भर्खरै :

भ्रष्टाचारविरोधी अभियान आवश्यक

सरकार, सरकारी निकाय तथा पार्टीमा संलग्न सबै मन्त्री, कर्मचारी, नेता तथा कार्यकर्ताहरू कर्तव्यनिष्ठ हुनुपर्छ, जिम्मेवार र इमानदार हुनुपर्छ । तिनीहरू आ–आफ्नो पदको जिम्मेवारी बोध र सच्चरित्रवान् नहँुदा देशमा अनियमितता, भ्रष्टाचार, कालोबजारी र अनुशासनहीनता बढेकोमा शङ्का छैन । गैरजिम्मेवार नेता, मन्त्री र उच्चपदस्थ व्यक्तिहरूबाट भइरहेको अनियमितताले गर्दा देशको अर्थतन्त्र डामाडोल छ, देशको राजस्वमा रजाइँ छ । भ्रष्टाचार, अनियमितता गर्न, घुस खान, कमिसन खान सरकार किन छुट दिन्छ या आपराधिक क्रियाकलाप रोक्न पहल गर्दैन ? सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाए पनि सरकार किन मौन ? बदनियतपूर्ण तरिकाले भएका सबै गतिविधि र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काम सरकारले गर्नुपथ्र्यो । तर, सरकारले यी काम गरिरहेको छैन; गर्नेतर्फ ध्यान गएको देखिँदैन । यसकारण, नेपाल भ्रष्टाचारको कालोसूचीमा परेको हो, भ्रष्टाचारमा बदनाम भएको हो ।
भ्रष्टाचार सत्तारुढ दलकै नेता, मन्त्री सांसद, जनप्रतिनिधि र सो दलप्रति आस्था राख्ने कर्मचारीहरूबाटै बढी भइरहेको यथार्थ हो । भ्रष्टाचारी, अपराधी र दोषीमाथि कारबाही गर्न र आपराधिक र अनियमित गतिविधि नगर्न र नगराउन देशभक्त दल र जनताले विरोध या खबरदारी गर्दै नआएको होइन । तर, शासक नेता र मन्त्रीहरूले सुनुवाइ गरेका छैनन् । सत्तासीन दलका नेता र मन्त्रीहरूले सुनुवाइ नगर्दा भ्रष्टाचारी र कमिसनखोरहरूले अवसर पाएका हुन् । भ्रष्टाचार एकपछि अर्को बढ्दै गएको हो । भ्रष्टाचारको गन्ध देशभरि फैलिए पनि सरकारले भ्रष्टाचारविरोधी आन्दोलन किन चलाएन ? भ्रष्टाचारीहरूमाथि किन कारबाही हुँदैन ?
भ्रष्टाचारमात्र नियन्त्रण गर्न सकेको भए देशको विकास अघि बढ्छ । देश विकासको कुरा फुक्ने तर देश विकासको आधार नै भत्काउने काम प्रत्यक्ष या अप्रत्यक्षरूपमा सरकारले गरिरहेको छ । सरकारको यही कमजोरीको कारण भ्रष्टाचार सत्तासीन नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूमाझ मात्र होइन वकिल, न्यायाधीश, सेना, प्रहरी, उच्चपदस्थ पदाधिकारी र कर्मचारीहरूसम्म पुग्यो । सर्वसाधारण जनताले प्रश्न गर्न थालेका छन्– के सत्तारुढ र ठूला दलभित्र इमानदार नेता, मन्त्री, सांसद र कार्यकर्ता छैनन् ? दलका इमानदार नेता मन्त्री तथा कार्यकर्ताहरूले भ्रष्टाचार र अनियमितताको विरोध गर्नुपर्दैन ? आफ्नो दलका भ्रष्ट नेता, तथा कार्यकर्ताहरूको विरोध गर्ने आँट इमानदार कार्यकर्तामा किन भएन ? भ्रष्टाचारका कारण देश, पार्टी, नेताको बदनाम भए पनि शासक दलका इमानदार नेता, मन्त्री र कार्यकर्ताहरूले कसरी सहेर बस्न सकेका हुन् ? यसरी नै भ्रष्टाचार र भ्रष्टाचारीलाई छुट दिँदै जाने हो भने नेपालको अर्थतन्त्र सङ्कटमा पर्नेछ र कुनै दिन नेपाल श्रीलङ्काको स्थितिमा पुग्न बेर लाग्दैन । सरकार बेलेमा सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *