भर्खरै :

अगुवाहरू गतिला हुनुपर्छ

संसारलाई ध्वंश गर्ने या निर्माण गर्ने, आतङ्क मच्चाउने या शान्त बनाउने, सही मार्ग देखाउने या गलत देखाउने भन्ने कुरा कुनै पनि देश, समाज, दलका अगुवाहरूको हातमा हुन्छ । ती अगुवाहरू सत्मार्ग देखाउने मार्ग निर्देशक, इमानदार, दूरदर्शी, देश र जनताप्रति समर्पित, देशभक्त, चरित्रवान्, सक्षम, विवेकशील भएमा देश, दल, समाज र त्यहाँका जनता सुखी हुन्छन्, खुसी हुन्छन्, अनुशासित र सुरक्षित हुन्छन् । देश बिगार्ने सपार्ने, जनता सुखी बनाउने, दुःखी बनाउने, देशमा कलह चर्काएर जनता जनताबिच भिडाउने, कलह शान्त पारेर विकासमा टेवा पु¥याउने काममा ती अगुवाहरूको महत्वपूर्ण हात हुन्छ । अगुवाहरू ठीक भए देश, दल र समाज ठीक हुन्छ । अगुवाहरू गलत भए यसले देश, दल र समाजमा पनि असर पार्छ । अहिले गलत व्यक्तिहरूको हातमा सरकार छ । यसकारण, देशमा गलत काम बढी भइरहेको छ । यस्ता अनेकानेक गलत कामहरूमध्ये सुन काण्ड पनि एक हो† भुटानी शरणार्थी प्रकरण, ललिता निवास र एमसीसी सम्झौता पनि गलत कामहरू हुन् ।
अगुवाहरू दूरदर्शी नहुँदा अवसरवादी देखिए, संशोधनवादी देखिए । अवसरवादी र संशोधनवादीहरू भविष्य हेर्दैनन् । अहिलेको आवश्यकतालाई नै सबथोक ठानी उनीहरू अघि सर्छन् । देश र जनतालाई दूरगामी असर पार्नेतर्फ उनीहरू कहिल्यै सोच्दैनन् । शासकहरूको यस्तै यस्तै कमजोरी र बेवास्ताले गर्दा यहाँ देशघाती सन्धि सम्झौता भयो । भारतीय पक्षले सीमा मिच्यो र देश साँगुरिँदै गयो । एकपक्षीयरूपमा बनाइएको भारतीय बाँध र तटबन्धले नेपाल डुवानमा प¥यो, नेपाली उठिवास भए । सीमा स्तम्भ सारियो, नेपालीको जग्गा भारतीय पक्षले लियो । सत्तासीन दलका नेता या अगुवाहरू गतिला भएका भए देशमाथि यस्तो हस्तक्षेप हुँदैनथ्यो, जनताले अनाहकमा दुःख पाउँदैनथे । देशको विकास तीव्रगतिमा हुन्थ्यो । यसकारण, देश र समाज बनाउन अगुवाहरू गतिला हुनुपर्छ† असल हुनुपर्छ । ती अगुवाहरू निर्लोभी, सदाचारी, देशभक्त, नैतिकतावान् हुनुपर्छ । भ्रष्ट आचरणका अगुवाहरूको नेतृत्वमा बनेको सरकार, दल र समाजले आदर्शोन्मुख समाज बनाउँदैन, बनाउनेतर्फ लाग्दैन ।
देश र जनताप्रति चिन्तित अगुवाहरूको देश र समाज विकासमा अगाडि बढेको पाइन्छ । त्यस समाजका जनता समुदायप्रति समर्पित हुन्थे, सेवा भागमा लाग्थे । सबै मिलेर देश बनाऔँ भन्ने भावना जनताको हुन्थ्यो । जनतामाझ आइपरेको समस्या समाधान गर्न छलफल गर्थे, अन्तरक्रिया गर्थे र निकास निकाल्थे । जहाँ समुदायको भावना विकास हुन्छ त्यहाँ त्यही गतिमा विकास हुन्छ । पैसा हुँदैमा सबैको समस्या समाधान हुने होइन, समाजमा सेवा भावले लाग्ने र जुट्ने समुदाय पनि हुनुपर्छ । संरा अमेरिकासँग पैसाको कमी छैन, चिकित्सकको कमी छैन । तर, कोरानाको कारण संसारकै सबभन्दा मानिस अमेरिकाको मृत्यु भयो, संसारकै सबभन्दा बढी सङ्क्रमित भए । किनकि, त्यहाँको सरकार, सत्तारूढ दल र चिकित्सकहरूमा सेवा भाव थिएन । परिणामतः देशकै ठूलो क्षति भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *