भर्खरै :

चिनियाँ कम्युनिस्ट नेताहरूको सरलता

चिनियाँ कम्युनिस्ट नेताहरूको सरलता

“जसले आफूसँगै बस्नेलाई सानो महसुस गराउँदैनन् त्यो मान्छे नै ठुलो हो” भन्ने भनाइ हालका चिनियाँ विदेशमन्त्री वाङ यीले पालना गरेको देखियो । आफ्नो समकक्षी सिङ्गापुरको विदेशमन्त्री भिभियन बालकृष्णनले टाई नलगाएको अवस्थामा प्रोटोकल मिलाउन चिनियाँ विदेशमन्त्रीले पनि आफूले लगाएको टाई फुकालेका थिए । चिनियाँ विदेशमन्त्रीले आफ्नो दक्षिणपूर्व एसिया भ्रमणको सिलसिलामा अघिल्लो हप्ता सिङ्गापुरको भ्रमण गर्नुभएको थियो । वाङको भ्रमणको मुख्य आकर्षण सिङ्गापुर बोटानिकल गार्डेनमा सिङ्गापुरका विदेशमन्त्रीसँग रात्रीभोजमा संलग्न हुनुअघि आफ्नो टाई फुकालेको दृश्य थियो । वाङले आफ्नो होस्टले टाई नलगाएको देखेर सम्मान र नम्रताको भावमा टाई फुकाल्ने निर्णय गरे । भिडियोमा कैद गरिएको यो कार्य सामाजिक सञ्जालमा भाइरल भयो जसको विश्वभरका जनताबाट प्रशंसा भएको थियो । धेरै मानिसहरूले वाङले आफ्नो समकक्षीलाई ‘सम्मान’ देखाए र एक महान् शक्तिले कसरी व्यवहार गर्नुपर्छ भन्ने देखाएको भनेर टिप्पणी गरे । घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध साझा गर्ने चीन र सिङ्गापुरबिचको सम्बन्धलाई प्रगाढ बनाउन वाङको भ्रमणलाई सकारात्मक कदमको रूपमा लिइएको छ । वाङको भ्रमण र उनको इसारा निकै कूटनीतिक र सम्मानजनक थियो । उनले चीन र सिङ्गापुरबिचको मित्रता र सहयोगलाई कदर गर्ने र स्थानीय रीतिरिवाज र संस्कृतिलाई अनुकूल बनाउन आफू इच्छुक रहेको बताए । वाङको इसाराले सद्भाव र विनम्रताको चिनियाँ दर्शनलाई पनि झल्काउँछ, जुन यस क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण छ ।
अर्को प्रसङ्ग, चीनका लागि भारतीय राजदूतको रूपमा काम गरिसकेका चीनकै दुश्मन भारतका परराष्ट्रविद् विजय गोखलेले आफ्नै भारतीय नेताहरूको अरूसँग गर्ने व्यवहार उचित नभएको प्रसङ्ग उल्लेख गर्दै चिनियाँ नेताहरूको आफूभन्दा कनिष्ठसँगको दैनिक व्यवहारबारे एउटा अन्तर्वार्तामा घटलाग्दो कुरा गरेका थिए । कूटनैतिक भेटको समयमा रात्रीभोज हुँदा चिनियाँ नेताहरू आफ्नो ड्रात्रको लागि पनि खाना मिलाउन अनुरोध गर्थे भनेर गोखलेले भनेका थिए । हेर्दा सानो कुराजस्तो लागे पनि चिनियाँ कम्युनिस्ट नेताहरू आफूभन्दा कनिष्ठ तहका व्यक्तिहरूबारे पनि कतिको ख्याल गर्दो रहेछ भन्ने कुरा यो सन्दर्भले देखाउँछ ।
इतिहासको पाना पल्टाउने हो भने पश्चिमेलीहरूले चिनियाँहरूलाई कतिसम्म दुव्र्यवहार गरेका रहेछन् भन्ने तथ्य त ‘कुकुर र चिनियाँहरूलाई अनुमति छैन’ भन्ने वोर्डमा लेखेर कम्पाउन्ड बाहिर झुन्ड्याउने हर्कतबाट प्रस्ट हुन्छ । यो वाक्यांशले जातीय भेदभावलाई प्रतिबिम्बित गर्दछ । ‘कुकुरहरू वा चिनियाँहरूलाई अनुमति छैन’ वाक्यांश १९ औँ शताब्दीको उत्तराद्र्ध र २० औँ शताब्दीको सुरुमा, विशेषगरी संयुक्त राज्य अमेरिका र चिनियाँ आप्रवासी जनसङ्ख्या भएका अन्य देशहरूमा भेदभावपूर्ण अभ्यास हुन्थ्यो । चिनियाँ आप्रवासीहरू विभिन्न प्रकारका भेदभावको शिकार भएका थिए, जसमा निश्चित कामहरूबाट बहिष्कार, असमान व्यवहार र हिंसात्मक आक्रमणहरू पनि समावेश थिए । यी भेदभावपूर्ण अभ्यासहरू सांस्कृतिक, आर्थिक प्रतिस्पर्धा र जातिवादद्वारा निर्देशित थिए ।
चिनियाँ कूटनीतिज्ञहरूलाई हात मिलाउन अस्वीकार गर्नेजस्ता कार्यहरूद्वारा पश्चिमी कूटनीतिज्ञहरूले अपमानजनक व्यवहार गरेको उदाहरण इतिहासमा धेरै छन् । असमान सन्धि, औपनिवेशिकता र चीन तथा पश्चिमी देशहरूबिचको शक्ति गतिशीलताको सन्दर्भमा थुप्रै अपमानित घटना घटेका छन् । घटनाहरूको श्रृङ्खला हेरियो भने १९ औँ र २० औँ शताब्दीको सुरुमा चीनको लागि ‘अपमानको शताब्दी’ भनेर चिनिन्छ । यस अवधिमा अफिम युद्ध गराएर पश्चिमी शक्तिहरूद्वारा चीनमाथि असमान सन्धिहरू थोपरेका थिए । पश्चिमी कूटनीतिज्ञहरूले कहिलेकाहीँ वार्ताको क्रममा चिनियाँ प्रतिनिधिहरूप्रति अनादरको भावना देखाउनु तात्कालीन समयको असमान शक्तिको गतिशीलतालाई झल्काउँछ ।
यस्तो दुव्र्यवहारबाट भुक्तभोगी चिनियाँहरू अरूसँग व्यवहार गर्दा सा¥है सतर्क हुन्छन् । असमान शक्तिको कारण यस्ता अपमान र दुव्र्यवहारका श्रृङ्खलालाई भोग्दै आएका चिनियाँहरू अहिले विश्वशक्ति हुँदा तुलनात्मकरूपमा आफूभन्दा आर्थिकरूपमा कमजोर मुलुकलाई पनि उच्च आदर भाव देखाउनु उनीहरूको सरलता हो । अर्को कुरा इतिहासको कालो अध्यायको रूपमा त्यस्ता अभ्यासहरूको व्यापकरूपमा निन्दा गरिनुपर्छ । समावेशीता, समानता र बहुसांस्कृतिकतालाई प्रवद्र्धन गर्ने प्रयासहरू भइरहनुपर्छ ।
त्यसैगरी, अरूलाई सम्मान गर्ने घटनासँग हुबहु मिल्ने हालैमात्र रुसमा रुस–अफ्रिका सम्मेलनमा भएको थियो । ३९ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई स्वागत गरिरहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कोमोरोसका राष्ट्रपतिले हात मिलाएपछि तत्काल कुर्सी तानेर बसेका थिए । उतिखेरै ती कोमोरोसका राष्ट्रपतिलाई आयोजक देशका राष्ट्रपति उभिरहेको र अन्य नेताहरू पनि रूसी राष्ट्रपतिले आसन ग्रहण नगर्दासम्म उभिइरहेको देखेर गल्ती महसुस हुन गई पुनः उभिएपछि पुटिन आफैँले आएर कोमोरोसका राष्ट्रपतिलाई बसाएका थिए । यो भिडियो अहिले संसारभर भाइरल भएको छ । यसै प्रसङ्गलाई जोडेर केन्याका राष्ट्रपति रुटोले भनेका छन्, “पश्चिमेलीहरूले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दा विद्यार्थीहरूलाई एउटै बसमा राखेर लगेजस्तै अफ्रिकी नेताहरूलाई लग्छन् । तर, रुसले सबै अफ्रिकी नेताहरूलाई बराबरी सम्मान दिन्छन् ।” उच्च ओहदामा बसेका व्यक्तित्वले गर्ने हरेक स–साना क्रियाकलापले उनको समाजको प्रवृत्ति र चालचलनलाई प्रतिनिधित्व गरिरहेको हुन्छ ।
कम्युनिस्ट नेताहरूको बखान गर्दै गर्दा विडम्बना नै भन्नुपर्छ, हाम्रा देशका धुरन्धर कम्युनिस्ट भनेर कहलिएका झलनाथ खनाल, प्रचण्डजस्ता नेताहरूले आफ्ना कार्यकर्ताहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा त सामान्य नदी तर्दा पनि जुत्ता फुकाल्नुपर्ला भनेर कार्यकर्ताको बुइँ चढ्ने गरेको छ्यापछ्याप्ती फोटो हेरेरै थाहा हुन्छ ।
समाजमा साँच्चै सम्मानित र प्रशंसनीय व्यक्ति त्यो हो जसले आफ्नै उच्च स्थानको पर्वाह नगरी अरूलाई दया र सम्मानका साथ व्यवहार गर्दछ । आफ्नो वरपरका मानिसहरूलाई सहयोग दिन्छन् र प्रेरित गर्दछ । अरूलाई कमजोर बनाउन वा सानो महसुस गराउनुको सट्टा, सहानुभूति, नम्रता र भावनात्मक गुणहरू प्रदर्शन गर्ने व्यक्तिले आफ्ना साथीहरूको साँचो सम्मान र प्रशंसा गर्छन् । यी व्यक्तिहरू उच्च पदलाई अझ अर्थपूर्ण र गरिमामय बनाउँछन् । यो अवधारणाले साँचो नेतृत्व र उच्च पदको मात्र होइन, हामीले अरूसँग कसरी व्यवहार र अन्तरक्रिया गर्नुपर्छ भन्ने कुरा पनि बोध गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *