के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, २० साउन । लिशा इङ्गलिस सेकेन्डरी स्कूलले सिटीगाउँमा एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीहरूलाई शनिबार बधाई तथा बिदाइ कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेर देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विद्यार्थीहरू अध्ययनशील, मेहनती र अनुशासित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सफलतामा मात्तिने र असफलतामा आत्तिन नहुने विचार व्यक्त गर्दै उहाँले जुनसुकै विषय अध्ययन गरे पनि पूरा गर्ने अठोटका साथ अघि बढे देशको लागि आवश्यक जनशक्ति तयार हुन्छ र विकासमा सहयोग पुग्छ भन्नुभयो ।
विद्यार्थीहरूलाई स्थानीय संस्कृति, सम्पदा र विभिन्न क्षेत्रमा आबद्ध अगुवाहरूको जानकारी दिने ध्येयले भनपाले पाठ्यक्रम राखेको उल्लेख गर्दै प्रमुख प्रजापतिले कसैले नगरेको काम, नयाँ ढङ्गले गरे, फरक शैलीमा गरे त्यो काम सबैको निम्ति नमुना हुन्छ भन्नुभयो ।
असल नागरिक तयार गर्न असल साथीहरूसँग सङ्गत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले खुट्टा तान्ने प्रवृत्तिले समाज विकास हुँदैन भन्नुभयो ।
पछिको सुखको लागि पहिले दुःख गर्ने हो, क्षणिक खुसी र सुखी खोज्ने होइन, हामीले सबै सुखी हुने बाटो खोज्नुपर्छ, उहाँले भन्नुभयो ।
गलत राजनीतिको विरोध नगरे सही राजनीति नहुने विचार राख्दै उहाँले भन्नुभयो, “समाज र देश राम्रो बनाउन सही राजनीति गर्नुपर्छ, गलत राजनीति गर्ने मान्छेकै कारण देश विकास पछि परेको हो ।”
उहाँले भन्नुभयो, “विद्यार्थीहरू राजनीतिबाट अलग हुनुहुँदैन, राजनीति सेवा गर्ने माध्यम हो । विदेश गए पनि त्यहाँबाट सिकेर आफ्नो श्रम, सीप र मेहनत आफ्नै देशमा खर्चिनुपर्छ ।”
संसारलाई बदल्न शिक्षा जरुरी भएको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “समाजवाद गरिब जनताको निम्ति स्वर्ग हो भने पुँजीपतिको लागि नर्क हो ।”
प्राध्यापक समाज नेपालका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीहरूको दक्षता र क्षमताबाट देश र जनताको सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
तथ्यबाट सत्य खोज्नुपर्नेमा जोड दिँदै उहाँले साथी सङ्गत राम्रो भए शिक्षा र आफ्नो जीवन पनि राम्रो हुने बताउनुभयो ।
आमााबुबा नै पहिलो शिक्षक हुने हुँदा मातापिता नै सतर्क र सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले महान् आमाले महान् वैज्ञानिक जन्माउँछ भन्ने वैज्ञानिक एडिसनको भनाइको स्मरण गर्नुभयो ।
इसान नेपालका अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरूले सिकाइसँगै संस्कार र व्यवहार पनि सिक्दै जानुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीको सफलतामा अभिभावक, शिक्षक सामाजिक अगुवाहरू पनि खुसी हुने विचार व्यक्त गर्दै उहाँले पढाइको लागि घरमा घरायसी वातावरण मिलाउने काम गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नतिजा उच्च शिक्षा अध्ययनको मापक भए पनि नतिजा नै सम्पूर्ण होइन भन्नुभयो ।
विद्यार्थीहरूलाई असल, इमानदार र देशभक्त बनाउन सधैँ उत्प्रेरित गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थीहरू कसैको दबाब र लहैलहैमा जाने, अग्रज र शिक्षकहरूको कुरा नमान्दा विद्यार्थीहरू पढाइमा असफल भइरहेको बताउनुभयो ।
हाम्रो अध्ययन, पढाइ, श्रम, सीप र अनुभव विदेशको लागि होइन स्वदेशकै निम्ति खर्चिनुपर्छ, नेपालकै माटोमा हुर्केर, बढेर यहाँकै इज्जत र प्रतिष्ठा राख्नुपर्छ, उहाँले भन्नुभयो ।
सत्तासीन नेता र मन्त्रीहरू भ्रष्टाचारमा फसिरहेको चर्चा गर्दै उहाँले नेतृत्व तहमा बस्नेहरूको बुद्धि खराब भएको हुँदा देश विकासमा पछि परेको हो, देशको भविष्य सुन्दर बनाउन शिक्षा अति आवश्यक छ भन्नुभयो ।
भनपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले पुँजीवादी व्यवस्थामा सर्वसाधारण जनताले उच्च शिक्षा हासिल गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीले किताबी ज्ञानको साथै व्यवहारिक शिक्षा पनि थाहा पाइराख्नुपर्ने र भनपाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
लिशा इङ्गलिस सेकेन्डरी स्कूलका प्रिन्सिपल लिशा प्रजापतिले इच्छा शक्ति बलियो बनाउनुपर्ने सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने र शिक्षा पढाइमात्र होइन सिकाइ पनि हो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रअ सुरेश रञ्जित, शिक्षिका नारायणी खोँजु र एसईई उत्तीर्ण विद्यार्थी सोनम प्रजापतिले पनि बोल्नुभएको थियो ।
शिक्षिका कृष्णश्वरी दुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
Leave a Reply