भर्खरै :

कम्युनिस्टहरू समाजवादी आचरणअनुसार अघि बढ्नुपर्छ

नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । संविधानमा नेपाललाई समाजवादउन्मुख देश भनिएको छ । यो व्यवस्था सुरु भएको १५ वर्ष बितिसक्दा पनि यहाँ समाजवादउन्मुख मान्यताअनुसार नीति र नियम बनेको छैन† निर्णय लागु भएको छैन । सिद्धान्ततः कम्युनिस्टहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्र मान्दैनन् । उनीहरू समाजवादी गणतन्त्रका पक्षधर हुन् । कम्युनिस्टहरू समाजवादी सिद्धान्तको वकालत गर्छन् । अतः कम्युनिस्टहरूमा समाजवादी आचरण हुनुपर्छ । समाजवादी आचरण नमान्ने या आत्मसात नगर्नेहरू सच्चा कम्युनिस्ट हुँदैनन् । पुँजीवादी व्यवस्थामा आर्थिक विषमता हुन्छ† भेदभाव या पक्षपात हुन्छ । पैसाको आधारमा नेता तथा कार्यकर्ताहरू सक्रिय र निष्कृय हुन्छन् । पद र पैसाको निम्ति सिद्धान्त, विचार, इज्जत र प्रतिष्ठाको ख्याल गर्दैनन् । सामूहिक नेतृत्व, सामूहिक निर्णय, प्रजातान्त्रिक कार्य शैली, श्रमिकवर्गप्रतिको इमानदारी, शोषणको विरोध, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा हुने शोषित पीडित जनताको आन्दोलनप्रतिको विश्वास नै समाजवादी पक्षका आधार हुन् ।
वर्ग समन्वय या मेलमिलापबाट समाजवाद सम्भव छैन । पुँजीवादी व्यवस्थामा हुने निर्वाचनबाट समाजवाद सम्भव छैन । प्रतिक्रियावादी, सामन्त, जमिनदार, पुँजीपतिवर्ग र श्रमजीवीवर्गबिच कसरी समन्वय हुन्छ ? जहिल्यै श्रमजीवीवर्गमाथि शोषण र दमन गर्ने वर्गले वार्ता या समन्वयको आधारमा पुँजीपतिवर्गले समाजवादी मूल्य र मान्यतालाई स्वीकार्दैन । दबाउने र दबिएर बस्ने वर्गबिच वर्गसङ्घर्ष स्वाभाविक हो । वर्गसङ्घर्षबिना आर्थिक समानता सम्भव हुँदैन । श्रमजीवीवर्ग जहिल्यै दबिएर बस्नुपर्ने, उनीहरूलाई दबाएर राख्ने व्यवस्था नबदली देशमा समाजवाद स्थापना हुँदैन । हालको सङ्घीय व्यवस्था कम्युनिस्ट आचरणको व्यवस्था होइन । के कम्युनिस्टहरू कम्युनिस्ट आचरणको व्यवस्था ल्याउन लाग्नु पर्दैन ? पुँजीवादी व्यवस्थाको सरकारमा भागबन्डा गरेर देशमा कहिल्यै समाजवाद आउँदैन । के पुँजीवादी व्यवस्थाको सरकारमा जानु या नेतृत्व गर्नु नै समाजवादी आचरण हो ? यसकारण, कम्युनिस्टहरूमा समाजवादी आचरण हुनुपर्छ ।
कम्युनिस्टहरू समाजवादी सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम गर्छन्, त्यो नगर्नु कम्युनिस्टको चरित्र होइन । संविधानमा समाजवादउन्मुख उल्लेख भए पनि नेका, राप्रपा, रास्वपा, मधेसवादीहरू लागु गर्ने प्रयत्न गर्दैनन् । एमाले, माओवादी एकीकृत समाजवादी, राजमो सच्चा कम्युनिस्ट हुन् भने कमसेकम संविधानमा व्यवस्था भएबमोजिम समाजवादउन्मुख नीति तथा कार्यक्रम लागु गर्न अघि बढ्नुपर्छ । नेमकिपाले त सडक र सदनमा समाजवादउन्मुख व्यवस्था लागु गर्न बेलाबखत सल्लाह र सुझाव दिँदै छ, सरकारको ध्यानाकर्षण गर्दै छ र सोहीअनुसार जनतालाई सचेत र सङ्गठित गर्ने काम गर्दै छ । नेमकिपाले जनतामाझ समाजवाद र पुँजीवादको भेद, समाजवादी मूल्य र मान्यता तथा देश विदेशको शोषित पीडित जनताको आन्दोलनबारे बताउने काम गर्दै आएको छ । कम्युनिस्ट पार्टीको हैसियतले गर्नुपर्ने जिम्मेवारी या कर्तव्य नेमकिपाले निर्वाह गरिरहेको छ । कुनै दलले आफूलाई कम्युनिस्टको परिचय मात्र दिएर पुग्दैन, कम्युनिस्टको आचरणभित्र रहेर राजनीतिक गतिविधि गरिरहनुपर्छ । ती दलहरू सरकारमा रहे पनि नरहे पनि कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ लगिरहनुपर्छ । कम्युनिस्ट पार्टीको लक्ष्य देशको राजस्वमा दाइँ गरेर बस्ने होइन† कुर्सीको लागि तँछाडमछाड होइन, बढीभन्दा बढी बहुमत जनताको सेवा र हितको लागि दलहरूले प्रतिस्पर्धा गर्नुपर्छ । तर, आफूलाई कम्युनिस्ट भनिने दलले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै पनि भूमिका निर्वाह गरिरहेका छैनन् । बरु उनीहरूले कम्युनिस्टकै खुट्टा तान्ने र भड्काउने काम गरिरहेका छन् । उनीहरू कम्युनिस्टको आचरणविपरीत लागिरहेका छन् । यो गलत राजनीतिको अन्त्य गर्न सच्चा कम्युनिस्ट पार्टीले खबरदारी गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *