यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काम – मामको व्यवस्था गर्नु राज्यको महत्वपूर्ण दायित्व हो । देशका युवाहरूलाई काम – मामको व्यवस्था गर्न राज्यले पूर्वाधार तयार गर्नुपर्छ । यहाँ काम–मामको आवश्यक व्यवस्था भएको भए युवाहरू बाध्य भएर विदेसिनुपर्ने थिएन । सरकारले सन्तुलित विकास गर्ने योजनाहरू ल्याएको भए आ–आफ्नै गाउँ, नगर र जिल्लामा युवाहरूले काम पाउँथे । आफ्नै भूमिमा श्रम, सिप र अनुभव लगानी गरेको भए गाउँ–ठाउँको विकास हुन्थ्यो, विकास गर्ने ढोका खुल्थ्यो । जब विकासको लहर एकपछि अर्काे स्थान हुँदै देशभर पुग्छ तब विकासको मुहान फुट्छ । आय आर्जनको निम्ति विदेश पस्दा विदेशमा मात्र होइन स्वदेशमा पनि दुःख सुख बुझ्ने र दुःख सुख बाँड्ने मान्छे हुँदैनथ्यो । विदेश पसेका युवाले पैसा त कमाइरहेको होला तर घरमा आमा बुबा हेर्ने मान्छे हुँदैन । आमा बुबा भोकभोकै बस्नु परे पनि, बिरामी भए पनि हेर्ने मान्छे कोही हुँदैन । त्यसबेला घरको स्थिति के होला ? अनि विदेशमा पसेर पैसा कमाउनुको अर्थ के रह्यो र !
सरकारले स्वदेशमै काममामको व्यवस्था गर्ने कुरा बरोबर उठाउँछ । युवाको बढ्दो विदेश पलायन रोक्ने कुरा गर्छ । तर, यो व्यवहारमा लागु भएको देखिँदैन । युवाहरूको विदेसिने सङ्ख्या बढिरहेको छ । कति युवाहरू स्वदेशमा काम नभएरै विदेश गएको दाबी गर्छन् । यसरी युवा विद्यार्थी विदेश छिर्दै गएमा, विदेशमै बसिरहेमा कुनै बेला नेपाल बालबालिका र वृद्धवृद्धाहरूको स्थल हुने होइन भन्ने शङ्का गर्नुपर्ने हुन्छ । अहिले नै कति गाउँमा युवाहरू शून्य भएको खबर प्रकाशमा आइरहेको छ । घर व्यवहार गर्ने मान्छे नभएर, खेती गर्ने मान्छे नभएर उत्पादन घटेको, घर व्यवहार संस्कार नचलेर मर्का परेको खबर पनि सञ्चारमाध्यममा आइरहेको छ । ज्येष्ठ नागरिकहरूको हेरविचार गर्ने, पालनपोषण गर्ने, स्वास्थ्योपचार गर्ने मानिस नभएरै आदर निकेतन खोल्नुपर्ने आवश्यकता बोध भइरहेको हो ।
राज्यले प्रत्येक नगर र गाउँपालिकामा आदर निकेतन या वृद्धाश्रम खोल्नु आवश्यक छ । यसरी आवश्यक भएरै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले केही महिनादेखि ‘भक्तपुर आदर निकेतन’ सञ्चालन गरिरहेको छ । त्यस्तै भक्तपुर नगरपालिकाले पनि आदर निकेतन सञ्चालन गर्न कलात्मक भवन निर्माण गरिरहेको छ । यसरी नै अन्य नगरपालिका र सहकारी संस्था या अन्य त्यस्तै संस्थाले नगर र वडामा आदर निकेतन खोलेमा ज्येष्ठ नागरिकहरूको सेवा गर्न सकिन्छ । उनीहरूले जीवनमा पाइरहेको दुःख, चिन्ता बिर्सेर विश्राम लिने अवसर पाउँछन् या सुख र शान्तपूर्वक जीवन बिताउन पाउँछन् । आजभोलि अध्ययन गर्ने कामको खोजी गर्न र व्यापार व्यवसाय गर्न युवा – विद्यार्थी विदेश पसिरहेका छन् । यसले गर्दा परिवारमा हेर्ने मान्छेको अभाव भएर ज्येष्ठ नागरिकहरू कष्टकर जीवन बिताउन बाध्य छन् ।
राज्यले युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुपर्छ । राष्ट्र निर्माणका संवाहक, ऊर्जाशील जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्नुपर्छ† उपयोग गर्ने पूर्वाधार तयार गर्नुपर्छ । युवाहरूसँग रहेको ऊर्जा, क्षमता, सिप, अनुभव स्वदेशमै लगानी गर्न सकेको भए बाहिर जानुपर्ने बाध्यता हुँदैन† गए पनि कम हुन्थ्यो । यसको लागि युवाहरू परिचालन गर्नुपर्छ, युवाहरूलाई क्रियाशील बनाउनुपर्छ । सरकारले युवाकेन्द्रित नीति निर्माण गर्नुपर्छ, योजना बनाउनुपर्छ । सरकारले यस्तो कुनै बन्दोबस्त नगरेको, पूर्वाधार तयार नगरेको हुँदा युवाहरू असन्तुष्ट रहे, युवाहरू विदेश पलायन भए । परिणामतः देश विकासमा अवरोध भयो, देश परनिर्भरको कारण स्वदेशी पुँजी विदेसियो । देशका बहुमत जनता गरिबको गरिब भए । यो देशको चिन्ताको विषय हो ।
Leave a Reply