भर्खरै :

पार्टी, कार्यकर्ता र नेता

पार्टी, कार्यकर्ता र नेता

आर्थिकरूपले विपन्न परिवारका छोराछोरीहरूलाई अभिभावकहरूले गाउँ र गल्लीका विद्यालयहरू भर्ना गर्छन् र धनी अभिभावकहरूले सहर–बजारका नाउँ चलेका र महँगा विद्यालयमा भर्ना गर्छन् । गाउँ र गल्लीका विद्यालयहरूमा विभिन्न विषयलाई लिएर राजनैतिक दलका विद्यार्थी र युवा सङ्गठनहरूले बरोबर हडतालको आह्वान गर्छन् । तर, नाउँ चलेका र महँगा विद्यालयहरूमा हडताल हुँदैनन् र तिनीहरूको पढाइ बिनाबाधा अगाडि बढ्छ । तिनीहरूका अभिभावकहरू आफ्ना छोराछोरीहरू ठूलो पदमा पुग्ने वा धेरै पैसा कमाउनेतर्फ धुक्क हुन्छन् ।
गाउँ र गल्लीका विद्यालयका विद्यार्थीहरूलाई कामदार जनताको पक्ष लिने राजनैतिक दलका विद्यार्थी सङ्गठनहरू ‘विद्यार्थी हित समिति’ मार्फत साहित्य गोष्ठी, वादविवाद, स्वतन्त्र भाषण, मई दिवस, अक्टोबर क्रान्ति, देश विदेशका लेखक, कवि र कलाकारहरूका जन्म उत्सवको दिन पारेर, शिखर महिला र पुरुषहरूको जीवनीबारे बताउने र भाषण कला आदिबारे तालिम दिएर समाजका भविष्यका कर्णधारको रूपमा तयारी गर्छन् ।
बेला मौकामा ती छात्रछात्राहरूलाई विद्यार्थी वा युवक सङ्गठनले देश र जनताको हितबारे जुलुस–प्रदर्शन एवम् जनसभामा लगेर वर्षाैँसम्म तालिम गर्छन् । ती विद्यार्थी बिस्तारै एसईई, दस जोड दुई, स्नातक र स्नोतकोत्तर पास गर्छन् । क्याम्पसहरूमा पनि ती विद्यार्थीहरू विद्यालयमा सिकेका साहित्यसम्बन्धी गतिविधिमा भाग लिन्छन्, भाषण गर्छन्, अनेक कार्यक्रम, खेलकुद र नाटकमा भाग लिन्छन् ।
ती सबै गतिविधिमा विद्यार्थीहरूलाई चालै नपाई पार्टीले भित्रभित्र भूमिका खेलिरहेको हुन्छ । वर्षाैँदेखि भूमिगत तथा खुलारूपमा देश र जनताको हितमा अनेक विषयमा र भियतनाममाथि अमेरिकी आक्रमणदेखि आज युक्रेनको काँधमा बन्दुक राखेर रुसमाथि आक्रमण गर्ने संरा अमेरिका र नाटोले रुसपछि एसियामा समेत हस्तक्षेप गर्ने कार्यको विरोधमा हुने जुलुस र जनसभामार्फत तालिम गर्दै आएको पछि पछि अनुभव गर्दै गएको हुन्छ । विद्यार्थी भाइबहिनीहरूलाई एमसीसी र हिन्द–प्रशान्त, अउकसदेखि आसियानसम्मका विषयमा बुझ्ने र बोल्न सक्ने क्षमता प्रदान गरिसकेका हुन्छन्– देशभक्त र आमूल परिवर्तनका पक्षधर दलहरूले ।
तर, कामदार जनता अगाडि आएको हेर्न नचाहने, आर्थिक र राजनैतिकरूपले नेपाल आफ्नो खुट्टामा उभिएको हेर्न नचाहने साम्राज्यवादी र विस्तारवादीहरूका गुमास्ताहरू हाम्रा युवा–विद्यार्थीहरूलाई बढ्दै गरेको बाटोबाट पन्छिने काममा अप्रत्यक्षरूपमा लागिरहेकै हुन्छन् । सहपाठीको नाताले, जातभातको नाताले, एउटै उमेर र पुरानो साथीको नाताले घुमफिर, भोजभतेर, विदेश भ्रमण, अर्कै कलेजमा सह–प्राध्यापक बनाउने लोभ, साप्ताहिक र दैनिक लेख–रचना प्रकाशित गरेर राष्ट्रिय स्तरको स्तम्भकार बनाइदिने सङ्केत गरेर, आर्थिक प्रलोभन र प्रकाशमा आउने मञ्चहरू बनाएर डिनर, चुरोट र मादकपदार्थको रस–रङ्गमा फसाउन खोज्ने छन् । अनेक अग्नि परीक्षापछि एक जना कार्यकर्ता २०–३० वर्षपछि नेताको रूपमा पार्टी र जनताले पाउने छन् ।
तारिफ नै तारिफले हाम्रो विद्यार्थीको कुनै एक कमजोरीबाट फाइदा उठाएर बिस्तारै पार्टी व्यवहार र सिद्धान्तबाट टाढा टाढा लैजाँदै र शङ्का गर्ने ठाउँसम्म पु¥याइदिने छ । कति ठाउँमा बाबु नभएको एक विद्यार्थी भाइलाई पार्टीका दाइ र काकाहरूले माया गर्दै हुर्काउँदै सङ्गठनको अध्यक्षसम्म पु¥याउँछन् र संसद् सदस्यमा पु¥याउँछन् । तर, त्यस्ता युवालाई रक्सी र केटीहरूसँग सङ्गत गराउँदै बैङ्कमा ५,००० मात्र बाँकी भएकोमा १५,००० को चेक लेख्न लगाउँछन् र एक शासक दलको चेकबाट पैसा तिर्न लगाउँछन् । अर्काे शासक दलमा गयो, मन्त्री बन्यो र बिरामी भयो । शासक दलकै साथीहरूले बिरामीलाई रक्सी खुवाउँदै घाटमा पु¥याउँछन् । यसबारे आपत्ति जनाउँदा उत्तर दिन्छन्, “उनी नमरी हामी कसरी त्यो ठाउँमा पुग्ने ?।”
अर्कै विद्यार्थी केन्द्रीय अध्यक्षलाई प्रशंसाको फूल बाँड्दै उनीहरू पार्टीका दाइहरूलाई हेला गराउन दिन्छन् । सम्झाएर नमान्दा उनीहरू पार्टीबाट निकालिन्छन् जो विरोधीहरूले चाहेकै ठाउँमा पु¥याउँछन्; पछि सबै मिलेर पालैपालो आफूले आलोचना र विरोध गरेकै दलमा झुकाउँदै पछि पत्रु बनाएर छोड्छन् । प्रतिक्रियावादीहरूबाट कार्यकर्तालाई जोगाउन सजिलो हुने गर्दैन र सङ्गतबारे गम्भीर ध्यान दिनु आवश्यक हुन्छ । किसान स्कूल (रात्रि विद्यालय) बाट तयार भएका कति युवाहरू देश र जनताको सेवामा समर्पित हुन्छन् । व्यक्तिगत महत्वाकाङ्क्षा र प्रकाशमा आउने लक्षण देखेपछि राम्रा युवाहरूलाई प्रतिक्रियावादीहरूले तारिफै तारिफ गर्दै पार्टीसँग नराम्रो हुने स्थितिमा पु¥याइदिन्छन् । यसकारण, पार्टीले आफ्ना कार्यकर्तालाई कुखुरीले आफ्नो चल्ला जोगाएजस्तै जोगाउँछ, सल्लाह दिन्छ, नियन्त्रणभन्दा बाहिर गयो भने मात्र हात छोड्छ । सकेसम्म बचाउन कोसिस गर्नु पार्टीको ध्येय हुन्छ । तर, मनभित्रैसम्म पुँजीवादी विचार स्वीकारिसकेका र व्यक्तिवादी प्रवृत्तिले उसलाई सच्याउँदै नसक्ने स्थितिमा पु¥याउँछ । अन्तमा, पार्टीले एक जना कार्यकर्ता गुमाउँछ, समाजले एक नेता गुमाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *