भर्खरै :

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षा सम्पन्न

भक्तपुर, १३ साउन । शैक्षिक सत्र २०८०।०८१ को लागि भक्तपुर नगरपालिकाअन्तर्गतका विद्यालयहरूमा कक्षा ११÷१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम विद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिमध्ये ३३ प्रतिशत छात्रवृत्ति सिफारिसको लागि भक्तपुर नगरपालिकाले लिने छात्रवृत्ति छनोट परीक्षा शनिबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर देकोचास्थित ख्वप माध्यमिक विद्यालय केन्द्र कायम गरी सञ्चालन भएको परीक्षामा देशका विभिन्न जिल्लाबाट आवेदन दिएका कुल ७ सय ४६ मध्ये ६ सय ७४ परीक्षार्थीहरू परीक्षामा सहभागी भएका थिए ।
एउटै मात्र केन्द्र कायम गरी सञ्चालन भएको सो परीक्षामा विज्ञान विषयमा कुल ३ सय ७० आवेदकमध्ये ३ सय ३९ जना, व्यवस्थापन विषयमा कुल ३ सय १६ आवेदकमध्ये २ सय ८३ जना, शिक्षा विषयमा कुल १५ आवेदकमध्ये १४ जना, मानविकी विषयमा कुल १९ आवेदकमध्ये १६ जना र कानुन विषयमा कुल २६ आवेदकमध्ये २२ जना परीक्षार्थी गरी जम्मा ६ सय ७४ जना परीक्षार्थीहरू सहभागी भएको विद्यालयले जनाएको छ । भक्तपुर नगरपालिकाले २०७५ सालदेखि नै छात्रवृत्तिको लागि आवेदन खुला गरी छनोट परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि विभिन्न विद्यालयमा सिफारिस गर्दै आएको छ ।
छात्रवृत्ति छनोट परीक्षाको अनुगमन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, छनोट परीक्षाका सदस्यद्वय भक्तपुर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष रवीन्द्र ज्याख्व र ७ नं. वडाका वडा अध्यक्ष उकेश कवां, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति विजयकुमार शर्मा र शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गर्नुभएको थियो ।
यसअघि भक्तपुर नगरपालिका शिक्षा शाखाले २०८० असार २५ गतेदेखि साउन ८ गतेसम्म छनोट परीक्षाको लागि आवेदन खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *