक रुसले भारतबाट युआनमा भुक्तान गर्न किन दबाब दियो ? किनभने पछिल्लो १० महिनामा रुसले ४२ अरब डलर बराबरको वस्तु भारतमा निर्यात ग¥यो भने झन्डै १० अरब डलरको सामान आयात ग¥यो । रुस र भारतबिच व्यापार असन्तुलन यति धेरै भयो कि रुसको खातामा भारतीय रूपैयाँ थुप्रिन थाल्यो । भारतको विश्व व्यापारमा २ प्रतिशतमात्र योगदान रहेको अवस्थामा रुसले भारतबाट आयातको लागि रूपैयाँमा भुक्तान गरे पनि अन्यत्र प्रयोग गर्न नसकिँदा भारतीय मुद्रा रुसको खातामा थुप्रिएको छ । यसले रूपैयाँ भुक्तान संयन्त्रलाई व्यर्थ बनायो । यी भारतीय रूपैयाँ रुसको लागि केही काम आएन किनकि भारतीय रूपैयाँ दक्षिण एसियाली केही देशहरूमा बाहेक कही चल्दैन । दक्षिण एसियामा रुसको व्यापार नगण्य छ । तर, रुसले चीनबाट थुप्रै सामान आयात गर्ने भएकोले रुसको लागि युआनको आवश्यकता छ । यही कारण रुसले भारतलाई चिनियाँ मुद्रामा कारोबार गर्न दबाब दियो । जुन भारतको अहम्माथि ठूलो बज्रपात भएको छ ।
रुस–चीन द्विपक्षीय व्यापार भारतको तुलनामा धेरै तीव्रगतिमा बढेको छ । २०२२ मा रुस–चीनबिच व्यपार १९० बिलियन डलरको रेकर्ड उच्चमा पुग्यो भने भारतसँग रूसको व्यापार ३५ बिलियन डलरमात्र रह्यो । २०२२ मा रूसी आयातमा युआन भुक्तानीको अंश युक्रेन युद्ध अघि ४ प्रतिशतबाट बढेर २३ प्रतिशतमा पुगेको छ । युआन र रुबलको कारोबारले अमेरिकी डलर–रुबल जोडीलाई उछिनेको छ । रूसको व्यापार साझेदारहरू अब भुक्तानीको निम्ति युआनलाई स्वीकार गर्न तयार भए । यसले अमेरिकी डलरको विकल्पको रूपमा चिनियाँ मुद्रालाई अन्तर्राष्ट्रिय सञ्चित मुद्रा हुने सम्भावना बढ्दै गयो ।
पृष्ठभूमि
२०२२ मार्चमा पश्चिमी देशहरूले रसियालाई भुक्तानीहरू व्यवस्थित गर्न विश्वव्यापी रूपमा प्रयोग गरिएको नेटवर्क स्विफ्ट Society for Worldwide Interbank Financial Tele-communication (SWIFT) मा प्रतिबन्ध लगाए । यसको प्रतिक्रियास्वरूप रुसले पनि अमेरिकी डलरमा व्यापार नगर्ने घोषणा ग¥यो । त्यसपछि रसियासँग व्यापार गर्ने देशहरूले भुक्तानीको वैकल्पिक विधिहरू खोज्न थाले । युक्रेनमा जारी द्वन्द्वको जवाफमा पश्चिमा राष्ट्रहरूले अपनाएको रुसविरुद्धको कदमलाई भारतीय अधिकारीहरूले समर्थन गरेका छैनन् । भारतले प्रतिबन्धमा भाग नलिने निर्णय गरे पनि अनजानमा रूसविरुद्ध पेश गरिएका अन्य उपायहरूको गलत अर्थ नलागोस् भन्नेमा भारतीय बैङ्कहरू भुक्तान गर्नेबारे सतर्क छन् ।
रुसले प्रतिबन्धको प्रतिक्रियामा एसिया र अन्य गन्तव्यहरूमा तेल र ग्यास आपूर्तिहरू गर्न थालेपछि रुस र यसका ग्राहकहरूलाई भुक्तान व्यवस्थित गर्न डलरको विकल्प खोज्न बाध्य पारेको छ । भारतीय रिफाइनर्सले यूएईको दिर्हाममा रूसी तेलको लागि गैर–डलर भुक्तानी पनि तय गरेको छ । निकै सहुलियत दरमा रुसले भारतमा रूसी तेलको निर्यात गर्दा गत महिना नयाँ उचाइमा पुगेको थियो । विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले जून महिनामा दैनिक २२ लाख ब्यारेल तेल आयात गरेको थियो । रुसविरुद्ध पश्चिमी प्रतिबन्धबिच भुक्तानी विधिहरू विविधीकरण गर्न भारतीय रिफाइनरहरूले रूसबाट तेल आयातको लागि अमेरिकी डलरको सट्टा चिनियाँ युआनमा भुक्तान गर्न बाध्य भयो । यो परिवर्तनले हङकङ डलर र साउदी रियालजस्तै चिनियाँ युआन, रुसी रुबल र यूएई दिर्हामलगायत मुद्राहरूलाई भारतले मान्यता दिनुपर्ने परिस्थिति सिर्जना भयो ।
रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता भारतको इन्डियन आयल कर्पोरेसन गत महिना युआनमा रूसी वस्तु खरिदको लागि भुक्तान गर्ने पहिलो राज्य रिफाइनर बन्यो । भारतका तीनवटा निजी रिफाइनर्समध्ये कम्तीमा दुईले पनि रुसी आयातको लागि युआनमा भुक्तानी गरिरहेका छन् ।
हालको व्यापारमा रुस र भारत ठ्याक्कै एकताबद्ध छैनन् तर वर्तमान विश्व व्यवस्थाको भूराजनीतिक पक्षहरूको कुरा गर्दा तिनीहरूको दृष्टिकोण प्रायः एकरूप हुन्छ । धेरै हदसम्म रुस र भारत दुबै पश्चिमको अग्रसरता र राजनीतिक उद्देश्यका लागि आर्थिक प्रतिबन्धहरूको प्रयोगको आलोचना गर्छन् । तैपनि, दुई शक्तिहरू भू–राजनीतिक स्थिरताबाट बच्न र आफ्नो राष्ट्रिय स्वार्थको वरिपरि आफ्नो विदेश नीतिहरू निर्माण गर्न खोज्छन् । यसले युक्रेनको द्वन्द्वपछि रुसलाई आर्थिक र कूटनीतिकरूपमा एक्लो पार्ने पश्चिमी आह्वानमा भारतले किन बढी सावधानी अपनाएको छ भन्ने कुरा देखाउँछ ।
भारतले चिनियाँ मुद्रा अङ्गीकार गर्न हिचकिचाहतको पछाडिको प्रमुख कारण व्यावहारिकताभन्दा पनि लामो समयदेखि चलिरहेको सीमा विवादसँग जोडिएको छ । यसरी नै भारत चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको हिस्सा बन्न पनि अस्वीकार ग¥यो । यसले गर्दा विश्वव्यापी पूर्वाधार विकास पहुँच र सहयोग गुमाइरहेको अवस्थामा । अब समय आएको छ छिमेकी भएकै कारण द्वन्द्व बढाउनुभन्दा व्यवहारिक हुनु भारतको लागि लाभदायक हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *